काठमाडौं,एपीएफ स्कुलमा भएको घोटालामा वर्तमान सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलको पनि संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ । आईजीपी हुनुअघि पौडेल प्रशासन प्रमुख रहेको र एपीएफले सञ्चालन गर्दै आएको एपीएफ स्कुल, एपीएफ हस्पिटल, एपीएफ पम्प र एपीएफ सुपथ मूल्य पसल एपीएफ प्रशासन प्रमुखको अन्तर्गत सञ्चालन हुने भएकाले यस्तो शंका गरिएको हो । प्रशासन प्रमुखको अन्तर्गत एपीएफमा कल्याणकारी सेवा केन्द्र भन्ने शाखा छ । त्यसले यी चारवटा संस्थालाई प्रत्यक्ष रूपमा सञ्चालन र नियमन गर्ने गर्दछ । कल्याणकारी शाखामा त्यतिबेला महेन्द्र हमाल प्रमुख रहेका थिए । उनी पौडेलका विश्वास पात्र मानिन्छन् । हमालअन्तर्गत स्कुल हेर्ने जिम्माचाहिँ नील बहादुर श्रेष्ठले पाएका थिए । कोषराज पन्त आईजीपी हुँदा भ्रष्टाचारमा परेर ३२ महिना निलम्बनमा परेका श्रेष्ठलाई पन्तले चोख्याएर ल्याएका थिए । पछि हिसाबकिताब मिलाउन सक्ने व्याक्ति भनेर त्यहाँ लगेर स्कुल हेर्ने जिम्मा लगाइएको थियो ।
यी चारवटा संस्थाकोे दैनिक रूपमा बुझाउनुपर्ने हिसाब वर्षौँसम्म लुकाएर भ्रष्टाचार गरिएकाले आईजीपीसम्म पुग्न सक्ने आशंका गरिएको छ । अहिलेसम्म स्कुलकी कल्पना गुरुङबाहेक अरु कसैलाई निलम्बन समेत गरिएको छैन जब कि उक्त भ्रष्टाचारसम्बन्धी फायल तलमाथि गर्नसक्ने हमला श्रेष्ठलाई तत्काल निलम्बन गर्नुपर्ने थियो । आईजी वंशी दाहालले प्रशासनको कार्यभार बुझेपछि घटना सतहमा आएको हो । उनी नआउँदासम्म पौडेल नै प्रशासन प्रमुख थिए र उनले भ्रष्टाचारको यो घटनालाई संरक्षण गरेर राखेको लगभग प्रस्टै देखिन्छ ।पौडेल आईजीपी भएर प्रतिस्पर्धी दाहाल आउँदा पनि नियमनका मुल पात्रहरूमाथि छानबिन नगरिनुले आईजीपी पौडेलको संलग्नताको आशंकालाई झन् प्रबल बनाएको छ । अर्को रोचक कुरा के छ भने हमालको छोरो यसअघिको व्याजमा एपीएफ स्कुलमा पढेर बिदा हुने बारेमा सहपाठीहरूले पक्षपातको आरोप लगाएर रामधुलाइ गरेर बिदाइ गरेका थिए ।
त्यतिबेला इन्सपेक्टर कल्पनाले हमालको छोलालाई खानबस्न विशेष सुविधा प्रदान गरेकी थिइन् । आफ्नो मातहत भएको त्यो सेटिङ र भ्रष्टाचार दिनदिनै बुझबुझारर्थ हुनुपर्ने हिसाबकिताब मिलान नभएकोले घटना थाहा नभएर भन्दा पनि तत्कालीन प्रशासन प्रमुख पौडेलले आँखा चिम्लिएर देखेको नदेख्यै गरेर बसेका थिए । इन्सपेक्टर कल्पनाले गरेको भनिएको ११ करोड भ्रष्टाचारको उक्त घटनामा जोडिएका हमाल र श्रेठजस्ता पात्रमाथि अहिलेसम्म छानबिन अघि नबढ्नुले पनि आईजीपी पौडेलले आफ्नो पोल खुल्ने डरले केही नगरेको हो भन्ने आशंका बढाएको छ ।
कल्याणकारी सेवा केन्द्रका डीएसपी महेन्द्र हमालले स्कुलको समयमा रकम दाखिला भए÷नभएको भन्ने स्कुल कमान्डेन्टको पत्र सेवाकेन्द्रका इन्सपेक्टर तत्कालीन समयका सई नीलबहादुर श्रेष्ठले लुकाएर राखेका थिए । हाल उनै हमाल कल्याणकारी सेवा केन्द्रका प्रमुख र श्रेष्ठ हमालका सहायक रहेका छन् । विभागले करिब एक महिना समय दिएको र अन्तिम एक महिना समयावधि दिएर स्कुलको पैसा समयमा फिर्ता गर्न निर्देशन दिएको थियो ।बाहिर अनियमितताको सूचना चुहिएपछि सशस्त्र प्रहरी बलको मुख्यालयले कानुन नर्देशनालयका तात्कालीक एसएसपी (हाल डीआईजी) युवराज अर्यालको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । छानबिनका क्रममा करिब तीन महिनामा विद्यालयको रकम फिर्ता गर्न समय दिए । समयावधि दिएको भए पनि स्कुलको पैसा समयमा फिर्ता नभएपछि अतिरिक्त थप एक महिनामा अल्टिमेटम दिएको थियो । महेन्द्र हमालका छोरा शेषन हमालले २०८२ सालमा एपीएफ स्कुलबाट एसईईसम्मको अध्ययन पूरा गरी माध्यामिक तहको अध्ययनका लागि निस्केका छन् ।
महेन्द्र हमालका छोरा शेषन हमालले एपीएफ स्कुलबाट २०८२ सालमा एपीएफ स्कुलबाट एसईईसम्मको अध्ययन पूरा गरी माध्यामिक तहको अध्ययनका लागि निस्केको । हमालको छोरालाई बिदाको समयमा घर लगिदिनेदेखि अतिरिक्त डाइट र खानपिन इन्सपेक्टर कल्पना गुरुङको कोठामा हुनेगरेको जानकारहरू बताउँछन् ।२०६१ सालदेखि सशस्त्र प्रहरीको मुख्यालयको केन्द्रीय लेखा शाखामा काम गरेकी उनले करिब तीन वर्ष मुख्यालयको इन्धन व्यवस्थापनको काम गरेकी थिइन् । उनले दैनिक एक लाखभन्दा बढीको अतिरिक्त इन्धन खर्चको बिल बनाएपछि शाखा प्रमुख डीएसपी महेन्द्रबहादुर कार्कीले त्यसबेलाका आईजीपी शहवीर थापालाई चुक्ली लाएका थिए । उनले महिला शक्तिको प्रयोग गरी डीएसपी कार्कीलाई बजेट शाखामा सरुवा गरेर कार्कीका सहायक इन्सपेक्टर बीनबहादुर थापालाई लेखा शाखा प्रमुख बनाएकी थिइन् । त्यसपछि प्राय डीएसपी र एसपी मालदार ठाउँमा सरुवाको लागि प्राय गुरुङको सहारा लिन थालेको बताइन्छ ।उनी एक वर्ष कार्य विभागको लेखापाल भएभन्दा बाहेक अधिकांश समय मालदार भनेर चिनिएको प्रधान कार्यालयको केन्द्रीय लेखा शाखामा रहेकी थिइन् ।
एपीएफ हस्पिटलमा पनि भ्रष्टाचार
सशस्त्र प्रहरी बलले सञ्चालन गरेको एपीएफ स्कुलमा ११ करोड रुपैयाँ भ्रष्टाचार भएको घटना सतहमा आएपछि एपीएफ हस्पिटलमा पनि भ्रष्टाचार भएको भनेर छानबिन सुरु गरिएको थाहा भएको छ । सशस्त्र प्रहरी बलको कानुन शाखाका डीआईजी युवराज अर्यालले एपीएफ हस्पिटलमा भएको भ्रष्टाचारमाथि छानबिन थालेका हुन् । लामो समयदेखि एपीएफ हस्पिटलमा रजगज गरेर बसेका डीएसपी गणेश मल्ल र सई नरेन्द्र चन्दले अस्पतालमा महंगो औषधि नै नल्याई हिसाबमा बिल मात्रै इन्ट्री गरेर भ्रष्टाचार गरेको उजुरीको आधारमा छानबिन थालिएको समाचार स्रोतको दाबी रहेको छ । डीएसपी मल्ल र सई चन्द दुवै जना आईजीपी नारायणदत्त पौडेलका निकट मानिन्छन् ।