काठमाडौं, नर्सरी व्यवसायी संघ नेपालको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा ‘चौथो तिहार फ्लोरा एक्स्पो २०८३’ सुरु भएको छ ।
स्वदेशी फूल तथा बिरुवाको उत्पादन वृद्धि, बजार विस्तार र आयात प्रतिस्थापन गर्ने उद्देश्यसहित मंगलबारदेखि एक्स्पो सुरु भएको हो । मेलाको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरिले उद्घाटन गरेकी थिइन् । सो क्रममा उनले स्वदेशी फूल तथा बिरुवाको उत्पादन र उपभोग बढाउन सरकारले आवश्यक नीतिगत तथा प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाइन् । साथै उनले नर्सरी व्यवसायलाई उत्पादन वृद्धि, वातावरण संरक्षण, हरियाली प्रवद्र्धन र जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणसँग जोड्नुपर्नेमा जोड दिइन् । नर्सरी व्यवसायीले भोग्दै आएको जग्गा अभावको समस्या समाधान गर्न सरकारले भूमि बैंकको अवधारणा अघि बढाउन लागेको जानकारी दिँदै उनले सरकारी तथा अन्य खाली जग्गाको उत्पादनमूलक उपयोग गर्नुपर्ने बताइन् । यस्तै उनले रैथाने फूल र स्वदेशी उत्पादनको बजारीकरणलाई प्राथमिकता दिन व्यवसायीलाई आग्रह गरिन् ।
कार्यक्रममा नर्सरी व्यवसायी संघ नेपालका अध्यक्ष राम्जीप्रसाद तिमिल्सिनाले लामो समयदेखि प्रयोगविहीन सरकारी जग्गा नर्सरी व्यवसायीलाई उपलब्ध गराउन माग गरे । उनले सहरी क्षेत्रमा खाली रहेका जग्गामा नर्सरी बजार स्थापना गर्ने व्यवस्था मिलाउन र सातै प्रदेशमा प्रदेशस्तरीय मेला, प्रदर्शनी तथा तालिम सञ्चालन गर्ने नीति ल्याउन सरकारको ध्यानाकर्षण गराए । तिहारमा ठूलो परिमाणमा फूल आयात हुने गरेको उल्लेख गर्दै अध्यक्ष तिमिल्सिनाले सयपत्री फूलमा आत्मनिर्भर बन्न आयात प्रतिस्थापन गर्नुपर्ने बताए । उनले देशभरका खाली जग्गाको भौगोलिक अवस्थाअनुसार फूल, जडीबुटी तथा अन्य व्यावसायिक खेती विस्तार गरी उत्पादन र निर्यात बढाउनुपर्नेमा जोड दिए ।
‘तिहारको उत्सव, स्वदेशी फूलको महोत्सव’ नारासहित सुरु भएको पाँचदिने एक्स्पोमा पुष्प, फलफूल, कृषि, वन तथा जडीबुटी नर्सरीका उत्पादन प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् । मेला संयोजक तथा संघकी उपाध्यक्ष लक्ष्मी महर्जनका अनुसार एक्स्पोमा कुल ७३ स्टल राखिएका छन् । तीमध्ये ६३ व्यावसायिक, वनस्पति विभाग र पुष्प विकास केन्द्रसहित संघका छवटा आधिकारिक तथा चारवटा प्रतिस्पर्धात्मक स्टल रहेका उनले बताईन् । आयोजकले एक्स्पोमा ३५ हजारभन्दा बढी अवलोकनकर्ता सहभागी हुने र एक करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने अपेक्षा गरेको छ । आर्थिक मन्दीका कारण सुस्ताएको हरित अर्थतन्त्रलाई चलायमान बनाउने, नर्सरी क्षेत्रमा लगानी आकर्षित गर्ने, रोजगारी सिर्जना गर्ने र नयाँ उद्यमशीलता विकास गर्ने लक्ष्य एक्स्पोले राखेको मेला संयोजक महर्जनको भनाइ छ । एक्स्पो कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ । मेलामा उत्कृष्ट उत्पादन तथा स्टललाई शिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरी व्यवसायीबीच स्वस्थ प्रतिस्पर्धा प्रोत्साहन गर्ने कार्यक्रम पनि राखिएको जनाइएको छ ।