आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक सिरिजमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ।बिहीबार भएको खेलमा घरेलु टोली नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गरेको हो। यसअघि पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो।नेपालले दिएको १५८ रनको लक्ष्य नेदरल्यान्ड्सले ४४.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेदरल्यान्ड्सको जितमा स्कट एडवार्ड्सले ८९ बलमा ६१ रन तथा नोह क्रोएसले ५९ बलमा ३४ रन बनाए। उनीहरूबीच पाँचौँ विकेटका लागि अविजित ८५ रनको साझेदारी भएको थियो।
नेदरल्यान्ड्सका म्याक्स ओ’डाउडलाई ९ रनमा सोमपाल कामीले आउट गरे। डि लाङ २१ रनमा दीपेन्द्रसिंह ऐरीको बलमा आउट भए। बास डि लिडे १ रनमा ललित राजवंशीबाट बोल्ड भए भने जाक लियोन २१ रनमा रनआउट भए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४४.४ ओभरमा १५७ रनमा अलआउट भएको थियो। नेपालका लागि आरिफ शेखले सर्वाधिक ४१ रन बनाए।
उनले ९० बलमा ४ चौका प्रहार गरे।ओपनर कुशल भुर्तेल ९ तथा आसिफ शेख १४ रनमा आउट भए। इशान पाण्डेले ३, कप्तान रोहित पौडेलले ४ र दीपेन्द्रसिंह ऐरीले २१ रन बनाए। गुल्सन झाले २९, सोमपाल कामीले १० तथा करण केसीले अविजित १३ रन जोडे।नेदरल्यान्ड्सका एलेक्स रोय र रोएलफ भान डेर मर्वेले ३–३ विकेट लिए भने लोगान भान बीकले २ विकेट लिए।घरेलु मैदानमा भएका पछिल्ला दुई सिरिजमा राम्रो प्रदर्शन गरेको नेपालले अवे सिरिजमा भने खराब प्रदर्शनलाई निरन्तरता दिएको छ। लिग–२ का ३० खेल खेल्दा नेपालले १७ खेलमा हार बेहोरेको छ, जसमा अधिकांश हार अवे सिरिजमा भएका छन्।