क्यानवेरा, अस्ट्रेलियामा विद्युतीय सवारीसाधन (ईभी) प्रति उपभोक्ताको आकर्षण बढ्दै जाँदा पेट्रोलबाट चल्ने नयाँ सवारीसाधनको बिक्रीमा उल्लेख्य गिरावट आएको छ । फेडरल चेम्बर अफ अटोमोटिभ इन्डस्ट्रिज (एफसीएआई) का अनुसार सन् २०२६ को सेप्टेम्बरमा अस्ट्रेलियामा पेट्रोल सवारीसाधनको बिक्री अघिल्लो वर्षको सोही महिनाको तुलनामा ३६.२ प्रतिशतले घटेको हो ।
एफसीएआईका अनुसार डिजेलबाट चल्ने सवारीसाधनको बिक्री पनि सेप्टेम्बरमा १८.४ प्रतिशतले घटेको छ । यसको विपरीत ब्याट्रीबाट चल्ने विद्युतीय सवारीसाधन (बीईभी) र प्लग–इन हाइब्रिड सवारीसाधनको बिक्री भने दोब्बरभन्दा बढी भएको छ । यसले अस्ट्रेलियाको नयाँ सवारीसाधन बजारमा विद्युतीय तथा विद्युतीकृत प्रविधिको माग तीव्र रूपमा बढिरहेको देखाएको छ ।
सेप्टेम्बरमा अस्ट्रेलियामा बिक्री भएका सबै नयाँ सवारीसाधनमध्ये बीईभीको हिस्सा २४.२ प्रतिशत पुगेको एफसीएआईले जनाएको छ । यो अहिलेसम्मकै दोस्रो उच्च बजार हिस्सा हो । यसअघि अगस्टमा बीईभीको बजार हिस्सा २४.९ प्रतिशत पुगेको थियो । बीईभीले नयाँ सवारीसाधन बिक्रीमा लगातार पाँचौँ महिनासम्म कम्तीमा २० प्रतिशत बजार हिस्सा कायम गरेको छ । मे महिनामा पहिलोपटक बीईभीको हिस्सा २० प्रतिशतभन्दा माथि पुगेपछि त्यसयता विद्युतीय सवारीसाधनको बजार उपस्थिति निरन्तर बलियो बन्दै गएको हो ।
विश्लेषकहरूका अनुसार उपभोक्ताको बदलिँदो प्राथमिकता, विद्युतीय सवारीसाधनका नयाँ मोडलको उपलब्धता र पेट्रोल तथा डिजेल सवारीसाधनप्रतिको घट्दो आकर्षणले बजारको संरचनामा परिवर्तन ल्याइरहेको छ । पछिल्लो तथ्यांकले अस्ट्रेलियाको सवारी बजार क्रमशः परम्परागत इन्धनबाट विद्युतीय प्रविधितर्फ अघि बढिरहेको संकेत गरेको छ ।
यसैबीच, अस्ट्रेलियामा बिक्री भएका नयाँ सवारीसाधनको प्रमुख स्रोतका रूपमा चीनले आफ्नो अग्रता कायम गरेको छ । एफसीएआईका अनुसार सेप्टेम्बरमा अस्ट्रेलियाको कुल नयाँ सवारीसाधन बजारमा चीनबाट आपूर्ति भएका सवारीसाधनको हिस्सा ३५.५ प्रतिशत थियो। जापानको हिस्सा भने २२.५ प्रतिशत रहेको छ ।
चीनले यस वर्षको फेब्रुअरीमा पहिलोपटक अस्ट्रेलियाको नयाँ सवारीसाधनको सबैभन्दा ठूलो आपूर्तिकर्ताको स्थान हासिल गरेको थियो। त्यसअघि जापानले झन्डै ३० वर्षसम्म हरेक महिना अस्ट्रेलियाको नयाँ सवारीसाधन बजारमा सबैभन्दा ठूलो आपूर्तिकर्ताको स्थान कायम गरेको थियो ।