काठमाडौं, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश थकाली सर्वसम्मत चयन भएका छन् । एसोसिएसनको शुक्रबार सम्पन्न २१औँ वार्षिक साधारणसभाले यसअघि कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थकालीलाई अध्यक्षमा चयन गरेको हो ।
सभाले गरिमा विकास बैंकका प्रमुख कार्यकारी माधवप्रसाद उपाध्याय र ज्योति विकास बैंकका प्रमुख कार्यकारी कपिल ढकाललाई उपाध्यक्ष तथा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी दीपेश लम्साललाई कोषाध्यक्षमा चयन गरेको छ । त्यस्तै, सदस्यमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी तारा मानन्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी रविन सिँजापति, ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अनन्तकुमार चापागाईं चयन भएका छन् ।
चार्टर्ड एकाउन्टेन्ट तथा अनुभवी बैंकर थकालीले वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन र सुशासनका क्षेत्रमा काम गर्दै आएका छन् । अध्यक्षमा चयन भएपछि उनले विकास बैंकिङ क्षेत्रका समसामयिक मुद्दालाई प्राथमिकतामा राख्दै सुशासन, जोखिम व्यवस्थापन, प्रविधि तथा मानव संसाधनको क्षमता अभिवृद्धि, कर्जा गुणस्तर र असुली सुधारमा केन्द्रित भएर काम गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, सदस्य बैंकहरूबीच ज्ञान र असल अभ्यासको आदानप्रदानलाई थप प्रभावकारी बनाउने उनको भनाइ छ ।
सभाले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८३/०८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि अनुमोदन गरेको छ ।