काठमाडौं, ग्लोबल आईएमई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/०८३ को वितरणयोग्य नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशमध्येमा करसहित छ प्रतिशत नगद लाभांश र चार प्रतिशत बोनस सेयर रहेको छ । बैंकको बुधबार बसेको संचालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आउँदो साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिने छ ।
विगत लामो समयदेखि आधुनिक प्रविधि र उत्कृष्ट ग्राहक सेवाका कारण विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विधामा सम्मानित हुँदै आएको ग्लोबल आईएमई बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, तथा सन् २०२४, २०२५/२०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरिसकेको छ । यस्तै बैंकले युरोमनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४/२०२५, बेस्ट बैंक ईएसजी नेपाल २०२४ र बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित पुरस्कारहरूसमेत प्राप्त गरेको छ ।
ग्लोबल आईएमई बैंक मुलुकको ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । हाल बैंकले तीन सय ४१ वटा शाखा कार्यालय, तीन सय ६६ वटा एटीएम, एक सय ४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसहित कुल एक हजारभन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ ।
यसका साथै बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका विभिन्न मुलुकहरूबाट औपचारिक माध्यममार्फत देशभित्र विप्रेषण (रेमिट्यान्स) भित्र्याउँदै राष्ट्रिय अर्थतन्त्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ ।