ग्राहक सेवा, डिजिटल नवप्रवर्तन तथा जोखिम व्यवस्थापनका क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै माछापुच्छ्रे बैंकले दुई प्रतिष्ठित अन्तर्राष्ट्रिय बैंकिङ पुरस्कार प्राप्त गरेको छ ।
बैंकले इन्डियन फाइनान्सियल इनोभेसन अवाड्र्स २०२६ अन्तर्गत ‘म्याक्सिमाइजिङ कस्टमर इन्गेजमेन्ट’ विधामा प्लाटिनम अवार्ड प्राप्त गरेको हो । ग्राहकको खाता खोल्ने प्रक्रियालगायत बैंकिङ सेवामा जोडिने प्रक्रियालाई थप सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको ‘रिइनभेन्टिङ कस्टमर अनबोर्डिङ’ पहलका लागि बैंकलाई उक्त सम्मान प्रदान गरिएको बैंकले जनाएको छ ।
इन्डियन फाइनान्सियल इनोभेसन अवाड्र्सले बैंक तथा वित्तीय संस्थाले प्रविधि, नवप्रवर्तन र ग्राहककेन्द्रित सेवाका क्षेत्रमा गरेका उत्कृष्ट कार्यलाई सम्मान गर्दै आएको छ । सन् २०२६ को संस्करणमा विश्वभरबाट नौ विधामा पाँच सय भन्दा बढी आवेदन परेकोमा विभिन्न चरणको छनोटपछि पुरस्कार प्रदान गरिएको हो । बैंकका अनुसार उक्त सम्मानले डिजिटल रूपान्तरण तथा ग्राहक सम्बन्ध सुधारलाई प्राथमिकतामा राख्दै आएको प्रयासलाई थप प्रोत्साहन गरेको छ । बैंकले ग्राहकलाई सरल, सहज, छिटो र सुरक्षित बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले डिजिटल प्रविधिको प्रयोगलाई निरन्तर विस्तार गर्दै आएको जनाएको छ ।
यसैगरी, माछापुच्छ्रे बैंकले ‘बेस्ट पर्फर्मेन्स अन रिस्क म्यानेजमेन्ट’ शीर्षकको अर्को अन्तर्राष्ट्रिय पुरस्कार पनि प्राप्त गरेको छ । इन्डियन चेम्बर अफ कमर्सद्वारा नयाँ दिल्लीमा आयोजित साउथ इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एन्ड अवाड्र्स २०२६ मा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
कर्जा जोखिम, सञ्चालन जोखिम, बजार जोखिम तथा तरलता जोखिम व्यवस्थापनका क्षेत्रमा बैंकले गरेको प्रयासको मूल्यांकन गर्दै उक्त पुरस्कार प्रदान गरिएको बैंकले जनाएको छ । यस सम्मानले बैंकले सुरक्षित, जिम्मेवार तथा सावधानीपूर्ण बैंकिङ अभ्यासलाई प्राथमिकतामा राखेको देखाएको छ ।
दुई अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेसँगै माछापुच्छ्रे बैंकले पछिल्ला वर्षमा विभिन्न प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दै आएको छ । बैंकले भिजा लिडरसिप कन्क्लेभ अवार्ड २०२३ र २०२४, इन्डियन फाइनान्सियल इनोभेसन अवार्ड २०२३ र २०२५ तथा राइजिङ स्टार इन एसेट क्वालिटी अवार्ड २०२५ लगायतका विभिन्न सम्मान प्राप्त गरिसकेको जनाएको छ ।
बैंकले पछिल्ला वर्षमा डिजिटल प्रविधिको विस्तार, ग्राहक सेवाको सुधार र जोखिम व्यवस्थापनलाई प्राथमिकतामा राख्दै आफ्नो बैंकिङ सेवालाई थप प्रविधिमैत्री र सुरक्षित बनाउँदै आएको जनाएको छ ।