काठमाडौं, नेपाल पर्यटन बोर्डले ओझेलमा परेका पर्यटकीय गन्तव्य कन्टेन्ट क्रिएटरमार्फत प्रवर्द्धन गर्ने तयारी गरेको छ । बोर्डले २०० भन्दा बढी कन्टेन्ट क्रिएटरमार्फत ओझेलमा परेका नेपालका पर्यटकीय गन्तव्य प्रबर्द्धन गर्न लागेको हो । प्रविधिको तीव्र विस्तारसँगै नेपालको मौलिक संस्कृती, परम्परा र गन्तव्यहरुलाई डिजिटल माध्यमबाट प्रचार–प्रसार र प्रबर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम गर्न लागिएको बोर्डले जनाएको छ । बोर्डले २०० भन्दा बढी कन्टेन्ट क्रिएटरलाई देशका विभिन्न पर्यटकीय गन्तव्यमा पुर्याएर त्यहाँको खानपान, भेषभुषा, ट्राभल, फोटोग्राफी, भिडियोग्राफी, कला, संस्कृति तथा लाइफस्टाइललगायत विधामा सक्रिय क्रिएटरमार्फत नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र मौलिक जीवनशैलीलाई अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्याउने लक्ष्य राखेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलले नेपालको पर्यटन प्रवर्द्धनमा डिजिटल प्लेटफर्म र सिर्जनशील युवाको भूमिका महत्वपुर्ण रहेको बताए । उनका अनुसार नयाँ तथा कम चिनिएका पर्यटकीय गन्तव्यसँगै नेपाली कला, संस्कृति, खानपान र जीवनशैलीलाई विश्वसामु चिनाउन कन्टेन्ट क्रिएटरहरूको सहभागितालाई प्रभावकारी रूपमा उपयोग गर्न आवश्यक छ । मन्त्री पौडेलले यस अभियानलाई पर्यटन प्रवर्द्धनमा मात्र सीमित नराखी नेपालमा कन्टेन्ट क्रिएसनलाई सम्भावनायुक्त उद्योगका रूपमा विकास गर्ने अवसरका रूपमा लिनुपर्ने बताए । यसबाट नयाँ प्रतिभाले आफ्नो सिर्जनशीलता प्रस्तुत गर्ने अवसर पाउनुका साथै रोजगारी, उद्यमशीलता र व्यावसायिक सम्भावनासमेत विस्तार हुने उनको भनाइ छ ।