काठमाडौं, मुक्तिनाथ विकास बैंक र ढुवानी व्यवसायी महासंघ—नेपालबीच व्यवसायिक सम्झौता भएको छ । नेपाल अधिराज्यभरि सामान ढुवानी सेवा प्रदान गरिरहेको व्यवसायीहरूको छाता संगठन ढुवानी व्यवसायी महासंघ नेपाल बीच महासंघमा आवद्ध सदस्यहरूको व्यवसाय संचालनको लागि आवश्यक पर्ने कुनै पनि ब्रान्डको गाडी खरिद गर्न र व्यवसाय संचालनका लागि आवश्यक पर्ने व्यवसायिक कर्जा लगानी गर्ने समझदारीपत्र बैंकले हस्ताक्षर गरेको हो ।
समझदारीपत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र महासंघको तर्फबाट अध्यक्ष माधव प्रसाद नेपालले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार महासंघमा आवद्ध सदस्यहरूले ढुवानीको लागि आवश्यक पर्ने गाडी खरिद गर्न र सोसम्बन्धी व्यवसाय संचालनको लागि मुक्तिनाथ विकास बैंकले आफ्नो एक सय ७६ वटै शाखा कार्यालयबाट आकर्षक सहुलियत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराउने छ ।
यस सहकार्यबाट ढुवानी व्यवसायीहरूले आफ्नो सेवा विस्तारको लागि सहजरूपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने तथा व्यवसाय विस्तारमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, बैंकले हाल अटो कर्जा, कृषि र एसएमई कर्जामा समेत न्युनतम व्याजदरमा कर्जा प्रबाह गर्ने विशेष अफर ल्याएको छ ।