काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, उनका निकटस्थ व्यक्ति तथा केही नातेदारको घरमा छापा मारेको छ।विभाग एवं प्रधानमन्त्री निकट स्रोतका अनुसार पूर्वप्रधानन्यायाधीश जबरा, नवराज थपलिया, दीपक तिमल्सिना र नारायण दाहालको घरमा विभागको टोलीले छापा मारेको हो। स्रोतका अनुसार जबराका केही नातेदारको घरमा समेत सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको टोली पुगेको छ।
जबराका भाइ प्रभुशमशेर जबरा तथा ज्वाइँ नाता पर्ने नवीन बस्नेतको घरमा पनि विभागको टोलीले छापा मारेको स्रोतले जनाएको छ। छापा मार्ने क्रममा जबरा निकट व्यक्तिका घरबाट महत्त्वपूर्ण कागजातहरू बरामद गरिएको बताइएको छ।यसअघि केही दिनअघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्वप्रधानन्यायाधीश जबरालाई उनकै निवासबाट मध्यराति पक्राउ गरेको थियो। उनलाई करिब १२ घण्टा नियन्त्रणमा राखेर पछि छाडिएको थियो। पछिल्लो समय जबरासँग सम्बन्धित विभिन्न विषयमा अनुसन्धान अघि बढिरहेका बेला सम्पत्ति शुद्धीकरण विभागले उनीसहित निकटस्थ व्यक्ति र नातेदारको घरमा छापा मारेको हो।