काठमाडौं, नेपालका दुई प्रख्यात व्यापारिक घराना टाट पल्टेको घोषणा हुने अवस्थामा पुगेका छन् । त्यसरी टाट पल्टेको घोषणा हुन मात्र बाँकी रहेको अवस्थामा पुगेका दुई व्यापारिक घरनामा सत्ताको वरिपरि रहेका पावर ब्रोकरहरूसँग मिलेर अपारदर्शी धन्दा गर्दै आएका ललितपुरका रहस्यमय व्यवसायही डिजेन्द्र भनिने राजेन्द्र शाक्य र पोखराका अर्का व्यवसायी आनन्दराज बतास हुन् । शाक्यले गुण समूह नामको व्यापारिक घरानाको नेतृत्व गर्दै आएका छन् भने पोखराका व्यवसायी बतासले बतास ग्रुपको नेतृत्व गर्दै आएका छन् ।
२०४६ सालको जनआन्दोलन ताकासम्म पाटनको पुल्चोकका रैथाने सुन पसले भएर पनि धादिङको विकट उत्तरी क्षेत्रमा रहेको सेर्तुङमा सुनको गहना पसल खोलेर बसेका गुण ज्यास पसःका सञ्चालक शाक्यको पुल्चोक र भैँसेपाटीको नख्खु मोडमा पनि सुनको गहना पसल रहेको छ । प्रजातन्त्र पुनस्थापनापछि सुधीर बस्नेतसँग मिलेर व्यवसाय विस्तारमा लागेका शाक्यले बस्नेतसँग सम्बधविच्छेद गरेर पुल्चोकमा गुण मल्टिपर्पोच सहकारी खोलेका थिए ।
सहकारी संस्था सञ्चालनमा समस्या आएर चलाउन नसक्ने अवस्थामा पुगेपछि व्यावसायिक रूपमा धरापमा परेका शाक्यले अहिलेसम्म पनि सहकारीका बचतकर्ताहरूको सबै रकम फिर्ता गरिसकेका छैनन् । तर पनि रहस्यमय ढंगले उनको व्यवसाय विस्तार हुने क्रमचाहिँ रोकिएको थिएन । उनी पावर ब्रोकरहरूको स्टेसन बन्दै गएका थिए र रहस्यमय ढंगले उनको नाममा सम्पत्ति आउने र जम्मा हुने तथा केही समयपछि अर्कोको नाममा नामसारी हुँदै आएको थियो । जस्तो कि स्युचाटारमा रहेको जितेन्द्र श्रेष्ठको नाममा रहेको सिसाको हाउजिङको नाममा रहेको ५२ रोपनी जमिन कहिले उनको नाममा आउने र कहिले रूपज्योतिको नाममा जाने देखिएको थियो ।
त्यसैगरी दरबारमार्गमा रहेको पञ्चायतकालमा मण्डले जन्माउने घर भनेर चिनिने दामोदर शमशेरको घर–जमिनमा बनाइएको दरबार मल कहिले देवी भट्टचनको नाममा सार्ने र कहिले पज्योतिको नाममा सार्ने हुँदै अहिले शाक्यको नाममा सरेको छ । लाजिम्पाटमा ट्वीन टावर भनेर चिनिने दुईवटा गगनचुम्बी भवनमा पनि त्यस्तै भएको छ । एकताका ती भवन हरिमान लामा, कुशुम लामा, देवी भट्टचनहरूका नाममा थिए । पछि राजेन्द्र शाक्यको नाममा सरेको थियो । जितेन्द्र श्रेष्ठ, कुशुम लामा, देवी भट्टचन, रुपज्योतिलगायतको व्यक्तिहरूको नाममा लेनदेनका विवादमा जति मुद्दा परे पनि त्यसमा जालसाजी गरेको भनेर शाक्यका विरुद्ध पनि अदालतमा मुद्दा परेको पाइएको छ ।
एकताका तत्कालीन किष्ट बैंकको अध्यक्ष रहिसकेका शाक्य अहिले दरबारमार्गमा रहेको दरबार मल, एपीवान टेलिभिजन, ग्वार्कोमा रहेको गुण कोलोनी, गुण स्मृति सेवा, गुण ज्वेलर्स, रहेको ट्रलिय होटल, गुण एयरलाइन्स, गुण मल्टिपर्पोज सहकारी गुण सिनेमा हल, जाइन्ट क्रन्ट्रक्सन, केडीए फाइनान्स गुण कोलोनीलगायतका लगानी कर्ता हुन् । उनी अहिले यतिविधि कम्पनीहरूको लगानी कर्ता हुनुअघि पाटनको जानेमाने टेलर साहु शाक्य पछि अवैध ढुकुटीका कुख्यात सञ्चालक पनि मानिन्छन् ।
अहिले उनै शाक्यको नाममा अहिले समिफ होटल, काठमाडौं इन्जिनियरिङ कलेज, किष्ट मेडिकल कलेज, युनाइटेड मेवा खोला हाइड्रोपावरमा पनि उनको लगानी रहेको बताइएको छ । तर अहिले उनको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको अर्बौँ रुपैयाँको कर्जाको गत असार मसान्तसम्म महिनौँदेखि किस्ता नतिरिएको अवस्थामा रहेको छ । शाक्यको नाममा रहेको कर्जा नवीकरण नगर्न राष्ट्र बैंकहरूमा छिर्न सक्ने अवस्था पनि रहेको छैन । यसअघि उनी जो–जो पावर ब्रोकरको खेलौनाका रूपमा रहेका थिए अहिलेको सरकारले उनीहरूमाथि निगरानी र कारबाही अघि बढाएपछि शाक्य साँचोमा परेको मुसोेजस्तो हुन पुगेका हुन् ।
अहिले राजेन्द्र शाक्यकै कथासँग मिल्दोजुल्दो अवस्थामा पगेका छन् पोखराको बतास गु्रपका आनन्द राज बतास पनि । २०४६ सालमा नेपालमा प्रजातन्त्र पुनस्र्थापना भएपछिको खुला समाजमा गोलक्वेस्टको अवैध धन्दा सञ्चालन गरेर कालोधन थुपारेका बतासले अहिले बैंक तथा वित्तीय संस्थालाई तिर्नुपर्ने कर्जाको साँवाब्याजको किस्ता बुझाउन सकेका छैनन् । दारी पालेर स्वामी बनेको नौटङ्की गर्दै आएका बतास यसअघि मानसरोवर भ्रमणमा रहेको बेला एउटा बैंकले पासपोर्ट रोक्का राख्न राष्ट्र बैंकमा पत्राचार गरेको थियो । अहिले यी दुवै समूह टाट उल्टेको घोषणा हुने अवस्थामा पुगेका छन् । गुण समूहले दुईवटा बैंकको मात्रै ११ अर्ब रुपैयाँभन्दा बढी कर्जा लिएकोे छ र त्यसको विगत केही महिनादेखि किस्ता तिर्न सकेको छैन भने बतास गु्रपले अब किस्ता तिर्ने नसक्ने भनेर हात उठाइसकेको बुझिएको छ ।