काठमाडौं, नेपाल राष्ट्र बैंकले भोटेकोशी तथा बूढीगण्डकी नदीमा आएको बाढीपहिरोबाट प्रभावित क्षेत्रमा कर्जा लिएका ऋणीलाई राहत दिन बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । मंगलबार राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बाढीबाट प्रभावित व्यवसाय तथा ऋणीको अवस्थाको विश्लेषण गरी कर्जा भुक्तानीमा सहजीकरण गर्न निर्देशन दिएको हो ।
यसका लागि राष्ट्र बैंकले वाणिज्य बैक, विकास बैंक र फाइनान्स कम्पनीको नाममा मंगलबार परिपत्र जारी गरेको छ । जसमा बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष असर परेका ऋणीको कर्जा भुक्तानी गर्ने कठिनाइलाई ध्यानमा राखी किस्ता तिर्ने समय थप गर्न भनिएको छ । निर्देशन अनुसार बैंक तथा फाइनान्स कम्पनीहरूले भोटेकोशी तथा बूढीगण्डकी नदीको बाढीबाट प्रभावित क्षेत्रमा प्रत्यक्ष असर परेका कृषि, पर्यटन तथा व्यवसायलगायत आर्थिक गतिविधिमा संलग्न ऋणीको वित्तीय अवस्थाको विश्लेषण गरी कर्जा भुक्तानीमा सहजीकरण गर्नुपने छ ।

संशोधित व्यवस्थाले बाढीका कारण व्यवसाय सञ्चालन, आम्दानी तथा नगद प्रवाहमा समस्या भोगिरहेका ऋणीलाई कर्जा भुक्तानीका लागि थप समय उपलब्ध गराउने बाटो खोलेको छ । निर्देशनअनुसार बाढीपहिरोबाट प्रभावित क्षेत्रमा प्रत्यक्ष असर परेका ऋणीको कर्जा भुक्तानी गर्न कठिनाइ भएको अवस्थामा सम्बन्धित बैंक तथा वित्तीय संस्थाले आवश्यक विश्लेषण गरी किस्ता भुक्तानी गर्ने समयावधि थप गर्न सक्नेछन् । यसबाट प्राकृतिक विपत्तिका कारण आर्थिक गतिविधि प्रभावित भएका व्यवसायी तथा ऋणीलाई तत्कालीन वित्तीय दबाब कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

राष्ट्र बैंकले सोही दिन लघुवित्त वित्तीय संस्थाका लागि पनि छुट्टै निर्देशन जारी गरेको छ । निर्देशनमा भोटेकोशी तथा बूढीगण्डकी नदीको बाढीबाट प्रभावित क्षेत्रमा प्रत्यक्ष असर परेका ऋणीको अवस्थाको विश्लेषण गरी किस्ता भुक्तानीमा कठिनाइ भएको अवस्थामा कर्जा भुक्तानी गर्ने समयावधि थप गर्न सकिने व्यवस्था गरिएको छ । लघुवित्त वित्तीय संस्थाले पनि बाढीबाट प्रभावित ऋणीकोअवस्थालाई ध्यानमा राखी आवश्यक विश्लेषणका आधारमा कर्जा भुक्तानीमा सहजीकरण गर्न सक्नेछन् । राष्ट्र बैंकले सोही दिन पूर्वाधार विकास बैंकको नाममा पनि छुट्टै परिपत्र जारी बाढीपीडितलाई कर्जा भुक्तानीमा सहजीकरण गर्न निर्देशन दिएको छ ।