काठमाडौं, नेपाल टेलिकमले बाढी प्रभावित जिल्लाहरूमा मोबाइल बीटीएस साइट सुचारु गरी प्रभावित सबै स्थानहरूमा पूर्ण रुपमा नेटवर्क पहुँच कायम गरेको छ ।
गत भदौ १० गते आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लाहरूमा नेपाल टेलिकमका टावरहरूबाट प्रदान गरिएको मोबाइल तथा इन्टरनेट सेवा अवरुद्ध भएको थियो । ती सबै स्थानमा कम्पनीले सेवा संचालनमा ल्याएको हो । कम्पनीका अनुसार सेवा संचालनको लागि बाढीले सडक तथा विद्युत अवरुद्ध भएका स्थानहरूमा सुरक्षा निकायको समन्वयमा हेलिकप्टर मार्फत प्राविधकहरू सहित सामान, उपकरण, जेनेरेटर तथा इन्धन ढुवानी गराईएको थियो ।
भदौ १४ गते नै कम्पनीले नेपाल–चीन सिमाना नजिक रहेको कम्पनीको रसुवा बोर्डर मोबाइल साइट सञ्चालनमा ल्याएको थियो । बाढीका कारण नेपाल टेलिकमका रसुवा, नुवाकोट र धादिङ जिल्लाका १२० साइटमार्फत सञ्चालित सेवा मध्ये ८३ साइटमार्फत सञ्चालित सेवाहरू अवरुद्ध भएका थिए भने तीनवटा साइटहरू टिमुरे, चिलिमे खोला र त्रिशूली ३‘बी’ साइट पूर्ण रुपमा क्षतिग्रस्त भएका थिए ।
नेपाल टेलिकमले मंगलबार बाढीबाट प्रभावित धादिङको कल्लेरी र नुवाकोटको भद्रटार थाप्रेक, पुसनटार, तारुका, किस्पाङ (भाल्चे) र बुधसिंह साइट सुचारु गरेसँगै नेपाल टेलिकमका सबै साइटहरू सुचारु भएका छन् । कम्पनीका अनुसार कतिपय स्थानका साइटहरू विद्युत सेवा आपूर्तिको सहजतासँगै स्वतः सञ्चालनमा आएका थिए । पूर्ण रुपमा क्षतिग्रस्त भएका साइटहरूबाट उपलब्ध सेवाहरू हाल अन्य साइटहरूबाट उपलब्ध गराइएका छन् । मोबाइल सेवाको थप प्रभावकारिताको लागि उक्त क्षतिग्रस्त साइटहरूलाई प्राथमिकतामा राखी पुनःनिर्माण गरी सञ्चालनमा ल्याइने कम्पनीले जनाएको छ । यस्तै फोरजी सेवाको प्रभावकारिता समेत वृद्धि हुँदै गएको कम्पनीको भनाई छ ।