भक्तपुर, रसुवा, नुवाकोटलगायतका जिल्लामा भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि चाँगुनारायण नगरपालिकाले ५० लाख ३५ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
भदौ १० गते बिहान भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै नगरपालिकाले विपद्मा परेका नागरिकलाई राहत तथा उद्धारका लागि उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो । भदौ ११ गते नगर प्रमुख जीवन खत्रीको संयोजकत्वमा बसेको बैठकले सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका अनुसार उक्त सहयोग रकम विभिन्न स्रोतबाट संकलन गरिनेछ । स्थानीय विपद् व्यवस्थापन समितिको विपद् व्यवस्थापन कोषबाट १० लाख रुपैयाँ उपलब्ध गराइने भएको छ । त्यसैगरी, नगरपालिकाका जनप्रतिनिधिहरूले एक महिनाको सेवा–सुविधाबापत प्राप्त हुने रकमबाट ७ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको छ । नगरपालिकामा कार्यरत कर्मचारीहरूबाट समेत तहअनुसार निश्चित अवधिको तलब बराबरको रकम सहयोगस्वरूप उपलब्ध गराइनेछ । कर्मचारीबाट २० लाख ३५ हजार रुपैयाँ संकलन हुने नगरपालिकाले जनाएको छ । त्यस्तै, नगरपालिकाअन्तर्गत कार्यरत शिक्षकहरूबाट १३ लाख रुपैयाँ सहयोग गरिने भएको छ । यसरी विपद् व्यवस्थापन कोष, जनप्रतिनिधि, कर्मचारी र शिक्षकबाट गरी कुल ५० लाख ३५ हजार रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ ।
नगर प्रमुख जीवन खत्रीद्वारा जारी विज्ञप्तिमा विपद्को कठिन समयमा बाढी प्रभावित नागरिकप्रति ऐक्यबद्धता, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वलाई ध्यानमा राख्दै सहयोग गर्ने निर्णय गरिएको उल्लेख छ । भोटेकोशी नदीमा आएको बाढीले रसुवा, नुवाकोटलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएपछि विभिन्न सरकारी निकाय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, निजी क्षेत्र र सामाजिक संघसंस्थाले राहत तथा पुनःस्थापनाका लागि सहयोग घोषणा गरिरहेका छन् । यही क्रममा चाँगुनारायण नगरपालिकाले पनि स्थानीय तहको स्रोत परिचालन गर्दै बाढीपीडितको राहतमा योगदान गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले बाढी तथा अन्य विपद्बाट प्रभावित नागरिकहरूको शीघ्र उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय र सहकार्य गर्नसमेत अपिल गरेको छ । साथै, विपद्को समयमा पीडित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन सबै पक्षले आफ्नो क्षमता र स्रोतअनुसार सहयोग गर्नुपर्नेमा नगरपालिकाले जोड दिएको छ ।
चाँगुनारायण नगरपालिकाका उपमेयर बुढाथोकीलाई मातृशोक
भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिकाका उपमेयर रमेश बुढाथोकीलाई मातृशोक परेको छ । नेकपा एमालेका नेता एवं समाजसेवी समेत रहेका उममेयर बुढाथोकीको ममतामयी आमा ईश्वरी बुढाथोकीको ७६ वर्षको उमेरमा यही भदौ १९ गते शुक्रबार आफ्नै निवासमा निधन भएको हो ।
पारिवारिक श्रोतका अनुसार केही वर्षयता क्यान्सरबाट पीडित हुनुभएकी उपमेयर बुढाथोकीको आमाको सोही दिन पशुपतिकोआर्यघाटमा अन्तिम श्रद्धाञ्जली अर्पण गरी दाहसंस्कार गरिएको हो । स्वर्गीय ईश्वरीको पति, दुई छोरा र दुई छोरी रहेका छन् । यसैबीच नगरप्रमुख जीवन खत्रीले उपमेयरकी स्वर्गीय आमाप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दै परिवारजनमा श्रीपशुपतिनाथले धैर्यधारण गर्न सक्ने क्षमता प्रदान गरुन भन्ने कामनासमेत गरेका छ्न् । यसैगरी निक भुजिकिक हाउजिङका सञ्चालक प्रविन कुस्माले पनि उपमेयर बुढाथोकीको स्वर्गीय आमाप्रति हार्दिक समवेदना व्यक्त गर्दै शोक सन्तप्तपरिवारजनमा हार्दिक समवेदन प्रकट गरेका छन् ।