काठमाडौ, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्रको बदलिँदो आवश्यकता सम्बोधन गर्न शिक्षा प्रणालीलाई पनि समयअनुकूल परिवर्तन गर्नुपर्ने बताएका छन् ।
काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट (कुसोम) मा आयोजित १५औँ संस्करणको कुसोम रोजगारी तथा इन्टर्नसिप मेलामा विश्वविद्यालय तथा तालिम संस्थाले उद्योगको आवश्यकताअनुसार पाठ्यक्रम र शिक्षण पद्धति विकास गर्नुपर्ने बताए । उनले व्यावहारिक शिक्षा, इन्टर्नसिप, उद्यमशीलता, व्यावसायिक सीप, डिजिटल दक्षता तथा उद्योग–शैक्षिक सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । नेपालमा युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन सरकार, शैक्षिक संस्था र निजी क्षेत्रबीच बलियो सहकार्य आवश्यक रहेको अग्रवालले बताए । निजी क्षेत्रले शैक्षिक डिग्रीसँगै व्यावहारिक क्षमता, चरित्र र जिम्मेवारीबोध भएका जनशक्ति खोजिरहेको उनले बताए ।
डिग्री मात्र व्यावसायिक सफलताको आधार नभएको उल्लेख गर्दै अग्रवालले उच्च अंक वा स्वर्ण पदक प्राप्त गर्ने विद्यार्थी मात्र व्यावहारिक जीवनमा सफल हुने निश्चित नभएको बताए । वास्तविक कार्यक्षमता, समस्या समाधान गर्ने क्षमता, सञ्चार सीप र व्यवहारिक ज्ञानलाई निजी क्षेत्रले बढी महत्व दिने उनको भनाइ थियो । निजी क्षेत्रले स्पष्ट रूपमा सञ्चार गर्न सक्ने, समस्या पहिचान गरी समाधान निकाल्न सक्ने, समूहमा काम गर्न सक्ने, परिवर्तनअनुसार आफूलाई ढाल्न सक्ने र जिम्मेवारी लिन सक्ने युवालाई प्राथमिकता दिने उनले बताए । व्यवसाय विश्वासमा निर्माण हुने भएकाले प्रतिभासँगै इमानदारी र चरित्र पनि उत्तिकै महत्वपूर्ण रहेको उनको भनाइ थियो ।
बदलिँदो विश्व श्रम बजारअनुसार युवाले आफूलाई निरन्तर अद्यावधिक गर्नुपर्ने उल्लेख गर्दै उनले प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटलाइजेसन, भूमण्डलीकरण र उपभोक्ताको बदलिँदो व्यवहारले रोजगारी तथा व्यवसायको परम्परागत स्वरूपलाई तीव्र रूपमा परिवर्तन गरिरहेको बताए । अब नेपालमै बसेर विदेशका कम्पनीका लागि काम गर्ने, अन्तर्राष्ट्रिय ग्राहकलाई सेवा दिने र विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्ने अवसर नेपाली युवासँग रहेको उनको भनाई छ । विद्यार्थीले एआईलाई अनुसन्धान, उत्पादकत्व वृद्धि, सिर्जनशीलता, विश्लेषण र नवप्रवर्तनको उपकरणका रूपमा प्रयोग गर्न सिक्नुपर्ने उनले बताए ।
निजी क्षेत्रले पनि युवा प्रतिभा विकासमा थप जिम्मेवारी लिनुपर्ने र सरकारले व्यवसायमा लगानी गर्न, नवप्रवर्तन गर्न तथा विस्तार गर्न अनुकूल वातावरण निर्माण गर्नुपर्ने उनले बताए । लगानीको संरक्षण, उद्यमशीलताको प्रोत्साहन, नवप्रवर्तनको सम्मान र योग्यताको कदर हुने वातावरण निर्माण भएमा रोजगारी सिर्जना र आर्थिक समृद्धिको आधार बलियो हुने उनको भनाइ थियो । कार्यक्रममा उनले नयाँ व्यावसायिक यात्रामा प्रवेश गर्न लागेका विद्यार्थीलाई शुभकामना दिँदै युवाको भविष्यसँगै नेपालको भविष्य पनि उज्ज्वल रहेको बताए ।