काठमाडौ, माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको हालै बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा यति नै लाभांश वितरण गरेको थियो । कम्पनीले लगातार दोस्रो वर्ष २० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ७९ करोड ७० लाख ४३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २९.०८ प्रतिशतले बढी हो । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको प्रतिसेयर आम्दानी २५.५२ रुपैयाँ कायम भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट २० प्रतिशत बोनस दिएर पुँजी थप गर्दा पनि कम्पनीले २५ रुपैयाँभन्दा माथिको प्रतिसेयर आम्दानी कायम गर्न सफल भएको छ । कम्पनीले साधारणसभा पनि आह्वान गरेको छ ।
कम्पनीले कात्तिक २० गते शुक्रबार भाटभटेनी स्थित आम्रपाली ब्यान्क्वेटमा साधारणसभा गर्ने भएको हो । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । साधारणसभामा वार्षिक प्रतिवेदन पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदनसहित अन्य वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०८३/८४ को लागि लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पनि प्रस्तुत हुनेछन् । साधारणसभाले ५ जना संचालकको निर्वाचन पनि गर्ने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि कात्तिक १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ । कात्तिक ९ गतेसम्म कायम सेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्नेछन् ।
कम्पनीले आर्थिक वर्ष २०७८/७९ देखि नियमित लाभांश वितरण गरिरहेको छ । आर्थिक वर्ष २०७८/७९ मा १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । त्यसपछि भने कम्पनीले बोनस सेयरमा जोड दिएको छ । कम्पनीले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा समान १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । पुँजी बढ्दै जाँदा पनि कम्पनीले लगातार चौथो वर्ष दोहोरो डिजिटको लाभांश वितरण गर्न सफल भएको छ । कम्पनीले ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गरिरहेको छ । कम्पनीले सहायक कम्पनी दूधखोला हाइड्रोपावर कम्पनी प्रालिमार्फत ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजना निर्माण थालेको छ । आयोजनाको लागि गत साउनमा वित्तीय व्यवस्थापन सम्पन्न भइसकेको छ ।
मनाङमा निर्माण हुने यस आयोजनाको कुल लागत १२ अर्ब ८९ करोड रहेको छ । प्रतिमेगावाट लागत २० करोडभन्दा पनि कम रहेकोले यस योजनालाई आकर्षक मानिएको छ । आयोजनामा एनएमबि बैंक र सानिमा बैंकले १०.०१ अर्ब लगानी गर्ने छन् भने बाँकी रकम प्रवद्र्धक कम्पनीले लगानी गर्नेछ । निर्माण थालेको ३ वर्षभित्रमा विद्युत् उत्पादन थालिसक्ने कम्पनीको लक्ष्य छ ।