काठमाडौं, पृथ्वीराजमार्गको कृष्णभीर खण्डको मुख्य राजमार्ग पहिरोले अवरुद्ध हुँदा काठमाडौं उपत्यकामा दुई सातादेखि जारी इन्धन, खाद्यान्नलगायतका अत्यावश्यक वस्तुको चरम अभाव टार्न सरकारले ठोस कदम चाल्न सकेको छैन ।
गत १० गते भोटेकोशी/शित्रुली नदीमा आएको बाढीको कारण नुवाकोट, धादिङ, रसुवा जिल्लाका धेरै भूभाग यातायातबाट वञ्चित रहेको बेला १४ गते आइतबार आएको अर्को बाढीले गर्दा कृष्णभीरलगायतका विभिन्न स्थानमा त्रिशुली नदीले कटान गरेको छ । नुवाकोट जिल्लाको रातमाटे क्षेत्रमा पनि त्रिशुली नदीले कटान गर्दा गल्छी–देवीघाट खण्ड पूर्णतः अवरुद्ध नै छ ।
पृथ्वीराजमार्ग अवरुद्ध भएपछि पेट्रोलिय पदार्थ, खाद्यान्नलगायतका अत्यावश्यक वस्तु काठमाडौं ल्याउनका लागि सरकारले त्रिभुवन राजपथ प्रयोग गर्न सुझाव दिएको छ । तर, साँघुर भएको कारण उक्त सडक यात्रा सहज छैन । यात्रा सहज नभएको कारण काठमाडौंमा खाना पकाउने ग्यासको अभाव दिनहुँ चर्किदै गएको छ ।
त्यस्तै, खाद्यान्न, तरकारी, फलफूलको पनि मूल्यवृद्धि अत्यधिक छ । ग्यास त महंगोमा खरिद गर्छु भन्दा पनि पाउने अवस्था छैन ।
युवा नेतृत्वको सरकारले राजमार्ग अवरुद्धमा अत्यावश्यक वस्तुहरुको यति अभाव सिर्जना गर्छ भन्ने कसैले पनि सोचेको थिएन । आम नागरिकको सोच भन्दा पनि बाहिर गएर चरम अभाव सिर्जना भएपछि वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारप्रति जनतामा निराशा बढ्दै गएको छ ।
राजमार्ग अवरुद्ध भएको यो अवधिमा दुई लाख ३३ हजार भन्दा बढी ग्यास सिलिन्डर काठमाडौं भित्रिएको दाबी सरकारको रहे पनि उपभोक्ताहरुले सहज रूपमा ग्यास पाएका छैनन् । अहिले पनि कुपन लिएका ग्राहकहरुले एक महिना अगाडि ग्यास पाउने अवस्था छैन । कृष्णभीरबाट ग्यास बुलेटहरु आउन नसकेपछि विभिन्न कम्पनीहरुले तराईमा गएर ग्यास रिफिल गरेर ल्याउने गरेका छन् । तर,
त्यो आयातले ग्राहकको माग धान्न सकेको छैन । सरकारले यातायात सहज बनाउन नसकेको कारण खाद्यान्नलयायत अन्य अत्यावश्यक वस्तुको मूल्य पनि वृद्धि भएको छ । सरकारले यही ३१ गतेसम्म उक्त कृष्णभीर खण्डमा यातायात सञ्चालन गराउन सकिने दाबी गरेको
छ ।