विज्ञान र प्रविधिको विकासले विश्व नै खुम्चिँदै गएको छ । कुनै एक देशमा भएका घटनाहरू क्षणभरमा संसारभरि फैलिएका हुन्छन् । त्यस्तै कुनै एक ठाउँको मानिस एकै छिनमा अर्को देशमा पुगेको हुन्छ । यसरी विश्वलाई नै एउटा घरको रुपमा लिन सकिन्छ । विश्व खुम्चिँदै गएको हुनाले मानिसका गतिविधिहरू पनि परिवर्तन हुनु स्वाभाविक नै हो । त्यसैले गर्दा अहिले विश्व अर्थतन्त्र तिब्र रुपमा परिवर्तन हुँदै गएको छ ।
अहिले सूचना तथा सञ्चारको विकास र इन्टरनेटको पहुँचको कारणले गर्दा श्रम बजारमा पनि ठूलो परिवर्तन आएको छ । मानिसको हत्केलामा भएको एउटा सानो उपकरणको मद्दतबाट मानिसले पत्याउनै नसकिने धेरै कामहरू सम्पन्न भएका छन् । व्यापार, व्यवसाय, शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता काम इन्टरनेटको माध्यमबाट कुनै निश्चित ठाउँबाटै सम्पादन गर्न सम्भव भएका छन् र कर्मचारीको उपस्थितिको आवश्यकता पर्दैन । यसरी कुनै पनि रोजगारदाता र वेतनधारीको भेटघाट नभईकन पनि संगठन र वेतनधारीको उद्देश्य परिपूर्ति हुने जुन अवधारणा विकास भएको छ त्यस किसिमको अर्थतन्त्रलाई गिग अर्थतन्त्र भनिन्छ र यो इन्टरनेट वा डिजिटल प्रणालीमा आधारित भएको हुन्छ ।
गिग अर्थतन्त्रले कुनै निश्चित वा अस्थायी कामलाई जनाउँछ । त्यसैले यस अर्थतन्त्रअन्तर्गत सञ्चालन हुने काम र कर्मचारीहरू अस्थायी प्रकृतिका हुन्छन् । गिग अर्थतन्त्र स्थायी रोजगारीको ठिक विपरित हुन्छ किनकि यसको प्रकृति नै अस्थायी हुन्छ ।
अहिले विश्वभर नै गिग अर्थतन्त्र फैलिएको देखिन्छ । कुनै पनि श्रमिकले आफ्नो आवश्यकताअनुसार काम गर्न सक्दछ भने रोजगारदाताले पनि छोटो अवधिमा निश्चित काम गराउन सक्ने भएकोले समय र रकमको दृष्टिकोणबाट दुवै पक्ष लाभान्वित हुन सक्दछन् ।
गिग अर्थतन्त्र खास गरेर इन्टरनेट र स्मार्ट फोनमा आधारित हुन्छ । यसमा संगठनको आवश्यकताअनुसार विभिन्न एप्सहरूको प्रयोग गर्न सकिने भएकोले अपेक्षित उपलब्धि हुन सक्दछ । अर्को कुरा यो प्रविधिमा आधारित हुने भएकोले जस्तो इन्पुट दिइन्छ सोही अनुसारको नतिजा प्राप्त हुने हुँदा मानवीय प्रभाव हुँदैन भने पनि हुन्छ । किनभने प्रविधि भनेको जहिले पनि निष्पक्ष हुन्छ र यसले मोलाहिजा गर्दैन ।
गिग अर्थतन्त्रको उपयोगिता बढ्दै जानुमा मूलतः यसमा लचकता हुन्छ । कर्मचारीहरूले आफ्नो अनुकूलबमोजिम काम र समयको छनोट गर्न सक्दछन् । अर्को कुरा कुनै पनि कर्मचारी रोजगारदातासँग स्थायी रुपमा आबद्ध हुनु पर्दैन र उनीहरू स्वतन्त्र हुन्छन् । जुन काममा आफू आबद्ध भएको हो त्यही कामसँग मात्र जिम्मेवार हुनुपर्ने भएकोले कर्मचारीहरू माथि कामको दबाब पर्दैन ।
गिग अर्थतन्त्र धेरै सजिलो पनि हुन्छ । मोबाइल एप र वेबसाइटको सहयोगबाट मात्र पनि धेरै ज्ञान प्राप्त गर्न सकिन्छ । अपेक्षित उपलब्धि हासिल गर्न पनि सजिलो हुन्छ । यसको देशगत, वस्तुगत र सेवागतको सिमितता नहुने भएकोले एक देशमा बसेर अर्को देशको काम सजिलै गर्न सकिन्छ । कामको उपलब्धिको आधारमा पारिश्रमिक प्राप्त हुने भएकोले पनि यसको सेवा क्षेत्र विस्तार हुँदै गएको छ । कुनै एक व्यक्तिले विभिन्न देशमा रहेका एकभन्दा बढी कम्पनीहरूसँग काम गर्न सक्ने भएकोले राम्रो पारिश्रमिक पनि लिन सक्ने हुन्छन् ।
गिग अर्थतन्त्रका विभिन्न क्षेत्रहरू हुन्छन् । जसले गर्दा राष्ट्रिय अर्थतन्त्रको विस्तार हुन जान्छ । यो मूलतः अनलाइन अथवा इन्टरनेट सेवामा आधारित हुने भएकोले विकास तथा निर्माणसँग त्यति सम्बन्धित भएका हुँदैनन् । अनलाइन प्रशिक्षण, तालिम, फ्रिल्यान्स, वेबसाइट निर्माण, सफ्टवेयर निर्माण, सामान डेलिभरी, विश्लेषण, पठाओ, उभर, ग्याङ्गो, राइड सेयरिङजस्ता क्षेत्रहरूमा बढी प्रभावकारी हुन्छन् ।
गिग अर्थतन्त्रले सरकारी कामलाई निकै घटाइदिएको छ । अर्थात् सरकारी सेवा वा रोजगारी घटेको अवस्था छ । अर्कोतर्फ निजी क्षेत्रमा रोजगारी विस्तार हुँदै गएको छ । एउटा सिङ्गो कामलाई विभिन्न टुक्रामा विभाजन गरेर विज्ञता र क्षमताको आधारमा दिइने हुनाले रोजगारदाताले वित्तीय साधन स्रोतको अधिकतम उपयोग गरेर बढी से बढी लाभ लिन सक्दछ । एउटा कामलाई खण्डीकरण गर्दा धेरै मानिसहरू ले रोजगारी प्राप्त गर्न सक्दछन् । यसरी राज्य बेरोजगारीको समस्याबाट मुक्त हुन सक्दछ ।
पूर्ण रोजगारी पाएकाहरूले पनि सानोतिनो काम पार्ट टाइमको रुपमा गर्न सक्दछन् । त्यस्तै गरेर नेपालमै बसेर पनि देश विदेशको काम अनलाइनबाट गर्न सक्ने भएकोले देशमा विदेशी मुद्राको आयात बढ्छ । सञ्चित मुद्राले देशको अर्थतन्त्र मजबुत हुने संकेत गर्दछ । कर्मचारीको सीप विकास, संगठनको लागतमा कमी र नयाँनयाँ कुराहरूको प्रादुर्भाव हुने भएकोले पनि अहिले गिग अर्थतन्त्रको महत्व बढ्दै गएकोे अवस्था छ । यसको मुख्य पक्ष भनेको जति काम गर्न सक्यो उति पारिश्रमिक बढ्ने भएकोले रोजगारीको लागि अन्य विकल्प खोज्ने आवश्यकता पनि हुँदैन ।
गिग अर्थतन्त्र इन्टरनेट एवं डिजिटल प्रणालीमा आधारित हुने भएकोले पनि फ्रिल्यान्स, डिजाइन, कृत्रिम बुद्धिमत्ता, खाद्यान्न डेलिभरी, भिडियो सम्पादन आदि क्षेत्रमा काम गर्न सजिलो हुन्छ ।
गिग अर्थतन्त्रमा सबै कुरा राम्रा मात्र हुन्छन् भन्न सकिँदैन । यसका पनि कतिपय सीमितता हुन्छन् । घरैबाट विभिन्न मुलुकहरू को काम गर्न सकिने र पारिश्रमिक पनि राम्रो हुने भए पनि दीर्घकालीन र स्थिर रोजगारी भने हुँदैन । अस्थायी एवं पटके काम हुनाले जुनसुकै समयमा पनि सेवाबाट बाहिरिनु पर्ने हुन्छ । त्यसैले यसमा रोजगारीको स्थायित्व हुँदैन र असुरक्षा भई नै रहन्छ ।
सार्वजनिक सेवा वा कुनै वैधानिक संगठित संस्थामा काम गर्ने कर्मचारीलाई सेवामा रहँदा वा सेवा निवृत्त पछि पनि बिदा, औषधि उपचार, निवृत्त भरण, बीमा, सञ्चय कोष, कल्याणकारी कोषलगायतका विभिन्न आर्थिक सुविधा उपलब्ध हुन्छन् । तर गिग अर्थतन्त्रमा कुनै पनि कर्मचारीले केही पनि सुविधा प्राप्त गर्न सक्दैनन् । किनभने कामको प्रकृति नै अस्थायी हुन्छ र कानुनी प्रावधान पनि हुदैन ।
स्थायी सेवामा पाउने पारिश्रमिक निश्चित हुने भएकाले आम्दानीप्रति कर्मचारी ढुक्क हुन सक्दछन् । यसमा कामको परिमाणअनुसार पारिश्रमिक प्राप्त हुने भएकोले प्रत्येक महिनामा फरक फरक हुन सक्दछ ।
अहिले इन्टरनेटमा आधारित डिजिटल काम विश्वमा नै प्रतिस्पर्धि हुन गएको छ । तुलनात्मक रुपमा कार्यालयमा उपस्थितिको आवश्यकता नहुने भएकोले कामदार बीच प्रतिस्पर्धा बढ्दै गएको छ । यसले गर्दा काम उपलब्ध हुन सक्छ भन्ने कुरामा विश्वस्त हुन सकिदैन ।
गिग अर्थतन्त्रको आवश्यकता र महत्व बढ्दै गएको भए पनि यसलाई व्यवस्थित र बढी लाभदायी बनाउन भने सकिएको छैन । अहिले पनि कानुनी झन्झट विद्यमान छन् । कामदारहरूले कामको खोजी गर्नु नै पर्दछ । कामको पारिश्रमिक दरको न्यून देखिन्छ भने अर्कोतिर संगठन पिच्छे फरक हुन्छ । यसले गर्दा श्रमिकहरू शोषित भएको अवस्था छ ।
विश्व अर्थतन्त्रमा गिग अर्थतन्त्र विस्तार हुँदै गएकोले यसको सकारात्मक असर नेपालमा पनि पर्न गएको छ । केही वर्ष यता नेपालमा गिग अर्थतन्त्र उल्लेखनीय रूपमा बढ्दै गएको छ । सार्वजनिक क्षेत्रमा रोजगारीको अभाव भएको हुँदा कतिपय उत्पादनशील श्रमशक्ति रोजगारीको लागि विदेश पलायन भएको छ भने सूचना प्रविधिमा ज्ञान भएको जनशक्ति भने गिग अर्थतन्त्रमा लागेको छ । अहिले कलेज तथा विश्वविद्यालयमा समेत सूचना प्रविधिको अध्ययन गर्ने विद्यार्थीको संख्या पनि बढ्दै गएको छ । यो संख्याले खास गरेर अनलाइन सेवा उपलब्ध दिँदै आएकोले अहिले शिक्षित युवा जनशक्ति गिग अर्थतन्त्रप्रति बढी आकर्षित हुँदै गएको छ ।
नेपाल जस्तो अति कम विकसित देशमा गिग अर्थतन्त्रको ठूलो योगदान हुन्छ । सरकारी सेवा खुम्चिएको हुनाले निजी क्षेत्रमा सेवा बढ्दै गएको छ । यसले गर्दा राष्ट्रिय समस्याको रूपमा रहेको बेरोजगारी हटाउन केही हदसम्म सहयोग पुगेको छ । आफ्नै देशमा बसेर काम गर्दा पनि विदेशी मुद्रामा पारिश्रमिक पाउने हुँदा विदेशी मुद्रा सन्चिति बढ्दै गएको छ । विदेशी मुद्रा सन्चिति बढ्दै जानु भनेको देशको अर्थतन्त्र सुदृढ हुँदै गएको छ भन्ने बुझ्नु पर्दछ ।
सन् २०१९ को कोभिड माहामारी पछि गिग अर्थतन्त्रको विस्तार तीव्र रूपमा भएको हो । माहामारीमा घर बाहिर गएर काम गर्न जोखिम भएकोले धेरै युवाहरू अनलाइन सेवामा आकर्षित भए जसले गर्दा गिग अर्थतन्त्र विकास हुने अवसर सिर्जना भयो ।
अहिले नेपालको ग्रामीण क्षेत्रमा पनि इन्टरनेट सेवाको पहुँच भएको हुनाले अनलाइन कामको अत्यधिक अवसर छ । त्यसैले गर्दा बेरोजगारी युवाहरूले आफ्नै गाउँमा बसेर पनि रोजगारी प्राप्त गरिरहेका छन् । केही हदसम्म राष्ट्रिय अर्थतन्त्रमा योगदान पुगेको पनि देखिन्छ ।
नेपालमा गिग अर्थतन्त्रको महत्व बढ्दै गए पनि यसमा समस्या नभएका होइनन् । गिग अर्थतन्त्रको लागि उच्च गतिको इन्टरनेट सेवा आवश्यक हुन्छ । तर नेपालमा भने इन्टरनेट सेवाको पहुँच र गुणस्तरमा सुधार गर्नुपर्ने देखिन्छ ।
डिजिटल ज्ञान र सीपको विकास राम्रोसँग भएको छैन । अनलाइन सेवाबाट प्राप्त रकम स्वदेश भित्र्याउने कार्य पनि व्यवस्थित भइ नसकेको अवस्था छ । त्यसैले गर्दा कर, कानुनी अस्पष्टता, साइबर सुरक्षासम्बन्धी जोखिम न्यूनीकरण गर्न सकिएको छैन ।
नेपालमा विज्ञान प्रविधिको विकास सँगै इन्टरनेट तथा डिजिटल प्रणाली को विकास हुँदै गएकोले गिग अर्थतन्त्रको सम्भावना प्रचुर मात्रामा देखिन्छ । कतिपय युवाहरूले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गरिरहेका पनि छन् । नेपालको अर्थतन्त्रमा आशालाग्दो क्षेत्र भनेको नै अहिले गिग अर्थतन्त्र देखिएको छ । त्यसकारण राज्यले यसको विकासको लागि आवश्यक सुधारका कार्यक्रम सञ्चालनमा ल्याउनु पर्दछ ।