दशैं चाड नेपालका हिन्दु धर्मालम्बीहरूले मात्रै कमनाउने चाड हो कि ? सम्पूर्ण नेपालीहरूले मनाउने चाड हो ? वास्तवमा दशैं कसको हो ? विगतदेखि नै अनेकखाले बहस र तर्कहरू भई रहेको छ । आजभोलि यो बहस भुइँ तहबाटै भइरहेको छ ।
हो, दशैं कसको चाड ? वा भनौं नेपालका कुन–कुन जातजाति, समुदाय या वर्गहरूको चाड वा पर्व हो ? भनी विगतमा भन्दा बढ्तै अर्थात् सघन ढंगले छलफल र बहस चलिरहेको देखिन्छ । जुन बहस र छलफललाई हामीले सकारात्मक ढंगले लिनुपर्ने हुन्छ ।
हुन पनि नेपाल १ सय २५ जातजाति, १ सय २३ भाषाभाषी र ९ धर्मालम्बीहरूको देश हो । त्यसो भएपछि प्रश्न उठ्छ कि, विगतमा हिन्दुहरूले ‘हिन्दुहरूको मात्र महान् चाड बडा दशैं !’ पत्रपत्रिका, रेडियो र टेलिभिजनहरूमा प्रचारित–प्रसारित भएको/हुने शुभकामना विज्ञापन र सन्देशहरू हामीले भुलिसकेको छैन । यसरी हेर्दा दशैं नेपालको कुनकुन जातजाति वा वर्गका मान्छेहरूको चाड वा पर्व हो ? किटेर यसै भन्न नसकिने भएको छ ! किनभने, कोही दशैं चाड हिन्दुहरूको मात्रै हो भन्छन् । कोही हिन्दुहरूको पनि होइन भन्छन् । दशैं चाड कसको हो, होइन ? भनी बहस र छलफल गर्ने क्रममा विभिन्न तथ्य, तर्क, आधार, उदाहरण र प्रमाणहरू दिने प्रयास पनि जारी नै छ । यसलाई एक हिसाबले रामै्र मान्नुपर्ने हुन्छ ।
तर, खासखास तथ्य, प्रमाण, उदाहणहरू र परम्पराहरू हेर्दा दशैं भनेको विना कुनै धकचक हिन्दु धर्मालम्बीहरूको महान चाड हो भन्न सकिन्छ । आदिवासी जनजातिहरू जो दशैं मनाउँछन्, उनीहरूले दहीले मुसेको सेतो टिको लगाउने गर्छन् भने कुलुङ, शेर्पा, तामाङ, ह्योल्मो आदिले त दशैं मनाउदैन थिए/मनाउँदैनन् । त्यस्तै घर लिपपोत गर्दा पनि सोही विधि अपनाउने गरेको देखिन्छ । त्यति मात्रै होइन, हिन्दुहरूले मर्यादा पुरुष मान्ने गरिएको रामले रावणलाई मारेको तिथिमा (पहिलेपहिले चैत महिनामा दशैं मान्ने गरिन्थ्यो) अहिले पनि गाउँघरमा सो तिथिलाई चैते दशैं भन्ने गरिन्छ । आजभोलि दशैँ कसको चाड हो ? भनी भुइँ तहसम्मै खुबै बहस र छलफल भइरहेको देखिन्छ । निश्चय नै यसरी बहस र छलफल हुनु राम्रो हो ।
सरकारी सञ्चारमाध्यम रेडियो नेपाल, गोरखापत्र दैनिक, नेपाल टेलिभिजन बाहेक निजी क्षेत्रबाट पनि प्रशस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरू निक्लन्छन् । साथै निजी क्षेत्रबाट सञ्चालित ती टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरूले समय साक्षेप बडा दशैंलगायत हिन्दुहरूले मान्ने अन्य चाडबाडहरूको अवसरमा छापिने, प्रसारित हुने र दृश्यमा देखिने शुभकामना विज्ञापन र सन्देशहरूमा मा ‘सम्पूर्ण नेपालीहरूको मात्र महान चाड बडा दशैँ !’ को सट्टामा ‘हिन्दुहरूको महान चाड बडा दशैँ !’ को अवसरमा वा पावन अवसरमा ! शुभकामना विज्ञापन र सन्देशहरू छाप्ने, प्रसारित गर्ने र दृश्यमा देखाउन थाले । शुभकामना विज्ञापन र सन्देशहरू समय साक्षेप मान्न सकिन्छ । तर, केही अतिवादी हिन्दुहरूले निजी क्षेत्रको सञ्चारमाध्यम जस्तै टेलिभिजन, रेडियो, एफएम, पाक्षिक, साप्ताहिक र दैनिक पत्रत्रिकाहरूले समय साक्षेप बडा दशैँलगायत हिन्दुहरूले मान्ने अन्य चाडबाडहरूको अवसरमा छाप्ने, प्रसार गर्ने र दृश्यमा देखाउने ती शुभकामना विज्ञापन र सन्देशहरूमा ‘सम्पूर्ण नेपालीहरूको मात्र महान् चाड बडा दशैँ !’ नभनेकोमा आक्रोशपूर्ण लेखहरू लेख्ने, प्रतिक्रिया दिने गर्थे/गर्दैछन् ।
देशमा गणतन्त्र आएको, देश धर्म निरपेक्ष भएको संकेत गर्छ ? सायद विसं. २०७२ असोजमा जारी भएको नेपाल र दक्षिण एसियाकै उत्कृष्ट संविधानमा ‘धर्म निरपेक्षता भन्नाले सनातनदेखि चली आएको ... ’ भनी व्याख्या थप्नु वा भनौं प्रस्टीकरण दिनुको कारण हाल खुल्दै छ ।
विसं. २०६२/०६३ मा जनताको बलमा भएको अभूतपूर्व राजनैतिक परिवर्तनपछि अब नेपाल राज्य केवल एकल हिन्दु जातिको मात्रै नभएर सबै जातजाति, भाषाभाषी, धार्मिक समूह आदिको पनि हो भन्ने वास्तविकतालाई आत्मसात गरेर त्यो बेलाको अन्तरिम संविधानमै नेपाललाई धर्म निरपेक्ष राष्ट्र भनी घोषित गरिएको थियो । तर, अझै पनि विभिन्न कार्यक्रमहरूमा पाँच जना बाहुन (बटुक भनिन्छ होला) ! हरूलाई मात्रै मन्त्रोच्चारण गराइन्छ । त्यो पनि नेपालमा कुनै पनि जात वा जातिले मातृभाषाका रुपमा नबोल्ने संस्कृत भाषामा । देश धर्म निरपेक्ष भएको प्रमाण यही हो त ? भन्ने प्रश्न यहाँ पनि उठ्छ नै । मुखले जे सुकै भनिए तापनि एकल हिन्दुवादीहरूकै हालीमुहाली भएर पनि होला, जहिले पनि ५ जना बटुकहरूलाई मात्रै बोलाएर शान्ति स्वस्तीका लागि संस्कृत भाषामा मात्रै मन्त्रोच्चारण गराउंँने गर्छन् । वा भनौं पूजा पाठ गराउंँछन् । हुन त यो देशमा स्वघोषित विद्धान्हरू नभएका होइनन् । तर, उनीहरूले पनि यस विषयमा खासै कुरा उठाउँदैनन् । हुन त राज्यको स्रोत, साधन, पहुँच र मिडियाहरू पनि उनीहरूकै हातमा छ । जसले गर्दा हाम्रो देशमा संघीयता, समावेशीता, धर्म निरपेक्षतालगायत उत्पीडितहरूको पक्षमा खासै वकालत गर्दिने मान्छेहरू वा भनौं विषय विज्ञ, विद्धान्, प्राडा, विद्, कार, विश्लेषक, लेखक, पत्रकारहरू भेटिँदैनन् ।
त्यसैले के भन्न सकिन्छ भने, नेपालका थोरै हिन्दु अतिवादका मान्छेहरूले अझै पनि आफ्नो पूरानो ढर्रा वा बिरासतलाई नै यो वा त्यो नाममा कायमै राख्न चाहन्छन् । देशका अन्य जात, जाति, समुदाय, भाषाभाषी, धर्म, सम्प्रदाय आदिलाई जोर–जबरजस्ती ! हिन्दु धर्म, हिन्दु संस्कार, हिन्दु संस्कृति आदि लाद्न चाहन्छन् । उनीहरू अझै पनि देशको वास्तविक धरातललाई स्वीकार्न तयार छैनन् । हुन पनि ती अतिवादी हिन्दु समूहका मान्छेहरू दशैं–तिहारलाई केवल हिन्दुहरूको मात्रै चाड हो भनी विभिन्न मिडियाहरूमा शुभकामना सन्देश निक्लन थालेकोमा र, सोही बमोजिम प्रचारप्रसार गर्ने गरेकोमा समेत रिसाउने वा भनौं असन्तुष्ट हुने गरेका छन् । यता आदिवासी जनजाति मानिसहरू जो क्षणिक राजनैतिक स्वार्थ र, व्यक्तिगत स्वार्थ बोकेका छन्, उनीहरूले पनि दशैँ–तिहारलाई हाम्रो चाड होइन पनि भन्ने तर, त्यही दशैँ–तिहारको उपलक्ष्यमा टन्न मासुभात र, जाँडरक्सी पनि खान छाड्दैनन् । झन् तिहारमा देउसी–भैलो खेल्न त तँंछाड–मछाड नै चल्छ ।
जे होस्, दशैँँ–तिहार मात्रै होइन, जब पृथ्वीनारायण शाह र उनका भाइ भारदारले कथित् नेपाल एकीकरण गरे, त्यसपछि पूर्वका किरातीहरूलाई फुटाएर छोटे राजा (प्रभावशाली व्यक्तिहरूलाई) सरह पदवी, पगरी दिएर राई, सुब्बा, मुखिया, देवान आदि पदहरू दिए । साथै, हिन्दु धर्मअनुसारको कर्म गर्ने उर्दीसहित शासन थोपरे । तिनीहरूलाई (जो राई, सुब्बा, मुखिया, देवान आदि भए) लाई आफूहरूले पनि हिन्दु धर्म मान्नुपर्ने र, रैती अर्थात् ज्यमी, जमी वा जिमीहरूलाई पनि बडादशैँमा टीको–जमरो लगाइदिएर हिन्दु धर्म मान्नै पर्ने बाध्यतात्मक परिस्थिति सिर्जना गराइयो । यसको प्रमाणको रुपमा धेरै उदाहरणहरू दिन सकिन्छ ।
तर, यो पंक्तिकार लिम्बुको भाञ्जा र, हाम्रो मावली बाजे (हजुरबा) समेत सुब्बा भएकोले के देखिएको थियो भने, नवमीको दिन बिहान बोकोको बलि दिएर मौलोको वरिपरि तीनफन्को घुमाइन्थ्यो । त्यसरी घुमाइसकेपछि सुब्बा अर्थात् बाजेले हत्तपत्त आफ्नो घरको भित्तोमा दुवै हात बोकाकोे रगतमा चोपलेर पञ्जा छाप लगाउनु हुन्थ्यो । बालापन न हो, हामीलाई कहिले दशैँ आउला र नयाँ लुगा लगाउन पाइएला, टन्न मासु भात खान पाइएला, रोटेपिङ खेल्न पाइएला, बजार जान पाइएला र, रमाइलो गर्न पाइएला भन्ने मात्रै थियो, त्यो बेला । तर, काठमाडौँ आएर केही बुझ्ने भएर गाउँ फर्कँदा (२०४६ को परिवर्तनपछिको कुरो हो ।) मैले मेरा सुब्बा बाजेलाई त्यो बेला दशैँमा किन त्यसो गरिन्थ्यो भनेर सोध्दा सुब्बा बाजे भन्नुहुन्थ्यो, ‘त्यसो नगरे तेरो बाजेले उजुरी दिन्थ्यो नि ।’ मेरो बाजे भनी सुब्बा बाजेले गरेको संकेत राज्यले खटाएको जोगी र पण्डितप्रति थियो ।
त्यसैले नेपाल जस्तो १ सय २४ जातजाति, १ सय ४० भाषाभाषी र १० धर्मावलम्बी बसोबास गरेको देशमा हिन्दु धर्म नै राष्ट्रिय चाड हुन सक्छ कि सक्दैन ? अभैm पनि व्यापक रुपमा बहस र छलफल हुनुपर्छ । साथै, तीनै तह (स्थानीय, संघ र केन्द्र) मा बस्ने आदिवासी जनजातिलगायत जातजातिका मान्छेहरूले मान्ने र उनीहरूका चाडबाड, संस्कार–संस्कृतिहरूलाई पनि राज्य (तीनै तह) ले राष्ट्रिय चाडको रुपमा मान्यता दिनुपर्ने हुन्छ । हुन त त्यही भएर पनि होला, राज्यले विगतमा हिन्दुहरूको महान् चाड बडा दशैँमा दिँंदै आएको लामो विदा कटौती गरेर छोट्याएको पनि छ । जसले जे भने तापनि दशैं चाडको अवसरमा दशैं आसपासको ३ महिनामा मात्रै देशको वर्षभरिको सम्पूर्ण आर्थिक कारोबरको आधा रकम बराबारको व्यापार हुने गरेको भनी केही समयअघि कारोबार दैनिकमा आएको समाचारमा उल्लेख थियो ।