काठमाडौँ, रसुवा बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि हेफर इन्टरनेसनल नेपालले एक करोड रुपैयाँ सहयोग गरेको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरिएको हो । हेफर नेपालका अनुसार सहयोग रकम संस्थाको आपत्कालीन राहत कोष तथा कर्मचारीहरूले आफ्नो मासिक पारिश्रमिकबाट स्वेच्छिक रूपमा योगदान गरेको रकमबाट जुटाइएको हो ।
गत भदौ १० गते हिमाली क्षेत्रमा हिमनदी ताल फुटेपछि रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा भएको बाढीपहिरोबाट ठूलो मानवीय तथा भौतिक क्षति भएको छ । सयौँ परिवार विस्थापित हुनुका साथै घर, सडक, पुल तथा कृषि र पशुपालनमा आधारित जीविकोपार्जन प्रभावित भएको अवस्थामा उक्त सहयोग उपलब्ध गराइएको हो । संस्थाले प्रभावित समुदायमा तत्काल खाद्यान्न, स्वास्थ्य उपचार, औषधि तथा आवश्यक सामग्री उपलब्ध गराउन स्थानीय सरकार र साझेदार संस्थासँग समन्वय गरी काम अघि बढाउने जनाएको छ ।
हेफर इन्टरनेसनल नेपालका राष्ट्रिय निर्देशक डा. तिर्थराज रेग्मीले विपद्को कठिन घडीमा पीडित समुदायसँग एकजुट भएर उभिनु संस्थाको सामाजिक जिम्मेवारी भएको बताउँदै प्रभावित परिवारको पुनःस्थापनासम्म निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाए । हेफर नेपालले तत्कालीन राहतसँगै प्रभावित परिवारको कृषि, पशुपालन तथा घरेलु व्यवसाय पुनःस्थापना गरी दीर्घकालीन रूपमा जलवायु–उत्थानशील समुदाय निर्माणमा सहयोग गर्ने जनाएको छ ।