काठमाडौं, रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका परिवारलाई के एल दुगड ग्रुपले खाद्यान्न सामग्री सहयोग गरेको छ । के एल दुगड ग्रुपले पहिलो चरणमा तत्काल रसुवा र नुवाकोटका बाढीबाट प्रभावित परिवारका लागि दुई ट्रक खाद्यान्न सामग्री राहत विदुरस्थित जिल्ला समन्वय समितिको कार्यालयमा हस्तान्तरण गरेको जनाएको हो ।
उक्त सामग्री जिल्ला प्रशासन कार्यालयका प्रशासन अधिकृत होमनाथ दाहालको उपस्थितिमा हस्तान्तरण गरिएको थियो । राहत सामग्रीमा प्रभावित परिवारका लागि तत्काल आवश्यक चामल, दाल, नुन, गहुँको पिठो, खाने तेल, बिस्कुट, चिउरा, विभिन्न मसलालगायत दैनिक उपभोगका अत्यावश्यक खाद्य सामग्री समावेश गरिएको थियो ।
विपद्का कारण दैनिक जीवनयापनसमेत प्रभावित बनेका परिवारलाई तत्काल आवश्यक खाद्य सामग्री उपलब्ध गराई कठिन समयमा केही राहत पुर्याउने उद्देश्यले ग्रुपले सहयोग गरेको जनाएको छ । विपद्ले सिर्जना गरेको कठिन परिस्थितिमा खाद्यान्नजस्ता आधारभूत आवश्यकतासमेत प्रभावित परिवारका लागि चुनौतीपूर्ण बनेको अवस्थामा उनीहरूको दैनिकीमा केही सहजता ल्याउने उद्देश्यले राहत सामग्री उपलब्ध गराइएको के एल दुगड ग्रुपले जनाएको छ ।