काठमाडौं, राष्ट्रिय वाणिज्य बैंकले दशैँ, तिहार तथा छठलगायत २०८३ सालका चाडपर्वलाई लक्षित गर्दै घर तथा सवारी कर्जामा विशेष अफर सार्वजनिक गरेको छ ।
बैंकले चाडपर्व लक्षित योजनाअन्तर्गत पाँच दशमलव ५१ प्रतिशत ब्याजदरमा अधिकतम तीन करोड रुपैयाँसम्म घर कर्जा उपलब्ध गराउने भएको छ । घरजग्गा खरिद, घर निर्माण तथा घडेरी खरिदका लागि उपलब्ध हुने उक्त कर्जाको अवधि अधिकतम २० वर्षसम्म रहने बैंकले जनाएको छ । त्यस्तै, विद्युतीय तथा अन्य सबै प्रकारका सवारीसाधन खरिदका लागि चार दशमलव ९० प्रतिशत ब्याजदरमा अधिकतम एक करोड रुपैयाँसम्म सवारी कर्जा उपलब्ध गराइने भएको छ । सवारी कर्जाको अवधि अधिकतम सात वर्षसम्म रहनेछ ।
चाडपर्व विशेष अफरअन्तर्गत प्रवाह हुने यी कर्जामा सेवा शुल्कमा समेत उल्लेख्य छुटको व्यवस्था गरिएको बैंकले जनाएको छ । दशैँ, तिहार तथा छठका समयमा घर खरिद तथा निर्माण र सवारीसाधन खरिद गर्ने ग्राहकको संख्या बढ्ने भएकाले ग्राहकलाई सहज र सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने उद्देश्यले विशेष योजना ल्याइएको बैंकको भनाइ छ । बैंकका अनुसार यो चाडपर्व विशेष कर्जा अफर २०८३ साल कार्तिक मसान्तसम्म मात्र लागू हुनेछ ।
विसं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल सातवटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेटेर सेवा विस्तार गरेको छ । बैंकका देशभर तीन सय १६ वटा शाखा कार्यालय र तीन सय ३८ एटीएम टर्मिनल सञ्चालनमा छन् । बैंकले ४९ लाखभन्दा बढी ग्राहकलाई निक्षेप तथा कर्जाका साथै एटीएम, मोबाइल बैंकिङलगायत आधुनिक डिजिटल बैंकिङ सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।