काठमाडौं, गरिमा विकास बैंक लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश (प्रस्तावित बोनस सेयर र नगद लाभांशको करसहित) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावसहित पेस भएका सम्पूर्ण प्रस्तावहरू पारित गरेको छ ।
साधारणसभाबाट विकास बैंकको आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको विकास बैंकको २०८३ असार मसान्तको वासलात, आव २०८२/०८३ को नाफानोक्सान हिसाब, नगद प्रवाह विवरण, नाफा–नोक्सान बाँडफाँट हिसाब, इक्वीटिमा भएको परिवर्तनलगायत सोसँग सम्बन्धित अनुसूचीहरू पारित गर्ने तथा आव २०८३/०८४ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्ति गर्नेलगायत प्रस्तावहरू पारित भएका छन् ।
हाल बैंकको चुक्ता पुँजी छ अर्ब दुई करोड १३ लाख ४८ हजार तीन सय ६७ रुपैयाँ रहेकोमा यो वार्षिक साधारणसभाबाट पारित भएको १० प्रतिशत बोनस सेयर वितरणपश्चात विकास बैंकको जारी तथा चुक्ता पुँजी छ अर्ब ६२ करोड ३४ लाख ८३ हजार दुई सय तीन रुपैयाँ पुगेको छ ।