काठमाडौं, माछापुच्छ्रे बैंकले ग्राहकलाई थप स्मार्ट, सहज र ग्राहककेन्द्रित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले नयाँ ग्राहक सेवामुखी च्याटबोट ‘माया’ सार्वजनिक गरेको छ । बैंकले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, बैंकको आधिकारिक वेबसाइटमा ‘माया’ को आइकन राखिएको छ ।
उक्त च्याटबोटमार्फत ग्राहकले बैंकिङ सेवासम्बन्धी आफ्ना जिज्ञासा च्याटमार्फत राखेर आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन् । ग्राहकलाई प्राथमिकतामा राखेर विकास गरिएको ‘माया’ एक अन्तरक्रियात्मक डिजिटल प्लेटफर्म हो । नियमित बैंकिङसम्बन्धी जानकारीका लागि शाखामा पुग्नुपर्ने वा बैंकका कर्मचारीसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने आवश्यकता कम गर्दै ग्राहकलाई आवश्यक जानकारी सहज रूपमा उपलब्ध गराउने उद्देश्यले च्याटबोट सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकका अनुसार ‘माया’ को सुरुवातले प्रविधिको प्रभावकारी प्रयोगमार्फत अझ दक्ष र ग्राहकअनुकूल बैंकिङ अनुभव सिर्जना गर्दै स्मार्ट बैंक बन्ने बैंकको दृष्टिकोणलाई थप सहयोग गर्नेछ । च्याटबोटले ग्राहकका जिज्ञासालाई अझ सटीक, सान्दर्भिक र प्रभावकारी रूपमा सम्बोधन गर्न सक्ने बनाउन यसको क्षमता तथा कार्यसम्पादनलाई निरन्तर सुधार र परिष्कृत गर्दै लैजाने बैंकले जनाएको छ । ग्राहकबाट प्राप्त सुझाव तथा च्याटबोटको प्रयोगबाट प्राप्त अनुभवका आधारमा भविष्यमा यसको शुद्धता र उपयोगितासमेत थप अभिवृद्धि गरिने बैंकको भनाइ छ ।