भैरहवा । भारतबाट रुपन्देहीस्थित नेपाल आयल निगमको भलवारी डिपोका लागि ल्याउँदै गरिएको पेट्रोलियम पदार्थ बीच बाटोमै चोरी गर्दै गरेको अवस्थामा प्रहरीले दुईवटा ट्याङ्करसहित एक सहचालकलाई नियन्त्रणमा लिएको छ ।
लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङबाट खटिएको विशेष टोलीले सोमबार बिहान भैरहवास्थित सराफ आयल सेन्टरमा तेल निकालिरहेको अवस्थामा दुईवटा ट्याङ्कर नियन्त्रणमा लिएको हो ।प्रहरीका अनुसार भारतबाट भलवारी डिपोका लागि पेट्रोलियम पदार्थ लिएर आएका लु.२ ख १५४४ र लु.१ ख ६५०४ नम्बरका ट्याङ्करबाट बिहान करिब ९ बजेदेखि तेल निकालिएको थियो । बिहान करिब १० बजे प्रहरीले दुवै ट्याङ्कर नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका दुवै ट्याङ्करको सिल तोडिएको र तेल निकालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा एक सहचालकलाई समेत नियन्त्रणमा लिइएको छ ।
स्रोतका अनुसार भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्कर व्यवसायी र आयल सेन्टर सञ्चालकको मिलेमतोमा लामो समयदेखि तेल चोरी हुँदै आएको आशंका गरिएको छ । उनीहरूले एउटा ट्याङ्करबाट दैनिक पाँच हजार लिटरसम्म तेल चोरी गरी बिक्री गर्ने गरेको आरोपसमेत लागेको छ ।
यस घटनामा नेपाल आयल निगमको भलवारी डिपोका केही अधिकारीको समेत संलग्नता रहेको हुनसक्ने आशंका गरिएको छ । तेल चोरी गर्न ट्याङ्करको सिल तोड्नुपर्ने भए पनि डिपोमा सिलको प्रभावकारी जाँच तथा आयातित पेट्रोलियम पदार्थको नापजाँचमा कमजोरी देखिएको स्रोतको दाबी छ ।यसअघि पनि भलवारी डिपोका लागि पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङ्करबाट तेल चोरी हुने गरेको घटना सार्वजनिक हुँदै आएका थिए ।
प्रहरीले नियन्त्रणमा लिएका ट्याङ्कर, बरामद पेट्रोलियम पदार्थ तथा घटनामा संलग्न व्यक्तिमाथि थप अनुसन्धान अघि बढाएको जनाएको छ । तेल चोरीमा अन्य व्यक्ति वा निकायको संलग्नता भएरनभएको अनुसन्धानबाट खुल्नेछ ।