ललितपुर, ललितपुर महानगरले चिकित्सक सहितको एम्बुलेन्स सेवा प्रवाह गर्ने भएको छ । महानगरले सोमबारदेखी उक्त सेवा संचालनमा ल्याएको हो ।
स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले एक कार्यक्रमका बीच सेवा शुभारम्भ गरेकी हुन् । सूचना प्राप्त भएको १५ मिनेटभित्र घरमै पुगेर चिकित्सक सहितको एम्बुलेन्स सेवा प्रवाह गर्ने महानगरले जनाएको छ । एम्बुलेन्समा अक्सिजन, एम्बुब्याग, आकस्मिक औषधिहरु, भेन्टिलेटर सहितको व्यवस्थापन गरिएको छ । यो सेवाका लागि महानगरले हाल पाँच एम्बुलेन्ससँगै चिकित्सक एवं स्वास्थ्यकर्मीसहित अत्यावश्यक मेडिसिन र उपकरणहरुको व्यवस्थापन गरेको छ ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले प्रारम्भिक, आकस्मिक र अत्यावश्यक सेवाबाट बिरामीलाई लाभान्वित गराउँदै अस्पताल पुर्याउने गरि कार्यसञ्चालन प्रणालीको सुरुआत गरेको बताए । प्रमुख महर्जनले सिटिनेटको सदस्यका रुपमा भ्रमणमा जाँदा फिलिपिन्सको माकाटीमा यस्तो किसिमको सेवा प्रवाह गरेको र त्यहाँ सफल भएको देखेपछि यहाँ पनि लागू गर्न प्रयास गरेको जानकारी दिए । महानगरले कार्यविधि निर्माण गरेर यो सेवा सुरूआत गरेको उनको भनाई छ । ‘पैसा भएर, जनशक्ति भएर मात्रै यो काम सम्भव भएको हैन, सिक्ने र व्यवहारमा उतार्ने प्रयासअन्तर्गत हामीले हरेक क्षेत्रमा नयाँनयाँ काम गरिरहेका छौँ’, उनले भने ।
कार्यक्रममा मन्त्री मेहताले स्वास्थ्य क्षेत्रमा संसारका केही देशले मात्रै लागू गर्न सकेको सेवा ललितपुर महानगरले गर्न सक्नु अत्यन्तै खुसी र राष्ट्रिय गौरवको कुरा भएको बताईन् । स्वास्थ्य क्षेत्रमा ललितपुर महानगरको यो उदाहरणीय काम संसारमा केही देशले मात्रै अवलम्बन गर्न सकेको उनको भनाई छ । प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले ललितपुर महानगरपालिकाले सुरु गरेको यो स्वास्थ्यसम्बन्धी सेवा देशभरिकै स्थानीय सरकारमध्ये अनुकरणीय र नयाँ कार्य भएको बताईन् । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा नवीसमान सिंह प्रधानले यो कार्य सुरु हुनु सकारात्मक अत्यन्तै सराहनीय भएको बताए । भेन्टिलेटर र चिकित्सक सहितको एम्बुलेन्स नयाँ कामले अस्पताल पूर्वको निःशुल्क सेवाले महानगरवासीलाई लाभान्वित गराउने उनको भनाई छ ।