काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीविरुद्ध प्रतिनिधिसभामा दिएको अभिव्यक्तिको केही अंश संसदीय अभिलेखबाट हटाइएको छ । गत भदौ २६ गते बसेको प्रतिनिधिसभा बैठकमा सांसद सुनारले महानिरीक्षक कार्कीमाथि भ्रष्टाचारको आरोप लागेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । उक्त अभिव्यक्तिमा प्रयोग भएका केही शब्द तथा वाक्यांश अभिलेखबाट हटाउन सभामुख डोलप्रसाद अर्यालले निर्देशन दिएका हुन् ।
सभामुख अर्यालले बैठकमा भने, ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि’ भन्ने वाक्यांशदेखि ‘आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।’संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले महानिरीक्षक कार्कीसँग सम्बन्धित रहेर सांसद सुनारले व्यक्त गरेका केही शब्द अभिलेखबाट हटाइएको जानकारी दिए ।
बैठकको शून्य समयमा सांसद सुनारले महानिरीक्षक कार्कीमाथि करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको भन्दै उनलाई बर्खास्त गरी छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।उनले तल्लो तहका प्रहरी कर्मचारीको जुत्ता–मोजासम्बन्धी अनियमितता गरेको आरोपसमेत महानिरीक्षक कार्कीमाथि लागेको दाबी गर्दै सरकार उनलाई बर्खास्त गर्न किन तयार नभएको प्रश्न गरेका थिए ।
सुनारले महानिरीक्षक कार्कीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसद्को सार्वजनिक लेखा समितिमा भ्रष्टाचारसम्बन्धी उजुरीहरू परेको दाबीसमेत गरेका थिए ।उनले सामान्य आरोपकै आधारमा तीन जना मन्त्री बर्खास्त भइसकेको उल्लेख गर्दै महानिरीक्षक कार्की, उनकी श्रीमतीलगायत उच्च अधिकारीमाथि करोडौँ भ्रष्टाचारको आरोप लाग्दा पनि छानबिन नभएको भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका थिए । सांसद सुनारको उक्त अभिव्यक्तिपछि सभामुखको निर्देशनमा महानिरीक्षक कार्कीसँग सम्बन्धित केही शब्द तथा वाक्यांश संसदीय अभिलेखबाट हटाइएको हो ।