काठमाडौं, एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा एक अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको ९१ करोड ६० लाख रुपैयाँको तुलनामा २७ दशमलव ११ प्रतिशतको वृद्धि हो । यससँगै बैंकको वार्षिकीकरण गरिएको प्रतिशेयर आम्दानी पनि २५ दशमलव ४२ प्रतिशतले बढेर २३ रुपैयाँ ८३ पैसा पुगेको छ ।
त्यस्तै, बैंकका शेयरधनीहरूलाई बाँड्न मिल्ने नाफामा पनि सुधार भएको छ । वार्षिकीकरण गरिएको प्रतिसेयर वितरणयोग्य नाफा ४३ दशमलव ८८ प्रतिशतले बढेर ११ रुपैयाँ ६४ पैसा पुगेको छ । यस अवधिमा बैंकको कर्जा र निक्षेप दुवै बढेको छ । कुल कर्जा आठ अर्ब ९ करोड रुपैयाँले बढेर दुई खर्ब ७६ अर्ब चार करोड रुपैयाँ पुगेको छ भने कुल निक्षेप छ अर्ब तीन करोड रुपैयाँले बढेर तीन खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । बैंकको कुल कर्जा वृद्धिदर बैंकिङ उद्योगको औसत वृद्धिदरभन्दा माथि रहेको छ ।
खराब कर्जाको अनुपात अघिल्लो त्रैमासको चार दशमलव ९७ प्रतिशतबाट घटेर चार दशमलव ९२ प्रतिशतमा झरेको छ, जसले कर्जाको गुणस्तरमा सुधार आएको देखाउँछ । यसैगरी, बैंकको सञ्चालन नाफा २६ दशमलव १७ प्रतिशतले बढेर एक अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । सम्भावित नोक्सानी व्यवस्थापन खर्च (इम्पियरमेन्ट चार्ज) २९ दशमलव ६६ प्रतिशतले घटेर ५० करोड २१ लाख ८० हजार रुपैयाँमा झरेको छ ।
बैंकको पुँजी कोष अनुपात १२ दशमलव ५३ प्रतिशत रहेको छ, जसले बैंकको पुँजीगत सुदृढता, वित्तीय स्थायित्व तथा दिगो बैंकिङ अभ्यासप्रतिको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।