काठमाडौं, एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै पहिलोपटक वार्षिक खुद नाफा चार अर्बभन्दा माथि पुर्याएको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ४० दशमलव ६५ प्रतिशतले नाफा वृद्धि गर्दै चार अर्ब एक करोड खुद नाफा आर्जन गर्न सफल भएको हो ।
बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा दुई अर्ब ८५ करोड खुद नाफा रहेको थियो । यस वर्षको उल्लेखनीय वित्तीय प्रदर्शनसँगै बैंकले आफ्नो इतिहासमै पहिलोपटक चार अर्बको नाफाको कोसेढुङ्गा पार गरेको हो । वित्तीय विवरणअनुसार बैंकको कुल वितरणयोग्य नाफा एक अर्ब ८७ करोड पुगेको छ भने प्रति सेयर वितरणयोग्य नाफा नौ रुपैयाँ आठ पैसा कायम भएको छ ।
प्रभावकारी स्रोत तथा दायित्व व्यवस्थापनका कारण बैंकको खुद ब्याज आम्दानी १७ दशमलव ५५ प्रतिशतले वृद्धि भई नौ अर्ब ४२ करोड पुगेको छ । त्यसैगरी डिजिटल तथा ट्रान्ज्याक्सन बैंकिङ सेवाको विस्तारसँगै शुल्क तथा कमिसन आम्दानी १६ दशमलव ६५ प्रतिशतले बढेर दुई अर्ब ८३ करोड पुगेको बैंकले जनाएको छ । ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा सुधार आएपछि बैंकको खुद ट्रेडिङ आम्दानी पनि उल्लेखनीय रूपमा बढेको छ ।