नेपाल सरकारका पूर्वसहसचिव चिरञ्जीवी खनालले पठाउनु भएको ‘खण्डन÷भनाइ सम्बन्धमा’ पत्र अध्ययन गरेपछि आर्थिक दैनिकको संवाददाताको हैसियतले निम्न भनाइ स्पष्ट गर्न चाहन्छु ।
खनालको बारेमा आर्थिक दैनिकले बनावटी समाचार लेखेको होइन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलगायतका निकायमा २०८३ असार १२ गते परेको उजुरीपत्रका आधारमा २०८३ असार २१ गते मात्र समाचार प्रकाशित गरिएको हो । खनालले भनेको जसरी २०८३/०३/११ गते समाचार प्रकाशित गरिएको होइन । समाचारमा अख्तियारमा परेको उजुरीको पत्र प्रकाशित नगरेको मात्र हो । हामीलाई प्राप्त उजुरीपत्र, दर्ता नम्बर सबै नै सुरक्षित छन् । आवश्यक परेको बेला सार्वजनिक गरौंला ।
अख्तियारमा परेको उजुरी सी–०७७०५४/२०८३/०३/१२ हो भने । आठवटा बुँदामा तीन पेज भन्दा लामो उजुरी परेको रहेछ । अख्तियारमा खनालको बारेमा हालेको उजुरीको पत्रको फोटोकपि नै पाएपछि सोही पत्र अनुसार आर्थिक दैनिकले समाचार प्रकाशित गरेको हो । उनीसँग विगत र वर्तमानसम्म व्यक्तिगत रुपमा कुनै चिनजान छैन । चिनजान, राम्रो/नराम्रो कुनै पनि व्यक्तिगत सम्बन्ध नै नभएको व्यक्तिको बारेमा पक्ष÷विपक्षमा समाचार बनाएर प्रकाशित गरिरहनुपर्ने कुनै भित्री मनसाय नै छैन । संवाददाताको हैसियतले अख्तियारको स्रोतबाट प्राप्त पत्रको आधारमा नेपाल सरकारको सहसचिव पदमा पुगेको व्यक्तिको बारेमा यस्ता प्रश्न उठाइएको रहेछ भनेर उजुरी पत्रमा जे छ त्यो मात्र पत्रकारको हैसियतले प्राप्त सूचनालाई आधार मानेर समाचार बनाएर प्रकाशित गरिएको हो ।
अख्तियारमा परेको उजुरीको आधारमा समाचार लेखेर छाप्नु चरित्रहत्या होइन । कि उजुरी नै परेको छैन भन्न सक्नु पर्यो । उजुरी नै नपरेको विषयलाई उजुरी परेको भनेर समाचार लेखेको भए अर्को सोचनीय विषय बन्न सक्थ्यो । जब उजुरी पर्छ भने उजुरी पर्यो भनेर समाचार लेख्न पाईँदैन भन्न मिल्दैन । अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेर समाचार प्रकाशित गरिएको हो । त्यसले चरित्र हत्या गर्दैन र चरित्रहत्या गर्ने मनसाय होइन, जे हो उजुरीमा त्यही मात्र समाचार बनाएको हो । समाचारमा संवाददता र आर्थिक दैनिक संस्थाले खनाल भ्रष्ट हुन भनेर धारणा बनाएर लेखेको होइन । उजुरीमा यो दाबी गरिएको छ भनेर लेखिएको छ ।
आर्थिक दैनिक खनालको परिवारलाई छिन्नभिन्न पार्ने पक्षमा छैन । यो जिकिर खनालले उजुरीकर्तासमक्ष गर्नपर्नेमा आर्थिक दैनिकसित गर्नुभएछ । उजुरीकर्ताले के के आरोप लगाएका छन्, त्यो प्रश्न उतै गर्नुपर्ने थियो । अर्कोकुरा खण्डन/भनाइ पत्रमा खनालले समाचारले आत्महत्याको दुरुत्साहन सम्मको मोडमा पुर्याउनु भएको छ भन्नुभएको छ । यो उहाँको आर्थिक दैनिकमाथि इमोससनल ब्ल्याकमेल मात्र हो । मुलुकी अपराध संहिता, २०७४ को दफा १८५ मा ‘आत्महत्या गर्न दुरुत्साहन दिन नहुने’ भन्ने उल्लेख छ । ‘आत्महत्या गर्न दुरुत्साहन’ कस्तोलाई भन्ने विषयमा नेपालको सर्वोच्च अदालतले कानुनी व्याख्या गरेर नजिर/सिद्धान्त स्थापित गरिसकेको छ । यस बारेमा आर्थिक दैनिकको संवाददाता जानकार छु । दुरुत्साहन हुन आत्महत्या गर्न उक्साउने, दबाब दिने, धम्क्याउने, बारम्बार मानसिक रुपमा त्यही दिशातर्फ धकेल्ने कार्य भएको प्रमाणित हुनुपर्छ ।
सर्वोच्च अदालतको नजिर (ने.का.प. २०७९, अंक २, निर्णय नं.१०७३७) हेर्नुहोला । साथै पछिल्लो समयको ललित जागरीविरुद्ध नेपाल सरकार भएको मुद्दाको फैसलाले आत्महत्या दुरुत्साहन के हो भनेर थप प्रष्ट पारेको छ । यसमा आर्थिक दैनिक जानकार छ तपाइँ खनाल पनि जानकार हुनुहोला र त्यो फैसला पनि हेर्नुहोला । आर्थिक दैनिकले समाचार लेख्यो, म आत्महत्या गर्छु, अनि तिमीहरूलाई आत्महत्या दुरुत्साहनको मुद्दा लाग्छ भनेर धम्क्याउने र उजुरी ढाकछोप गर्ने तरिकाले प्रस्तुत नहुनु होला । उजुरीको आधारमा समाचार प्रकाशित हुन्छ र समाचारको कारण म आत्महत्यातर्फ गएँ है भन्नु आर्थिक दैनिकलाई धम्क्याउनु र इमोसनल ब्ल्याकमेल गर्नु मात्र हो ।
अख्तियारमा कति हजार मुद्दा छ थाहा भएन । तर, तपाइँले भन्नुभएको जसरी ३३ हजार भ्रष्टाचारको मुद्दा छ भने ती उजुरीहरू प्राप्त भएपछि समाचार लेख्न कुनै समस्या भएन । तर, उजुरी दर्ता भएको प्रमाण र उजुरीको प्रतिलिपि चाहिन्छ ।
अर्कोकुरा कुनै पनि व्यक्ति कार्यसम्पादन एवं उत्कृष्ठ कर्मचारीको सम्मान हासिल गर्दैमा सधैं उत्कृष्ठ भइरहन्छ भन्ने होइन । सरकारले हरेक भदौ २२ गते निजामती सेवा दिवसमा त्यस्तो पुरस्कार दिन्छ तर २०६९ सालमा दुई लाख राशीसहितको सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार हात पार्न सफल भाइकाजी तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी सबैलाई छ । तिवारीले नेपालको इन्जिनियरिङ अध्ययन संस्थानको साथै मस्को र जर्मनीबाट समेत अध्ययन गरेका थिए । बागमती करिडोर निर्माणमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेको जानकारी होला नि ?
त्यस्तै, २०७९ साल वैशाख १ गते राष्ट्रपतिबाट प्रवल जनसेवा श्री चतुर्थबाट पुरस्कृत महत्त पनेरु मानपदवी थापेको एक साता नबित्दै घुस रकमसहित पक्राउ परिन । जिल्ला मालपोत कार्यालय ताप्लेजुङमा लेखा अधिकृत पदमा कार्यरत पनेरु एक लाख पचास हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेकी थिइन् । यसरी पुरस्कार पाउने र सम्मानित हुनेहरू कति भ्रष्टाचारमा परेका छन् भन्ने प्रशस्त उदाहरण छन् । अख्तियारकै पूर्वआयुक्तहरू भ्रष्टाचार मुद्दामा पक्राउ परेको जानकारी आर्थिक दैनिकलाई छ । तसर्थ उत्कृष्ट अख्तियार सेवा पुरस्कार जीवनभरलाई दिइएको होइन । एउटा निश्चित अवधिमा गरेको काम बापत दिइएको हो । यसमा थप कुरातर्फ नजाऔं ।
ठगीको आरोप आर्थिक दैनिकले लगाएको होइन उजुरीमा जे छ त्यो समाचार बनाएको हो । तपाईको परिवार निर्दोष नै होला । दोषी भनेर आर्थिक दैनिकले धारणा बनाएकै छैन । तर, कसैले उजुरी गर्दैमा म परीक्षामा सामेल हुँदिन, पविार विखण्डनमा गयो, आत्महत्या गर्ने अवस्था आयो भनेर उजुरीबाट नडराउनु होला । निर्दोष प्रमाणित भएको प्रमाण आयो भने समाचार बनाउन समस्या हुन्न । खनालको छोरा, छोरी, ज्वाँइ, घरको मापदण्डलगायतका विषयमा उजुरीमा जे छ त्यो मात्र समाचार प्रकाशित गरिएको हो । पत्रकार आचारसंहिताको बारेमा जानकार छौं । प्राप्त सूचनालाई समाचार बनाउनुपर्छ, समाचार बनाउने भनेर सूचना लिएपछि समाचार नबनाइ सूचना लुकाएर राख्न पाईँदैन भन्ने जानकारी पनि मलाई छ । कानुनले गोप्य राख्नुपर्ने भनेर किटान गरेको बाहेक अरु सार्वजनिक गर्नुपर्छ ।