काठमाडौं । वकालत, विश्वका सबैभन्दा प्रतिष्ठित र जिम्मेवार पेशाहरूमध्ये एक हो । यो पेशा केवल कानुनका दफाहरूको व्याख्या गर्ने वा बहस गर्ने कार्यमा मात्र सीमित छैन; यो त सत्य, न्याय, र मानवीय करुणाको शाश्वत खोजी पनि हो । कुनै पनि सभ्य समाजको आधारशिला मानिने न्यायप्रणालीलाई गति दिने र यसको रक्षा गर्ने वकिलले साधारण व्यक्तिभन्दा उच्च कोटीको ज्ञान, नैतिकता र चारित्रिक बल धारण गर्नुपर्दछ । एक वकिललाई सफल र सक्षम बनाउनका लागि कानुनको औपचारिक शिक्षा मात्र पर्याप्त छैन, बरु अन्य पाँचवटा महत्वपूर्ण विधाको अन्तरंग ज्ञान र गुणहरूको सम्मिश्रण अपरिहार्य छ । यसै कारणले गर्दा वकिललाई ’विद्वान् अधिवक्ता’ भनिन्छ जसले उसको बहुआयामिक ज्ञानको परिचय दिन्छ ।
प्रथम र सर्वाधिक महत्वपूर्ण बुँदा भनेको वकिलमा राजनीतिक, धार्मिक र कुनै पनि प्रकारको सामाजिक पूर्वाग्रह नहुनु हो । न्यायको मन्दिरमा उभिने व्यक्ति स्वयंमा निष्पक्षताको प्रतीक हुनुपर्छ । यदि एक वकिल कुनै विशेष दल, धर्म वा सामाजिक वर्गको संकीर्ण घेराभित्र सीमित रहन्छ भने, उसले आफ्नो पक्षलाई मात्र होइन, समग्र न्याय प्रणालीलाई नै घात पु¥याउँछ । पूर्वाग्रहले सत्यको खोजीमा अवरोध पु¥याउँछ, तर्कलाई कमजोर बनाउँछ र मानवीय संवेदनालाई कुण्ठित गर्दछ । एक आदर्श वकिलले आफूलाई ’सभ्य समाजको तटस्थ व्यक्ति’ का रूपमा स्थापित गर्नुपर्छ । उसको निर्णय, तर्क र प्रस्तुतिमा व्यक्तिगत आस्था वा राजनैतिक झुकावको छायाँ पर्नु हुँदैन । जब वकिल पूर्वाग्रहरहित हुन्छ, तब मात्र उसले कानुनको सारलाई सही ढंगले आत्मसात् गर्न सक्छ र परिस्थितिको गहिराइमा पुगेर निष्पक्ष रूपमा आफ्ना तर्कहरूलाई न्यायालयसमक्ष प्रस्तुत गर्न सक्छ । पूर्वाग्रहले ग्रस्त व्यक्ति वकालतजस्तो पेशाका लागि योग्य हुँदैन भन्ने यो कठोर सत्य आत्मसात् गर्नैपर्छ ।
वकालत पेशालाई केवल व्यावसायिक लाभसँग जोडेर हेर्नु यसको गरिमालाई घटाउनु हो । धर्मशास्त्र र दर्शनशास्त्रको न्याय, दया र करुणाले भरिएको व्यक्तिले वकालतको नैतिक जगलाई स्पष्ट पार्दछ । कानुनका किताबहरूले दण्ड र व्यवस्थाको कुरा गर्छन्, तर धर्मशास्त्र र दर्शनशास्त्रले मानव अस्तित्वको नैतिक मूल्य सिकाउँछन् । एक वकिल धर्मशास्त्री र दर्शनशास्त्री पनि हो, किनकि ऊ समाजको न्याय, दया र करुणाको साँचो पुजारी हो । यी विधाको अध्ययनले वकिलमा गहिरो मानवीय संवेदना जगाउँछ । यसले उसलाई केवल कानुनी जितका लागि मात्र होइन, बरु सत्यको स्थापना र कमजोरलाई न्याय दिलाउने उद्देश्यका लागि प्रेरित गर्छ । ’दया’ र ’करुणा’ जस्ता गुणहरूले वकिललाई कठोर कानुनी प्रक्रियाको बीचमा पनि मानवीय पक्षलाई ध्यान दिन मद्दत गर्दछ । यसरी, दर्शनशास्त्रले प्रदान गर्ने तार्किक बल र धर्मशास्त्रले सिकाउने नैतिक उच्चताले एक वकिललाई सतही तर्कबाट माथि उठेर सत्यको सूक्ष्म खोजी गर्न र तार्किक तवरले मजबुत बनाउन अपरिहार्य भूमिका खेल्दछ ।
न्यायको लडाइँ धेरै हदसम्म तर्क र अभिव्यक्तिको लडाइँ हो । ’कलाशास्त्र, भाषा र साहित्यको सृजनशीलताको गुण र पकडले युक्त भएको वकिलको अभिव्यक्ति कौशलको महत्वलाई उजागर गर्दछ । एक सफल वकिल ’भाषाशास्त्री, कवि, लेखक, साहित्यप्रेमी, साहित्यानुरागी’ पनि हुनुपर्छ । न्यायालयमा आफ्नो पक्षको तर्कलाई प्रभावकारी रूपमा प्रस्तुत गर्नका लागि केवल तथ्य र प्रमाणहरू काफी हुदैनन्; तिनीहरूलाई प्रवाहपूर्ण, स्पष्ट र हृदयस्पर्शी भाषा मार्फत बुझाउन सक्नुपर्छ। कलाशास्त्र, भाषा र साहित्यको अध्ययनले व्यक्तिमा सृजनशीलताको गुणको विकास गराउँछ । यसले वकिललाई जटिल कानुनी विषयवस्तुलाई सरल र ग्राह्य तरिकाले व्याख्या गर्न, भावनाको सही प्रयोग गर्न र न्यायाधीशलाई आफ्नो तर्कमा सहमत गराउन सक्ने विशेष क्षमता प्रदान गर्दछ । राम्रो भाषाको ज्ञानले वकिललाई कानुनका जटिल दस्तावेजहरूलाई बुझ्न र तिनीहरूको सही व्याख्या गर्न मद्दत गर्छ, जसले अन्ततः न्याय प्रक्रियालाई सहज बनाउँछ ।
वकालत पेशा ज्ञान र उद्देश्यमूलक कार्यको निरन्तर अभ्यास हो । एक वकिल शिक्षाशास्त्रले प्रदान गर्ने स्पष्टता, निश्चितता र उद्देश्य भएको व्यक्ति हुनुपर्दछ र आवश्यकताले नै वकिलको शैक्षिक र वैचारिक स्पष्टताको महत्वलाई दर्साउँछ । एक वकिल सभ्य समाजको शिक्षक पनि हो । शिक्षाशास्त्रको अध्ययनले कुनै पनि वकिललाई कुनै पनि विषयवस्तुमा स्पष्टता र निश्चितता प्रदान गर्दछ र लक्षित उद्देश्य हासिल गर्न सहायता पु¥याउँछ । यसले वकिललाई संसारमा ’शिक्षाको विकास किन र कसरी भयो’ भन्ने आधारभूत ज्ञान दिन्छ, जसले गर्दा उसले कुनै पनि ज्ञानको मूल्यको गहिराइलाई बुझ्दछ । मुद्दाको तयारीमा के आवश्यक छ, कुन प्रमाण महत्वपूर्ण छ, र बहसको अन्तिम उद्देश्य के हो भन्ने कुराको स्पष्ट खाका शिक्षाशास्त्रले दिने तार्किक र क्रमबद्ध सोचले मात्र तयार गर्न सम्भव हुन्छ । शिक्षाशास्त्रको यो गुणले वकिललाई हचुवाको भरमा नभई, सुसंगत र उद्देश्यमूलक रणनीति बनाउन सक्षम बनाउँछ ।
सबैभन्दा मौलिक र प्रभावशाली कुरामध्ये एक वकिल पत्रकारिताले प्रदान गर्ने तथ्यगत ज्ञान भएको व्यक्ति पनि हुनुपर्छ। यो कुरामा धेरै मानिस हाँस्न सक्छन्, तर यसको गाम्भीर्य अतुलनीय छ । सफल वकिल एक सफल पत्रकार पनि हो । पत्रकारिताको सार भनेको कुनै पनि विषयको तथ्यगत जानकारीलाई सूक्ष्म तवरले केलाएर सत्य पत्ता लगाउनु हो । जसरी एक दूरदर्शी पत्रकारले कुनै घटनाको तथ्यलाई अनेक कोणबाट केलाउँछ, त्यसैगरी एक सफल वकिलले पनि आफ्नो पक्ष र विपक्षका प्रमाण तथा तथ्यहरूलाई त्यही सूक्ष्मताका साथ विश्लेषण गर्नुपर्दछ । पत्रकारिताले प्रदान गर्ने तथ्यगत ज्ञान र सत्यको खोजी गर्ने क्षमताको विकास नगरी कुनै पनि वकिल सक्षम र सफल बन्न सक्दैन । फरक यति मात्र हो कि एक सफल पत्रकारले प्राप्त गरेको जानकारी समाजलाई सूचित गराउन सार्वजनिक गर्दछ भने, एक सफल वकिलले त्यस्तो जानकारी आफ्नो पक्षलाई न्यायालयबाट न्याय दिलाउने क्रममा न्यायालयलाई प्रदान गर्दछ । यो क्षमताले वकिललाई केवल सतहमा देखिएका प्रमाणहरूमा मात्र निर्भर नभई, लुकेका तथ्यहरूलाई बाहिर ल्याउन र आफ्नो पक्षमा बलियो प्रमाण जुटाउन मद्दत गर्दछ। अन्त्यमा, वकालत पेशालाई सम्मान र उच्च मर्यादाका साथ निर्वाह गर्नका लागि माथि उल्लेखित पाँचवटै विधाको गहन ज्ञान र तिनबाट प्राप्त हुने गुणहरू एक वकिलमा अपरिहार्य छन् ।
एक वकिल तटस्थ व्यक्तित्व, कुनै पनि पूर्वाग्रहले नछोएको, निष्पक्ष न्यायको साधक हुनुपर्छ जसको नैतिक बल धर्मशास्त्र र दर्शनशास्त्रबाट प्राप्त न्याय, दया र करुणाले भरिएको हृदय हुनुपर्छ । एक वकिलमा प्रभावशाली अभिव्यक्ति आवश्यक हुन्छ जसले एक वकिललाई कलाशास्त्र, भाषा र साहित्यको सृजनशीलताको ज्ञानले सुसज्जित कुशल वक्ता तुल्याउँछ । एक वकिलमा वैचारिक स्पष्टता शिक्षाशास्त्रको अध्ययनले प्राप्त स्पष्टता, निश्चितता र लक्षित उद्देश्यमा अडिग रहने दृढता पनि आवश्यक हुन्छ । एक वकिल तथ्यको पारखी पनि हुनुपर्छ जो पत्रकारिताले प्रदान गर्ने तथ्यगत ज्ञानद्वारा एक वकिललाई सत्यको सूक्ष्म खोजकर्ता तुल्याउँछ । एक सफल र आदर्श अधिवक्ता केवल कानुनको जानकार मात्र होइन, ऊ समाजमा न्याय, दया र करुणाको साँचो पुजारी पनि हो । वकालत पेशाले माग गर्ने उच्च मर्यादाका लागि एक वकिलले हरेक प्रकारका राजनीतिक, धार्मिक वा सामाजिक पूर्वाग्रहबाट पूर्णतः मुक्त भई एक तटस्थ व्यक्तित्व कायम गर्न सक्नुपर्दछ । पूर्वाग्रहले ग्रसित व्यक्ति वकालतक पेशाका लागि योग्य हुँदैन । वकिलमा धर्मशास्त्र र दर्शनशास्त्रको गहन ज्ञान हुनु अपरिहार्य छ, जसले उसलाई सत्यको खोजी गर्न र तार्किक रूपमा मजबुत बनाउनुका साथै न्यायोचित गुणहरूको विकास गराउँछ । यसका अतिरिक्त, कलाशास्त्र, भाषा र साहित्यको अध्ययन पनि उत्तिकै जरुरी छ, किनकि यसले व्यक्तिमा सृजनशीलता र विचारको स्पष्टता ल्याउँछ, जसले जटिल कानुनी अवधारणालाई प्रभावकारी रूपमा प्रस्तुत गर्न मद्दत गर्दछ । एक वकिलले शिक्षाशास्त्रको अध्ययन नगरी सुखै छैन । यस विधाको ज्ञानले कुनै पनि विषयवस्तुमा स्पष्टता र निश्चितता प्रदान गरी लक्षित उद्देश्य हासिल गर्न सघाउँछ । यसले ज्ञानको मूल्यको बोध गराउँछ ।
अचम्म लाग्न सक्छ, तर एक सफल वकिलमा पत्रकारिताको सूक्ष्म ज्ञान पनि आवश्यक छ । जसरी एक दूरदर्शी पत्रकारले तथ्यगत जानकारीलाई सूक्ष्म तरिकाले केलाउँछ, त्यसैगरी एक सक्षम अधिवक्ताले पनि सोही क्षमताका आधारमा सत्यको खोजी गरी आफ्नो पक्षलाई न्यायालयबाट न्याय दिलाउन सक्दछ । फरक यति मात्र छ कि पत्रकारले समाजलाई सूचित गर्दछ भने वकिलले अदालतलाई न्यायका लागि विशेष जानकारी प्रदान गर्दछ । अन्त्यमा, एक वकिल भाषाशास्त्री, कवि, लेखक, शिक्षक र सभ्य समाजको तटस्थ व्यक्ति पनि हो । ’विद्वान् अधिवक्ता’ को उपाधि केवल कानुनको प्रमाणपत्रले प्राप्त हुँदैन; यो त माथि उल्लिखित ज्ञानका कम्तीमा चार वा पाँच विधामा औपचारिक रूपमा स्नातक वा स्नातकोत्तर तहको ज्ञान हासिल गर्ने र निरन्तर अध्ययनशील रहने वकिलहरूको समर्पणता, साधना र आजीवन अभ्यासबाट मात्र प्राप्त हुन्छ । यही कारणले गर्दा वकालत विश्वको अति प्रतिष्ठित पेशा हो, जसले कानुन र नैतिकताको उच्चतम मापदण्डलाई प्रतिनिधित्व गर्दछ ।