अघिल्लो हप्ता ठोट्नेरीका धनबीर काकालाई भेटें। भलाकुसरी पछि गाउँलाई त माया मार्यौ नि बाबु भन्नुभयो। एक सय दुई वर्षका बूढा मान्छे अझै हट्टा कट्टा, राता गाला, फुर्तिलो शरीर थियो।टाढैबाट मलाई देखेर चिने। कति तेजिला आँखा। म त छक्क परें। “छोरा नाति सबै विदेश छन्। घरमा कान्छी बुहारी मात्रै छिन्। उनैले पकाएर खान दिन्छिन्”, भन्नुभयो, “एक्लै छु बाबु । जहान ले छोडेर गएको पनि अहिले ३२ वर्ष भयो। ऊ बेलामा वरिपरि अस्पताल थिएनन्। उनलाई गोरखपुर पल्टन सम्म लगेर उपचार नगराएको पनि होइन। निको भयो।रोग फेरि बल्झियो। घर गाउँमा धामी, झाँक्री, वैद्य, झारफुक पनि गराएँ। जता हेराए पनि पितृ दोष देखायो । काचो वायुले दुःख दिएको छ भने।“
म गाउँमा पुगेको थिएँ। त्यसै दिन गैर्हीछापको हर्के झाँक्रीलाई बोलाइएको रहेछ। बैशाख महिनाको कृष्ण पक्ष, सप्तमी तिथि थियो । अँधेरी रात, आकाश भरि ताराहरू झिलिमिलि देखिन्थे। बेलुकाको खाना खाइ सक्दा नौ बज्यो। वायु समन गर्ने कर्म शुरु भयो। दिन भरि चर्को घाम लाग्यो। ज्यादै गर्मी थियो। रातमा भने चीसो हावा सिरिर्र बह्यो। शितल भयो। गाउँको पखेरा बारीमा भर्खर एकोहोरो मकै गोड्ने बेला भएको थियो। वरिपरि घरबारीको डाले घाँसका रुखहरुमा नयाँ पालुवा हावाले फर्फराउँदै थिए।
आँगनमा झाँक्रीले यज्ञ बनाए। खरानी, ध्वाँसो, वेसार र सिन्दुरको रेखी हालेर बिभिन्न आकारका तस्वीर बनाइएको थियो। बिचमा टिलिक्क टल्कने खुकुरी र त्रिशुल गाडियो। तिनीहरुमा रातो, कालो, सेतो र पहेंलो ध्वजा बाँधिएको थियो। दायाँ बायाँ धान र चामलको टपरी पनि राखियो। नगिचै अग्नी कुण्डमा सालको समिदाको सानो थुप्रो थियो। केही क्षण धुवाँ पुत्पुतायो। अनि हुरुर्र बल्यो। झाँक्रीले धुपी, श्रीखण्ड, तुलसी, आँक लगायतका वनस्पती जन्य पात र डाँठ समेत कुण्डमा होमिरहे। लामा झाँक्रीको घाँटीमा रुद्राक्षको माला, कम्मरको वरिपरि स-साना घमौराहरु छिन्छिन बज्थ्यो। शीरमा श्रीपेचको प्वाँख हल्लिन्थ्यो। ढ्याङ्ग्रोको तालमा मन्त्र पढ्दै यज्ञमा पूजा गरे । देशको भूगोल, सिमाना, छिमेकी देश, दशै दिशा, प्रशासनिक एकाइ, प्राकृतिक संपदाहरुको ठेगाना जाने जाति संबोधन गरे। विभिन्न देवी देवताहरुको नाम उच्चारण गरे। भूत, प्रेत, मसान लगायत सुक्ष्म जगतलाई संवोधन गरे। अगाडि सुतिरहेकी विरामीलाई देखाउँदै यो जनानालाई दुःख दिने को हौ, किन सताउँछौ खुलस्त पार्न अनुरोध गरे।टपरी बाट पहेँलो अक्षता उठाएर वरिपरि छरे।देब्रे हातको औंलाहरु मुखमा घुसारेर सुईया सुसिला पारे।
यज्ञको वरिपरि गाउँभरिका अधिकांश प्रौढ, वयस्क, युवा, युवतीहरु जम्मा भएका थिए। कोही पिंडीमा अरु आँगनमा घेरा लगाएर बसे। कसैलाई पनि नबोल्न र नचल्न आदेश दिए झाँक्रीले। हामी चूप लाग्यौं। एका एक सन्नाटा छायो।अगाडि सुतिरहेकी विरामीलाई देखाउँदै यो जनानालाई दुःख दिने को हौ, किन सताउँछौ खुलस्त पार्न पुनः अनुरोध गरे। झाँक्रीको आह्वान पछि यज्ञको अगाडि लम्पसार सुतिरहेकी बिरामी जुरुक्क उठेर काम्न थालिन्। "हेर हेर मनुवा हो, म खड्क बहादुर हुँ।आज भन्दा ३४ वर्ष अगाडि म बाह्र वर्षको हुँदा भैंसी गोठालो --------- बोल्दा बोल्दै उनी ढलिन्। बेहोस भईन्।शारीरिक रूपमा कमजोर विरामी मान्छे ढ़ले पछि यज्ञमा खैला बैला मच्चियो। झाँक्रीले मन्त्र जप्दै पानी छम्किए ।केही समय पछि विरामीले आँखा खोलिन्। उनलाई पानी पिलाइयो। कामिरहेको झाँक्रीसँगै कोलडाँडाको कान्छा तुरुन्तै काम्न थाले । सँग सँगै बिरौटाका ठाकुर दाइ र गल्लीपारी काजीबा पनि काम्न थाले । म त छक्क परेर हेरेको हेर्यै भएँ। झाँक्रीले यज्ञको कर्मपात्रको जल छर्केर सबैलाई पालै पालो आफ्नो परिचय सहित समस्या र समाधान समेत बताउन लगाए।
कोलडाँडाका कान्छाले अघि विरामीले बोले झैं "हेर हेर मनुवा हो। म खड्क बहादुर बरुवाल हुँ। आज भन्दा ३४ वर्ष अगाडि म १२ वर्षको हुँदा भैंसी गोठालो गएको थिएँ। भंगेरी डाँडाको आहालमा भैंसीहरु पौडिदै थिए। म डिलमा बसेर उनीहरुलाई हेर्दै थिएँ। अचानक मेरो गोडा चिप्लियो। म डिलबाट तल खसें। भिरमा भएको कटुसको वुट्टामा अड्किएँ। म खूब रोएँ। उठ्न खोजें। ठाडो भिरबाट झन तल खसें। न्याउली खोलाको रहमा डुवें।तिमीहरुको संसार छोडें। म वायु बनें। त्यो दिन देखि भोकै नाङ्गै कष्टपूर्ण जीवन भौंतारिरहेको छु । मलाई आज सम्म कसैले वास्ता गरेनन् । मेरो श्राध्द, तिथि, पूजा, आजा केही हुँदैन। त्यसैले तिमीहरुको कुलमा पशु, चौपाया, जनाना, मर्दाना जे भेट्यो त्यही मैले भोजन गर्ने गरेको छु । मेरो पूजा अझै गरेनौ भने झन ठूलो हानी नोक्सानी हुने वाला छ है मनुवा हो । हु उउउउउउउ!"
धनवीर र उनका दौंतरीहरु गिरिधर, गैर्हाबारी लक्ष्मीकान्त, धारापानी अम्मर बहादुर , बाटोमुनि सुन्तलीको वाउ लगायतका वयस्कहरूले पनि ध्यानपूर्वक सुनिरहेका थिए । विरामीको वारेस बनेर कोलडाँडाको कान्छा वोले पछि गिरिधर बाजेले भने, "लौ परमेश्वर ! हामीले तिम्रो कुराहरु सबै सुन्यौं । खड्कबहादुर हाम्रो भाइ थियो। तिमीले भने अनुसार उसको अल्पायुमा मृत्यु भएको सत्य हो । अब तिमीले भन्नु पन्यो। तिम्रो मृत शरीरलाई कुन घाटमा अन्त्यष्टी गरियो ? कति जना मलामीहरु थिए? तिमीलाई बाटोमा ककसले बोकेका थिए? कुन जातको रुखको कति भारी दाउरा प्रयोग गरियो ? तिमीलाई दागबत्ती कसले दियो? घाटको काम कति बजे सकियो ? मलामीहरुलाई बाटोमा के खाजा खुवाइयो ? लौ परमेश्वर सबै सत्य तथ्य बताउनु पर्यो। हामीलाई विश्वास लाग्दो प्रमाण दिन पर्यो। त्यति बेला प्रत्यक्ष सहभागी चार-पाँच जना मानिसहरु हामी अहिले पनि यहीं छौं। तिमीले सत्य नबताई त हामी तिमीलाई पूजा गर्न सक्दैनौं। कुनै पनि काल्पनिक हावालाई हामी विश्वास गर्दैनौं। सत्य बतायौ भने मात्र स्थान मान सहित राखौंला। अन्यथा हामी तिमीलाई ठेगान लगाएर छोड्छौं। लौ परमेश्वर सत्य बताऊ।“
एक्काइस वर्ष अगाडिको यो घटना थियो। कोलडाँडाको कान्छा मात्र २३ वर्षको केटो थियो। ३४ वर्ष अगाडि मृत्यु भएको खड्क बहादुरको आत्मा बनेर जसले जे सोधे पनि काम्दै फटाफट उत्तर दिन्थ्यो। वैशाखको धुपमा हुर्हुर बलेको यज्ञमा उफ्रदै सम्पूर्ण आगो निभायो । सबैलाई अचम्म लागेको थियो त्यतिबेला। धनवीर काका सँग आजको भेटमा अतितका घटनाहरु पुनर्स्मरण गरियो।
“मेरो जाहान त बचाउन सकिन बाबु । एक्लो जीवन बाँच्न सार्है गाह्रो हुँदो रहेछ। मलाई मात्रै होइन घर परिवारलाई पनि सास्ति।“ आँखा रसिलो पार्दै काकाले भन्दै गए, “म त छैटौं गोरखा राइफल्समा भर्ती भएर ११ वर्ष विदेशी भूमिमा लडेको फौजी हो । हिन्दुस्तानमा अंग्रेजहरूको शासन थियो म १६ बर्षको उमेरमा भर्ति हुँदा । जि आर फौज अंग्रेजहरुसँग मिलेर वंगलादेश, पाकिस्तान, अफगानिस्तान, भियतनाम, र मलाया छाउनीमा समेत बहादुरीका साथ लड्यो। पैसाको लागि विदेशी भूमिमा गयौं। विदेशीको लागि लड्यौं। विदेशीलाई नै शत्रु ठानेर गोली ठोक्यौं। कस्तो वाध्यता! बाँचे हस्तिनापुरको रजाईँ मरे चपरी मुनिको बास भन्दै लडियो। वि सं २०४७ मा हिन्दुस्तान को आजादी पछि दोश्रो, छैटौं, सातौं र दशौं जि आर लाई महारानी भिक्टोरिया को सुरक्षा गार्ड भनेर बेलायत लैजान छनौटमा पारियो। तर तुरुन्तै मलाया छाउनीमा हाम्रो छैटौ. जि आर परिचालान भयो। उग्रवादीहरुको एम्बुसमा परी धेरै जि आर जवानहरुको को मृत्यु भयो। हामी बाँच्न त बाँच्यौं। तर देउरालीको सन्त सिं वराम को तिघ्रामा गोली लाग्यो। मेरो पाखुरामा प्वाल परिदियो। घाउको खत देखाउँदै धनवीर काकाले युद्ध मोर्चाको बयान गरे। हामी दुई महिना अस्पताल भर्ना भएर बस्यौं। हाम्रो घाऊ ठीक भयो। हामी पेन्सन पाएर घर फर्कियौं। बाँचेका साङ्ग जवानहरु बेलायत गए,” उनले थपे ।
बुढेसकालमा पनि देशको वर्तमान राजनीति र समाज सेवा प्रति उत्तिकै चासो राख्छन् काका। “गोर्खालीहरुले रगत पसिना बगाएको अङ्ग्रेजहरुको मुलुक र हिन्दुस्तानले गरेको विकास देख्दा लोभ लाग्छ बाबु। काकाले भन्दै गए, “पञ्चायती शासन कालमा पनि आजादीको लागि धेरै आन्दोलनमा सहभागी भएँ। वि सं २०२९ सालमा प्रजातन्त्र सेनानीको रुपमा फारमेसगञ्जमा फौजी तथा राजनैतिक प्रशिक्षणमा सहभागी भएँ। ओखल्ढुङ्गा जिल्ला सदरमुकाम कब्जा गर्न भनेर हिंडेको सिपाहीहरु बाटोमै छिन्नभिन्न भयो। कसैले हतियार खोलामा फ्याँकेर भागे। कसैले आफ्नो डायरी तथा महत्वपूर्ण कागजातहरु जङ्गलमा छोडेर हराए।कसैले पञ्चायती शासक सामु आत्मा समर्पण पनि गरे। हाम्रो योजना असफल भयो। हामी बाँकी रहेकाहरुले हिम्मत हारेनौं। सिराहाको सिमाना कट्यौं। कमला नदी तर्र्यौं। टिम्मुरबोटे जङ्गलको ओडारमा लुकेर बस्यौं। पुरानो योजानालाई परिवर्तन गर्यौं। सोलुखुम्बु सदरमुकाम आक्रमण गर्ने अर्को नयाँ योजना बनायौं।हाम्रो योजना सुराकीहरुले पत्ता लगाएछ। शाही नेपाली सेनाले ब्यापक शक्ति परिचालन गर्यो। हामी लुकेर बसेको ओडारलाई घेरा हालिसकेछ। उसले एकाबिहानै फायरिङ् शुरु गर्यो। हामीले बल्ल थाह पायौं। हामीले पनि जवाफी फायर त गर्यौं। तर ठूलो राज्य शक्तिको अगाडि हाम्रो केही लागेन। हाम्रा १८ जना साथीहरु ठाउँका ठाउँ ढले। हामी फायरिङ गर्दै झाडी भित्रबाट भाग्यौं। कमाण्डर यज्ञ बहादुर थापा लगायतका केही साथीहरु गिरफ्तार हुनुभयो। उहाँहरुलाई वि. सं. २०३५ साल माघ २६ गते मृत्यु दण्ड दिइयो।“
“क्रान्ति कसैको मनोगत चाहनाले मात्र सम्पन्न गर्न खोज्नु दुस्साहस मात्र हुन्छ भन्ने पाठ यो घटनाले सिकायो। तर ज्यान गुमाएका वीर योद्धहरुको सपना कहिल्यै पूरा हुन सकेन । वि. सं. २०४६ सालमा प्रजातन्त्रको पुनर्स्थापना भयो। अमर सहिदका सपना अनुसार राज्यसत्ता चल्न सकेन। सत्ता प्राप्त भए पछि आफ्नो राजनैतिक आदर्शहरु सबै बिर्सिए। पार्टीमा सुकिला मुकिलाहरुको हालिमुहालि भयो। स्वार्थी समुहहरुको घात प्रतिघातले पार्टी तहस नहस भयो”, राजनीतिक शास्त्री झैं काकाले भन्दै जानुभयो, “हामी जस्ता क्रान्ति योद्धाहरु पाखा लगाईए। फरक मत राख्ने सरकार इतर आवाजहरुलाई समयमै ग्रहण गर्न र सकारात्मक ढंगवाट हल गर्न खोजिएन। आफूलाई विश्व विजेताको रुपमा बुझियो।लाठी र बुटको मात्रै होईन निहत्था जनता माथि बन्दुकको प्रयोग गर्न थालियो। जसको कारण वि. सं. २०५२ देखि देशमा अर्को सशस्त्र विद्रोह जन्मियो।“
“असमानता, अभाव, असन्तोष, भ्रष्टाचार, दमन, वेथिति र कुशासनको कारण जन्मेको सशस्त्र विद्रोहलाई नजर अन्दाज गर्दै बन्दुकको बलमा निस्तेज पार्ने असफल प्रयास राज्यले गर्यो । बिद्रोही पक्षले आफ्नो शक्ति दिन दुई गुना र रात चार गुना बिस्तार गर्दै लग्यो। फलतः राज्यले ठूलो धन जनको क्षति व्यहोर्नु पर्यो।यसै बिचमा राजपरिवारको रहस्यमय ढंगबाट विभत्स हत्या गरियो।वि. सं. २०६३ साल मङ्सिर ५ गते राज्य पक्ष र विद्रोही माओवादी पक्ष बिच विस्तृत शान्ति संझौता भयो।युद्धरत पक्षले हतियार बिसायो”, काकाको कुरासुनिरहेँ, “संविधान सभाबाट निर्वाचित जन प्रतिनिधिहरुले जनतामा सार्वभौम अधिकार सम्पन्न संविधान जारी गर्यो। अढाई सय बर्षको शाह वंशीय राजतन्त्रको अन्त्य भयो। सङ्घीय गणतान्त्रिक, धर्म निरपेक्ष, समानुपातिक समावेशी नेपाल घोषणा भयो। तथापी हज्जारौं वीर सहिदहरुको सपना अनुसार देशलाई आदर्श राज्यको रुपमा विकास गर्न सकिएन। जनताको आर्थिक अबस्था परिवर्तन भएन। एक त युद्धरत पक्षलाई निर्वाचनमा पूर्ण बहुमत प्राप्त हुन सकेन ।अर्कोतिर प्राप्त मतको आधारमा सबै पक्षलाई विश्वासमा लिएर आन्दोलनको भावना अनुसार राज्य सञ्चालन गर्न तत्कालिन नेतृत्वको कमजोरी रह्यो।नीति र नेतृत्वको सुन्दर संयोजन भएन।देशले अस्थिरताको चक्रब्युहबाट मुक्ति पाएन।“
घरमा रहेको टेलिभिजन, मोबाईल फोन र सामाजिक सञ्जालको भरमा आफूलाई अद्यावधिक गरेका काकाले निरन्तरता दिए, “अन्ततः वि. सं. २०८२ साल भाद्र २३ र २४ गते जेन-जी विद्रोह भयो। फेरि नेपाल आमाका दर्जनौं छोराछोरीहरुले प्राण उत्सर्ग गरे। दुई तिहाई जनताको समर्थन रहेको दाबी गर्ने के पी ओली नेतृत्वको गठबन्धन सरकारको अहङ्कारलाई धुलिसात बनाईदियो।प्रधानमन्त्री, मन्त्री तथा राज्य सञ्चालनका उच्च पदस्थ अधिकारीहरु हेलिकोप्टर चढेर भाग्नु पर्यो।जङ्गी अड्डाको सुरक्षा घेरा भित्र बन्दीले झैं आरक्षण लिनु पर्यो।राष्ट्रको प्रमुख प्रशासनिक केन्द्रहरु सिंह दरबार, सर्वोच्च अदालत, संसद भवन लगायत देश भरिका अधिकांश सरकारी भवन तथा सार्वजनिक संपति जलाईयो। ठूला व्यापारिक प्रतिष्ठान, ब्यक्तिगत आवासहरु बाट धनमाल लुटियो। आगजनी गरियो।क्रान्ति र विद्रोह कहिल्यै पनि नापेको, जोखेको, भरेको परिमाण झैं सिमा भित्र रहँदैन।परम्परागत मान्यताहरुलाई तोड्यो। नयाँ मूल्य स्थापित गर्यो। प्रधानमन्त्रीले राजिनामा दिए। संसद बिघटन गरियो। सर्वोच्च अदालतको पूर्व प्रधान न्यायधिस प्रधान मन्त्री बनिन्। अन्तरिम सरकारको गठन भयो।“
“अन्तरिम सरकारले फाल्गुण २१ गते संसदीय निर्वाचन गरायो।देशमा अस्तित्वमा रहेका ठूला (र पुराना भनिएका) राजनितिक पार्टीहरूको हैसियत साँघुरियो। उनीहरु प्रतिको जनताको विश्वास कमजोर देखियो। नयाँ उदियमान शक्ति राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाईको अपार जन समर्थन पायो।“ उनले भन्दै गए, “ अहिले ३६ बर्षे युवाको नेतृत्वमा सम वयस्कहरुको बाहुल्यता हुने गरी नयाँ सरकार गठन गरेको छ। यो सरकारलाई असफल हुने छुट छैन। निर्वाचन मार्फत प्राप्त विशाल दुई तिहाईको जन समर्थन यो वा त्यो नामको आन्तरिक किचलोका कारण छिन्न भिन्न हुने, जन बिरोधी क्रियाकलापमा संलग्न हुने, कथनी र करनीमा ब्यापक अन्तर विरोध नदेखिनु पर्ने थियो। तर सरकारको ध्यान सर्वप्रथम गरीव सुकुम्वासीहरुको बस्तीमा डोजर आतंक मच्चाउनेमा छ। घरवार विहीन हरुको चिल्लिविल्लि बनाई रहेको छ। प्रधानमन्त्री, मन्त्री तथा सांसदहरुको पनि अहङ्कारी र दम्भी शैली देखिन्छ। संसद प्रति अनुत्तरदायी छ। जनतासँग प्रत्यक्ष जोडिनु पर्नेमा दूरी बढेको छ्। गैर्ह जिम्मेवारपूर्ण अभिव्यक्ती र व्यवहार देखिन्छ। पुराना निषेधको नाममा मनोमानी ढंगवाट वर्खास्त र अपारदर्शी नियुक्ती बढेको छ। अनियन्त्रित मूल्य वृद्धि भएको छ। जीवनका दैनिक उपभोग्य वस्तुहरूमा समेत अस्वभाविक करको भार थपिएको छ। जनजीवन झन झन कष्टकर बनाइएको छ। यस्ता जनविरोधी कार्यहरु तुरुन्तै पुनर्विचार गरी सुधार गर्नु पर्छ।“
“म त डाँडा माथिको जून।घरले जा जा र वनले आईज भन्ने बेला भयो।एक मुठी प्राण मातृभूमिमा नै जावस् भन्ने सोचेको छु। छोरा, छोरी, नाति, नातिनी सबैले बिदेश बोलाउँछन्। बिदेश बसाई मलाई मन पर्दैन।मेरो जन्मभूमि भन्दा प्यारो संसारको कुनै ठाउँ लाग्दैन,” उनले भन्दै गए, “जहानिँया राणा शासनको अन्त्य पछि आन्दोलनकारी शक्तिको उद्देश्य अनुसार देशको राजनीति अगाडि बढ्न सकेन। निर्दलीय पञ्चायती भूत बाधक बन्यो।वि. सं. २०४६ साल पछि संसदीय प्रजातन्त्र पुनर्स्थापना भयो। ३० बर्ष सम्म आन्दोलन गर्ने पार्टीहरु सत्ता स्वार्थमा यसरी लिप्त भएकि प्रचलित संसदीय मूल्य र मान्यताहरुको पूर्ण रुपमा धज्जी उँडाउने अभ्यास गरियो। वि. सं. २०५२ देखि वि. सं. २०६२ सम्म सशस्त्र युद्ध लड्ने पार्टीले निर्वाचनबाट आफ्नो पूर्ण बहुमत पाएन। गठबन्धन सरकारको अभ्यास धेरै पटक गर्यो। आफ्नो राजनैतिक उद्देश्य अनुसार जनताको अवस्था परिवर्तन गर्न सकेन।अपितु आँफै परिवर्तन भयो । अहिले अस्थित्व सङ्कट झेलिरहेको छ।“
हँसिला बूढा मान्छे फूर्तिसाथ बोल्दै जानुभयो, “अहिले सत्तामा रहेको पार्टीको दुई तिहाई बहुमत छ। उसले चाहेको खण्डमा जन जीबिकाको सवालमा लोकप्रिय सुधारका कार्यहरु गर्न सक्छ।भ्रष्टाचारमा शून्य सहनशीलता सहित सुशासन कायम गर्न पानि सक्छ।भ्रष्टाचारको प्रमुख केन्द्र राजनीति हो। राजनीतिलाई प्रदूषित बनाउने निर्वाचन हो।टिकट पाउन देखि चुनाव जित्न सम्म ठूलो धन राशी खर्च गरिन्छ। निर्वाचित वडा सदस्य देखि प्रधान मन्त्री सम्मको प्रमुख उद्देश्य चुनावको खर्च उठाउने हुन्छ।फेरि अर्को चुनावलाई खर्च जुटाउनु पर्यो।भ्रष्टाचारको अर्को केन्द्र कर्मचारी तन्त्र पनि हो। राजनीतिलाई भ्रष्टाचारी बनाउन उत्प्रेरकको भूमिका यसले खेल्छ। त्यसैले भ्रष्टाचार नियन्त्रण गर्न जेन-जी आन्दोलनको माग बमोजिम प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको व्यबस्था गर्नुपर्छ। पूर्ण समानुपातिक प्रणाली बाट निर्वाचित सांसदहरुलाई विधान अनुमोदन गर्न मात्र लगाउनु पर्छ।संसद बाहिरका बिषय बिज्ञहरुको मन्त्री मण्डल बनाउनु पर्छ।संबिधान संशोधन गर्दा हिन्दु राज्य, इतिहासले कुँडा कर्कट बनाईसकेको सामन्ती राजतन्त्र, संघीयताको खारेजी जस्ता बेमौसमी बाजा बजाउन दुई तिहाईको दुरुपयोग गर्न थालियो भने जेन-जी सहिदहरुको काचो वायुले यिनीहरुको पनि निकट भविष्यमा अवसान गराउने निश्चित छ। आर्थिक कारोबार पूर्ण रुपमा डिजिटाईज्ड गर्नु पर्छ। कृषिमा आधुनिक प्रबिधिको अत्याधिक प्रयोग गरी हरित उत्पादनमा क्रान्ति ल्याउन सक्छ। कृषि उत्पादनमा आत्मा निर्भर भएमा यस सँग संबन्धित कारखानाहरुको प्रवर्धन हुन सक्छ। कारखानाको विकास भए रोजगारको संभावना बढ्छ।“
काकाले फेरि जोड दिएर भने, “देश मुख्यतः युवाहरुको हो। युवा उमेरले मात्र हुँदैन। बिचारले पनि हुनु पर्छ। युवाहरु सीप र प्रविधिमा निपुर्ण हुनु पर्छ। आफ्नो आस्था र विश्वास प्रति दृढ हुनू। आलोचनात्मक चेतको विकास गर्नू। आफ्नो चेतनालाई कसैको बन्धक नबनाउनू। शिष्ट र इमान्दार बन्नू।सत्यको साथ नछोड्नू।असत्यको पछि लाग्ने भीड छोड्नू। एक्लै भए पनि सत्यको पक्षमा सतिसाल झैं उभिनू।श्रम बिनाको आम्दानीको पछि नलाग्नू।मिहेनती बन्नू। आशाबादी नबन्नू।सामान्य जीवन जिउनू। उच्च बिचार राख्नू।आफ्नो मातृभूमि नबिर्सनू।माता पिता र गुरुको अनादर नगर्नू।ठूलालाई सम्मान र सानालाई माया गर्नू। म त फौजी हो बाबु। देश बिदेश धेरै घुमियो, देखियो र जानियो पनि।रुढिबादी परम्परा र अन्धविश्वास त मलाई पनि मन पर्दैन। राजनैतिक पार्टीहरुले क्रान्ति र बिद्रोहहरु पटक पतक आह्वान गरेका छन्। युवाहरुको ब्यापक सहभागिता हुने गरेको छ।राष्ट्र निर्माणको लागि उनीहरुले हाँसी हाँसी मृत्यु वरण गरेका छन्।तर अमर सहिदहरुको सपनाहरु आजसम्म पूरा भएका छैनन्।यो नभए सम्म देशमा शान्ति हुने छैन।सरकारमा को छ? गौण कुरा हो। ऊ के गर्दैछ? आन्दोलनकारीहरुको माग पूरा भए कि भएनन् प्रमुख हो।अन्यथा उनीहरुको अतृप्त आत्मले छिट्टै अर्को क्रान्तिको माग गर्न पनि सक्छ। त्यसको लागि युवाहरुले तयारी गर्न नबिर्सनू। बूढो मान्छेको तिमीलाई आशीर्वाद सम्झ।तिमी गाउँ आयौ। खुशी लाग्यो।“
म पनि युवा छु।जोश र जाँगर छ। शहरको कलेज पढेको छु।शिक्षित छु। प्रबिधि जानेको छु। राजनीति बुझेको छु।देश, विदेशको ज्ञान राख्दछु। कोही भन्दा कम छैन भन्नेमा गर्व पनि गर्दथें। तर एक सय वसन्त पार गरिसकेका धनवीर काकाको युवाको जस्तो जोश देखेँ। फौजी अनुशासन देखें। देश बिदेशका लडाईंको मोर्चाको वीरताको गाथा सुनें। आगाध राष्ट्र प्रेम अनुभव गरें।देश विकासको योजना सुनें।समाज र राजनीति प्रतिको समालोचनात्मक चेत बुझें। बिकास र क्रान्ति प्रतिको हुटहुटी देखें।औपचारिक शिक्षाको लागि विद्यालय र विश्वविद्यालयमा पाईला नटेके पनि अथाह ज्ञानको भण्डार काकासँग रहेको अनुभव गरें।महान दार्शनिकको अगाडि अबोध बालक झैं उहाँको कुरा सुनिरहें।आफ्नो युवा पन हतप्रभ भएको महसुस गरें। “कुरा सुन्नु बूढाको आगो ताप्नु मूढाको” त्यसै भनिएको होईन रहेछ भन्ने महसुस गरें। फेरि छिट्टै भेट्ने प्रण गरें। गर्हौं मनले काकासँग बिदा भएँ।