काठमाडौं, काठमाडौं उपत्यकाका अधिकांश बासिन्दाले वायु प्रदूषणलाई स्वास्थ्यका लागि गम्भीर जोखिम माने पनि वायुको गुणस्तर मापन र प्रदूषणको स्तरबारे जानकारी लिन आधिकारिक तथ्यांक प्रयोग गर्नेको संख्या न्यून रहेको एक नयाँ सर्वेक्षणले देखाएको छ ।ताजा इनिसिएटिभ नेपालले सार्वजानिक गरेको तथ्यांकअनुसार न्युन संख्याले मात्रै वायुको गुणस्तर मापन र प्रदूषणको स्तरबारे जानकारी लिने गरेको पाइएको छ ।
संस्थाले काठमाडौं उपत्यकाका एक हजार दुई सय बासिन्दामाझ गरेको सर्वेक्षणअनुसार ८१ दशमलब २ प्रतिशतले उपत्यकाको वायु प्रदूषणलाई स्वास्थ्यका लागि ‘हानिकारक’देखि ‘अत्यन्त हानिकारक’सम्म रहेको बताएका छन् । तर, वायु गुणस्तर जाँच्ने उत्तरदातामध्ये ९४.१ प्रतिशतले आधिकारिक तथ्यांक वा निगरानी प्रणालीभन्दा गन्ध, दृश्यता र आँखामा हुने जलनजस्ता आफ्नै इन्द्रियगत अनुभवमा निर्भर हुने बताएका छन् । सर्वेक्षणअनुसार ५२.३ प्रतिशत उत्तरदाताले आफू बस्ने क्षेत्रको वायु गुणस्तरलाई खराबदेखि अति खराबसम्म मूल्यांकन गरेका छन् । प्रमुख सहरी क्षेत्रमा यस्तो धारणा अझ बढी देखिएको छ । ललितपुरका ६०.९ प्रतिशत, काठमाडौंका ५९.२ प्रतिशत र भक्तपुरका ५६ प्रतिशत उत्तरदाताले स्थानीय वायुको गुणस्तर खराब रहेको बताएका हुन् ।
वायु गुणस्तर जाँच्ने ज्ञानमा शैक्षिक असमानता पनि देखिएको छ । प्राथमिक शिक्षा वा सोभन्दा कम शैक्षिक योग्यता भएका उत्तरदातामध्ये १०.८ प्रतिशतले मात्र वायु गुणस्तर कसरी जाँच्ने भन्ने जानकारी रहेको बताएका छन् । स्नातकोत्तर वा सोभन्दा माथिको शिक्षा हासिल गरेका उत्तरदातामा यस्तो दर ६३ प्रतिशत छ । युवा पुस्तामा डिजिटल माध्यमबाट वायु गुणस्तर निगरानी गर्ने प्रवृत्ति तुलनात्मक रूपमा बढी देखिए पनि समग्र पहुँच न्यून रहेको सर्वेक्षणले देखाएको छ । १८ देखि २४ वर्ष उमेर समूहमा वायु गुणस्तर सक्रिय रूपमा ट्र्याक गर्ने उत्तरदातामध्ये ६०.३ प्रतिशतले वेबसाइट र ४२.५ प्रतिशतले मोबाइल एप प्रयोग गर्ने बताएका छन् । सर्वेक्षणमा सहभागीमध्ये ९८.६ प्रतिशतले मोटर सवारीसाधन तथा यातायातबाट निस्कने धुवाँलाई वायु प्रदूषणको प्रमुख स्रोत मानेका छन् । त्यस्तै, ९४.८ प्रतिशतले सडक निर्माणबाट उत्पन्न धुलोलाई प्रमुख प्रदूषणकारीमध्ये एकका रूपमा औंल्याएका छन् ।
प्रदूषण नियन्त्रणका लागि सरकारी तथा संस्थागत हस्तक्षेपप्रति पनि उल्लेख्य जनसमर्थन देखिएको छ । ७९.९ प्रतिशत उत्तरदाताले सार्वजनिक यातायात विस्तार र विद्युतीय गतिशीलतालाई समर्थन गरेका छन् । ७१.५ प्रतिशतले कडा धुलो नियन्त्रण र सहरी हरियाली विस्तारको पक्षमा मत दिएका छन् । तर, सरकारी प्रयासप्रति असन्तुष्टि उच्च छ । सर्वेक्षणमा ७०.४ प्रतिशत उत्तरदाताले वायु प्रदूषण न्यूनीकरणका लागि भइरहेका सरकारी प्रयासप्रति असन्तुष्टि व्यक्त गरेका छन् । व्यक्तिगत तहमा भने प्रदूषणबाट जोगिन अपनाइने उपाय कमजोर देखिएको छ । ८२ प्रतिशत उत्तरदाताले सर्जिकल मास्क वा स्कार्फ प्रयोग गर्ने बताएका छन् । तर ४३.४ प्रतिशतले वायु प्रदूषणबाट आफूलाई जोगाउन कुनै व्यक्तिगत कदम नचालेको जानकारी दिएका छन् ।
वायु प्रदूषणले काठमाडौं उपत्यकाबाट बाहिरिने सोचमा समेत प्रभाव पार्न थालेको सर्वेक्षणले संकेत गरेको छ । उपत्यका छाड्ने विचार गरिरहेका ७.२ प्रतिशत उत्तरदातामध्ये ३९.१ प्रतिशतले खराब वायु गुणस्तरलाई त्यसको एउटा कारण मानेका छन् । आर्थिक दबाब तथा महँगी ४७.८ प्रतिशतसहित उपत्यका छाड्ने प्रमुख कारण बनेको छ । ताजा इनिसिएटिभ नेपालकी कार्यकारी निर्देशक रोशनी गिरीले सर्वेक्षणले वायु प्रदूषणसम्बन्धी जनचेतना र भरपर्दो सूचनामा पहुँचबीच ठूलो अन्तर रहेको देखाएको बताइन् । ‘पाँचमध्ये चार बासिन्दा हावा स्वास्थ्यका लागि हानिकारक रहेको बताउँछन्, तर अधिकांश मानिस आफूले श्वास फेर्ने हावा बुझ्न वैज्ञानिक तथ्यांकभन्दा आफ्नै इन्द्रियमा निर्भर छन्’, उनले भनिन् ।
उनका अनुसार संस्थाले काठमाडौं उपत्यकामा वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई सर्वसाधारणका लागि पहुँचयोग्य र बुझ्न सकिने बनाउने लक्ष्य राखेको छ । सन् २०२६ मा स्थापना भएको ताजा इनिसिएटिभ नेपालले अनुसन्धान, वायु गुणस्तर निगरानी, डेटा पहुँच र जनचेतनामार्फत वायु प्रदूषण न्यूनीकरणका लागि प्रमाणमा आधारित उपाय प्रवद्र्धन गर्ने जनाएको छ । संस्थाले आगामी चरणमा उपत्यकाभरि वायु गुणस्तरसम्बन्धी अनुसन्धान विस्तार, पहुँचयोग्य डेटा प्लेटफर्म विकास र वायु गुणस्तर साक्षरता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।