काठमाडौं, नेपालका पाँच प्रविधि संस्था प्रतिष्ठित ‘असोसियो डिजिटल र एआई अवार्ड २०२६’ बाट सम्मानित भएका छन् । एसियन ओसियनियन कम्प्युटिङ इन्डस्ट्री अर्गानाइजेसनको मुख्य कार्यक्रम ‘असोसियो डिजिटल र एआई समिट २०२६’ को अवसर पारी नेपालका यी संस्थालाई अवार्ड प्रदान गरिएको हो ।
यसअन्तर्गत सनवे इन्टरनेसनल बिजनेस स्कुलले एआई प्रतिभा विकास पुरस्कार जितेको छ । त्यस्तै साइबर सुरक्षामा एआई पुरस्कार इनसाइट टेक्नोलोजी प्रालिले पाएको छ भने स्वास्थ्य सेवामा एआई पुरस्कार वाइज याक सोलुसन्स प्रालिले जित्न सफल भएको छ । त्यस्तै स्मार्ट कृषिमा एआई पुरस्कार डिभी एक्सेलस प्रालिले प्राप्त गरेको छ भने अभियान्ता फाउन्डेसनले कार्यबल तथा भविष्यका सीपहरूमा एआई पुरस्कार हात पार्न सफल भएको छ । नेपालतर्फबाट असोसियो सदस्य संस्था कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का सिफारिसमा सहभागी यी संस्थाले इन्डोनेसियाको जकार्तामा आयोजित असोसियो डिजिटल र एआई समिट २०२६ मा यी विधामा अवार्ड हात पारेका हुन् ।
क्यान महासंघका अनुसार यस वर्षको असोसियो अवार्डमा नेपाली सूचना प्रविधि क्षेत्रको विविधता झल्काउने गरी नोमिनेसन सिफारिस गरिएको थियो । महासंघले असोसियो जस्तो अन्तर्राष्ट्रिय मञ्चमा सहभागी हुन पाउनु नेपालका लागि गौरवको विषय भएको क्यान महासंघका पूर्वअध्यक्ष एवम् असोसियोका उपाध्यक्ष नवराज कुँवरले बताए । ‘सुरक्षित अर्थतन्त्र, प्रविधि र व्यावहारिक एआईमार्फत समाज र उद्योगको रूपान्तरण’ विषयमा केन्द्रित यस वर्षको समिट असोसियोको फ्ल्यागसिप इभेन्टका रूपमा आयोजना गरिएको हो । समिटमा एआई प्रविधिको भूमिका, साइबर सुरक्षा, डिजिटल गभरमेन्टका रणनीति, स्टार्टअप इकोसिस्टम र ट्यालेन्ट विकास, एआई जस्ता विषयमा विस्तृत छलफल भएको थियो । २४ एसियाली–ओसियनियन देशका प्रतिनिधिहरू सहभागी समिटमा विभिन्न प्यानल डिस्कसन, वर्कशप र प्रदर्शनीमार्फत नवीनतम प्रविधि र इनोभेसन प्रस्तुत गरिएका थिए ।