दोलखा, दोलखा जिल्लाको वैतेश्वर गाउँपालिकाले थानीयस्तरबाटै कर तथा राजस्वसम्बन्धी सेवा प्रवाह गर्ने भएको छ । पालिकाले आन्तरिक राजस्व कार्यालय धुलिखेलसंग स्थानीयस्तरबाटै कर तथा राजस्वसम्बन्धी सेवा प्रवाह गर्ने गरी सम्झौता गरेको हो । सम्झौताअनुसार गाउँपालिकाबाट स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र प्रदान, अन्तःशुल्क प्रमाणपत्रसम्बन्धी सेवा, कर चुक्ता प्रमाणपत्रलगायत आन्तरिक राजस्वसँग सम्बन्धित विभिन्न सेवा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ ।
स्थानीय तहको राजस्व संकलन, लेखांकन तथा प्रतिवेदनलाई सूचना प्रविधिमा आधारित प्रणालीमार्फत व्यवस्थित गर्ने र कर प्रशासनलाई सहज, पारदर्शी तथा प्रभावकारी बनाउने उद्देश्यले नेपाल सरकारले जारी गरेको स्थानीय तह राजस्व व्यवस्थापन प्रणाली सञ्चालन निर्देशिका, २०८१ को कार्यान्वयनसँगै यस्तो व्यवस्था अघि बढाइएको हो । सम्झौतापछि वैतेश्वर गाउँपालिकाका नागरिक तथा व्यवसायीले प्यान लिन, करसम्बन्धी प्रमाणपत्र प्राप्त गर्न तथा कर चुक्तासहितका सेवाका लागि आन्तरिक राजस्व कार्यालय धाउनुपर्ने अवस्था अन्त्य हुने अपेक्षा गरिएको छ । गाउँपालिकाले स्थानीयस्तरमै करसम्बन्धी सेवा उपलब्ध हुँदा सेवाग्राहीको समय र खर्च बचत हुनुका साथै स्थानीय राजस्व प्रशासन थप व्यवस्थित हुने जनाएको छ ।