कर्णाली, नेपालका लागि इजरायली राजदूत स्मुलिक अरियल बासले आज बुधबार सुर्खेतमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै इजरायल सरकारले नेपालको हितमा काम गर्दै आएको बताएका छन् ।
नेपाल र इजरायलबीच आठ दशक लामो ऐतिहासिक तथा कुटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै राजदूत बासले इजरायल सरकारले नेपालको कृषि, रोजगारी, अध्ययन र व्यापारको क्षेत्रमा सहयोग गर्दै आइरहेको बताए ।
राजदूत बासले सिङ्गो कर्णाली प्रदेश प्रकृतिको अनुपम उपहार भएकाले इजरायल सरकार कर्णाली प्रदेशको विकासका लागि सकारात्मक रहेको प्रतिक्रिया दिए ।
दुवै देशका समृद्धि र दिगो सम्बन्ध कायम हुनुमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका रहेको धारणा व्यक्त गर्दै उनले नेपाल र इजरायलबीचको कूटनीतिक सम्बन्धबाट दुवै देशका नागरिकमा सहयोग र सद्भाव बढ्दै जानु सकारात्मक विषय भएको बताए ।