विराटनगर, विराटनगरको हाटखोला बजारस्थित रहेको जिल्ला कारागार मोरङमा सोमबार बिहानैबाट कैदीबन्दिको खानतलासी सुरु भएपछी कैदिबीन्दहरुद्वारा कारागाभित्रै नाराबाजी र तोडफोड गरेका छन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, मोरङ प्रहरी प्रमुख एसपी कवित कटवाल लगायत जिल्ला सुरक्षा समितिका पदाधिकारीको उपस्थितिमा कारागारमा सोमबार बिहान पाँच बजेदेखि नै कैदिबन्दिको खानतलासी सुरु गरिएको थियो । कारागार भित्र कैदिबन्दिहरुले लागुऔषध लगायतका अवैध वस्तु राख्ने गरेको विशेष सूचनाका आधारमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेर कैदिहरुको खानतलासी गरिएको हो । सोही खानतलासीको विषयलाई लिएर कैदिबन्दीहरुका बीचमा भागदौड मच्चिएको थियो भने नाराबाजी समेत भएको थियो ।
मोरंग प्रहरी एसपी कटवालले कारागारमा रहेका कैदिहरुको खानतलासीलाई नियमित कार्य भएको बताए । उनले कारागारमा बेला–बेला खानतलासी र सर्च गर्ने गरिएको जानकारी दिए । तर प्रहरीले कारागारबाट कुनै अवैध वस्तु फेला नपारेको बताइएको छ । प्रहरीले खानतलासीसँगै कारागारका केही कैदीबन्दीको स्थानान्तरणको तयारी गरेको छ ।
केही दिन अगाडी मात्रै रिहा भएका आपराधिक पृष्ठभूमिका अभिषेक गिरीसँग निकट रहेकाहरूलाई अन्यत्र कारागारमा सार्न खोजिएको हो । स्रोतका अनुसार कारागारभित्र रहेर अभिषेक गिरीलाई सहयोग गरिरहेका १५ जना बढी कैदीबन्दीलाई सार्न खोजिएको थियो । तर, कारागारमा खानतलासी सुरु भएसँगै (बी) ब्लकका कैदीबन्दी आन्दोलित भएका थिए । खानतलासीसँगै कैदीबन्दीको स्थानान्तरण गर्ने तयारी भइरहेको बुझेपछि त्यसको विरोधमा उनीहरू प्रदर्शन र नाराबाजीमा उत्रिएको स्रोतको दाबी छ । उनीहरू कारागारभित्रै आगो बालेर विरोधमा उत्रिएपछी कारागार भित्रको आगो दमकलको सहयोगमा निभाइएको थियो ।
कारागार भित्रै आन्दोलनमा उत्रिएका कैदीबन्दीले (बी) ब्लकमा सुरक्षाकर्मीलाई प्रवेश गर्न दिइरहेका थिएनन् । भित्रबाट तालाबन्दी गरेर उनीहरूले प्रदर्शन र नाराबाजी गरेका थिए । यद्यपि, बल प्रयोग गरेर भएपनि भित्र प्रवेश गर्ने र गिरीलाई सहयोग गरिरहेका कैदीबन्दीलाई स्थानान्तरण गर्ने मोरंग प्रहरीले तयारी गरेको थियो । मोरङ कारागारका कैदीबन्दीले लत्ताकपडा बापत पाउँदै आएको सरकारी भत्ता कब्जा गरेको आरोपमा यसअघि गत असार १३ गते गिरी पक्राउ परेका थिए । आपराधिक विश्वासघात, ठगी मुद्दामा सीआईबीले पक्राउ गरी मुद्दा दर्ता गर्दा समेत जाहेरवालासँग सहमति गरेर उनी अहिले छुटिसकेका छन् ।