दोलखा, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको राहत तथा उद्धारका लागि दोलखाका १३ वटा सहकारी संस्थाले ११ लाख ३२ हजार ८सय ४२ रुपैयाँ सहयोग गरेका छन् ।
रसुवा–भोटेकोशी नदी हुँदै त्रिशूलीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्याएको छ । सो जिल्लाका बाढी पीडितहरूको लागि सहकारी संस्थाहरूले प्रधानमन्त्री राहत कोषमा रकम जम्मा गरेका हुन् ।
जनसचेतन साकोस, जनजागरण साकोस, अर्थभूमि साकोस, मिलिजुली कालिञ्चोक साकोस, आनन्ददायक बहुउद्देश्यीय सहकारी, शिक्षक कल्याण साकोस, हाम्रो जनकल्याण साकोस, छोरोङ्ला साकोस, सिर्जना साकोस, एकीकृत फ्रेन्डसिप साकोस, जनहित च्छोरोङ्ला बहुउद्देश्यीय सहकारी, परोपकार महिला साकोस र नव जनउत्थान साकोसले रकम जम्मा गरेका हुन् । विपद्को समयमा पीडितको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्नु सहकारी क्षेत्रको सामाजिक दायित्व भएको उनीहरूको भनाइ छ ।
बाढी प्रभावित क्षेत्रमा जिरीले १७ लाख ८५ हजार दिने
दोलखा जिल्लाको जिरी नगरपालिकाले पनि बाढीपीडितहरूको लागि आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । नगरपालिकाले रसुवा बाढीप्रभावितको सहयोगका लागि १७ लाख ८५ हजार रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय गरेको हो । नगरकार्यपालिकाको बैठकले उक्त निर्णय गरेको नगरप्रमुख मित्र बहादुर जिरेलले जानकारी दिए । बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापना कार्यमा सहयोगका लागि सहयोग गरिएको उनले बताए ।
नगरपालिकाले जिरी नगरपालिकाभित्र स्थायी बसोबास भई भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई पनि राहत दिने निर्णय गरेको छ । बाढीमा बेपत्ता भएका नगरपालिकाभित्रका नागरिकलाई प्रतिपरिवार ५० हजार राहत उपलब्ध गराउने निर्णय गरेको हो । यस अघि भीमेश्वर नगरपालिकाले ३० लाख ६२ हजार र वैतेश्वर गाउँपालिकाले ७ लाख ७० हजार राहत उपलब्ध गराउने निर्णय गरेको थियो ।