काठमाडौँ, इनड्राइभले नयाँ प्यासेन्जर ३६० क्याम्पेन ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ सार्वजनिक गरेको छ । ‘भाडामा कुरा मिल्छ, दुवैको चित्त बुझ्छ’ भन्ने मूल सन्देशसहित सुरु गरिएको क्याम्पेनले यात्रुहरूलाई भाडा निर्धारणमा छनोटको स्वतन्त्रता प्रदान गर्नेछ ।
यात्रु र चालकबीचको आपसी सहमतिमा भाडा निर्धारण गर्ने अवधारणालाई क्याम्पेनको केन्द्रमा राखिएको कम्पनीले जनाएको छ । इनड्राइभ एपमार्फत यात्रुहरूले सुझाव गरिएको भाडा हेरेर आफूले तिर्न चाहेको रकम प्रस्ताव गर्न सक्नेछन् । नजिकै रहेका चालकहरूले उक्त प्रस्ताव स्वीकार गर्न वा आफ्नो तर्फबाट वैकल्पिक भाडा प्रस्ताव गर्न सक्नेछन् । त्यसपछि यात्रुले प्रस्तावित भाडा, चालक आइपुग्ने अनुमानित समय, चालकको रेटिङ र सवारीसाधनका आधारमा उपयुक्त चालक छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।
यात्रा सुरु हुनुअघि नै भाडा तय हुने भएकाले यात्रुहरूलाई तिर्नुपर्ने रकमबारे पूर्वजानकारी प्राप्त हुन्छ । क्याम्पेनले विशेषगरी दैनिक आवतजावतका क्रममा यात्रुहरूले प्राथमिकता दिने दुई पक्ष भाडाको पूर्वनिश्चितता र सवारीको छिटो उपलब्धतालाई जोड दिएको छ । एपमा चालक आइपुग्ने अनुमानित समय अग्रिम रूपमा हेर्न सकिने भएकाले यात्रुहरूले आफ्नो आवश्यकता र समयअनुसार चालक छनोट गर्न सक्ने कम्पनीको भनाइ छ ।
यस क्याम्पेनअन्तर्गत इनड्राइभले ब्रान्ड एम्बेसडर स्वस्तिमा खड्का अभिनीत नयाँ भिडियोसमेत सार्वजनिक गरेको छ । नेपाली मौलिक संस्कृति झल्काउने संगीत र स्थानीय परिवेशलाई समेटेर तयार पारिएको भिडियोमार्फत यात्रु र चालकबीचको आपसी सहमति तथा सन्तुष्टिको सन्देश प्रस्तुत गरिएको छ । नेपाली दर्शकको दैनिक जीवनशैली र सांस्कृतिक भावनासँग जोडिने गरी तयार गरिएको भिडियोले क्याम्पेनको मुख्य सन्देशलाई थप प्रभावकारी रूपमा सम्प्रेषण गर्ने अपेक्षा कम्पनीले गरेको छ ।