काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी गरेको आरोपमा नेपाली कांग्रेसका नेता भरत चौलागाईं र कांग्रेसनिकट नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य बालिका शिवाकोटी पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार उनीहरूले प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गर्दै इजरायलमा केयर गिभरको रोजगारीमा पठाइदिने भन्दै रकम संकलन गरेका थिए ।
नेपाल र इजरायल सरकारबीच भएको ‘जीटुजी’ सम्झौताअनुसार केयर गिभरका लागि छनोटमा पर्न नसकेका व्यक्तिलाई समेत इजरायल पठाइदिने भन्दै उनीहरूले रकम लिएको सीआईबीको दाबी छ ।
सीआईबीका अनुसार इजरायल जानका लागि भएको ‘लक्की ड्र’मा छनोट हुन नसकेका १५६ जनाबाट प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले रकम संकलन गरिएको थियो । यसरी उनीहरूले करिब २ करोड ५० लाख रुपैयाँ ठगी गरेको प्रहरीको आरोप छ । घटनाबारे थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।