काठमाडौं, रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितको सहयोगको लागी एके राठी ग्रुप र सारडा ग्रुपले संयुक्त रूपमा एक करोड एक लाख रुपैयाँ सहयोग गरेका छन् ।
बाढीपीडितको राहत, पुनस्थरपना तथा पुनर्निर्माणमा सहयोग गर्न उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो । एके राठी ग्रुपका निर्देशक तथा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले सोमबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई एक करोड एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् । चेक हस्तान्तरणका क्रममा दुवै औद्योगिक समूहका प्रतिनिधिले प्राकृतिक विपत्ति र राष्ट्रिय संकटका समयमा निजी क्षेत्र सरकारको सहकार्यमा निरन्तर सक्रिय रहँदै आएको बताए ।
आगामी दिनमा समेत विपद् व्यवस्थापन, राहत तथा पुनर्निर्माणका कार्यमा सरकारसँग सहकार्य र सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता पनि जनाए । सारडा ग्रुपका अध्यक्ष शिवरतन सारडाले विपद्बाट उत्पन्न मानवीय संकट समाधानका लागि सरकारी प्रयाससँगै निजी क्षेत्र र सामाजिक संघसंस्थाको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहने बताए ।
एके राठी ग्रुपका निर्देशक अनुपम राठीले पनि प्राकृतिक प्रकोपबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनामा सबै पक्ष एकजुट हुनुपर्ने आवश्यकता औंल्याए । बाढीपीडितको सहयोगका लागि सारडा ग्रुपले अन्य मानवीय सहायता कार्यक्रम पनि सञ्चालन गरेको जनाएको छ । समूहको वार्षिकोत्सवका अवसरमा आइतबार विराटनगर र काठमाडौंमा बाढीपीडित तथा घाइतेको उपचारका लागि १५० पिन्ट रगत संकलन गरिएको थियो ।