नेपालको ऐतिहासिक एवं प्रतिष्ठित ज्योति ग्रुपका मालिक डा. रुप ज्योति कर्जा अपचलनको आरोपमा पक्राउ पर्ने सम्भावना देखिएको बेला सरकारले ‘जघन्य अपराध’ घोषणा गरेको मिटरब्याजको धन्दामा पनि संलग्न रहेको पाइएको छ । उनी बैंकबाट लिएको झण्डै ११ अर्ब रुपैयाँ कर्जाको साँवाब्याजको महिनौँदेखि किस्ता समेत नतिरेर धितोको सम्पत्ति लिलामीको प्रक्रियामा छन् भने औपचारिक रूपमा टाट पल्टेको घोषणा मात्र हुन बाँकी छ । यस्तो अवस्थामा ज्योतिमाथि थप संकट आउने देखिएको हो । उद्योगपति ज्योतिले लिएको उक्त कर्जाको महिनौँदेखि किस्ता नतिरेपछि बैंकहरूले उनको धितोको सम्पत्ति लिलामको प्रक्रिया अघि बढाएका छन् । उनले बूढानीलकण्ठमा होटल नर्थफेसको नाममा कर्जा लिएर होटल नै नखोली कर्जाको रकम अन्तै लगानी गरेर कर्जा अपचलन गरेको पाइएको छ । त्यसमाथिको छानबिनमा प्रहरीले उनलाई पक्राउ गर्ने तयारी गरिरहेको बुझिएको छ । ठीक यही बेला उद्योगपति ज्योतिले बैंकबाट सस्तो ब्याजमा लिएको कर्जाको रकम कर्जा लिएको शीर्षकमा लगानी नगरी विभिन्न व्यक्तिलाई मिटरब्याजमा लगानी गरेको दर्जनौँ थान तमसुक आर्थिक दैनिकमा आइपुगेको छ । बैंकिङ प्रणाली, वित्तीय कानुन र संस्थागत सुशासनलाई धज्जी उडाउँदै देशकै ठूला र प्रतिष्ठित मानिएका उद्योगी, अर्बपति रूप ज्योति स्वामित्वका कम्पनीहरू नेपाल जेनरल मार्केटिङ र स्याकार कम्पनी लिमिटेडले सर्वसाधारणलाई दिने स्वास्थ्य सेवासँग जोडिएको ग्राण्डी इन्टरनेसनल हस्पिटल र विजयराज भण्डारीलाई करोडौँ रुपैयाँ कपाली तमसुकका आधारमा ऋण दिएर मिटरब्याजी धन्दा चलाएको तथ्य फेला परेको हो ।
संसदीय समिति, नेपाल राष्ट्र बैंक र गृह मन्त्रालयले औपचारिक बैंकिङ प्रणालीभन्दा बाहिर गएर संस्थागत रूपमा गरिने यस्ता लेनदेनलाई ‘मिटरब्याज तथा अनुचित लेनदेन’को श्रेणीमा राखेर कारबाही अघि बढाइरहेका बेला प्राप्त कागजातहरूले अर्बपति रूप ज्योतिको साम्राज्यभित्र चलिरहेको कालो धन्दाको पर्दाफास गरेको हो ।आर्थिक दैनिकलाई प्राप्त कागजात र दर्जौँ कपाली तमसुकहरू (कागजी सम्झौता) अनुसार रूप ज्योति नियन्त्रित कम्पनीहरूले ग्राण्डी हस्पिटलका तत्कालिन सी.ई.ओ. विजयराज भण्डारीलाई प्रत्यक्ष रूपमा तमसुक गराई करोडौँ रुपैयाँ प्रवाह गरेका हुन् । प्राप्त कागजातहरू अनुसार मिटरब्याजी धन्दाको शैली संस्थागत कपाली तमसुकको प्रयोग गरेर बैंक वा वित्तीय संस्थाले जस्तै व्यावसायिक कम्पनीहरू स्याकार कम्पनी लि., नेपाल जेनरल मार्केटिङ प्रालि र जीआईएच सर्भिसेज प्रालिले सोझै कपाली तमसुक लेखाएर ऋण दिइएको पाइएको हो ।
नेपालको कानुनअनुसार कर्जा प्रवाह गर्ने, ब्याज असुल्ने र तमसुक गराउने अधिकार नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थालाई मात्र हुने र व्यापारिक वा सर्भिस कम्पनीले कपाली तमसुकका आधारमा सर्वसाधारण वा अन्य संस्थालाई ऋण दिएर ब्याज खान नपाउने व्यवस्थाविपरीत ज्योतिले मिटरब्याजको धन्दा गरेको पाइएको हो । तमसुक अनुसार चेकबाट २०६९ पुस २९ गते सात करोड, २०६९ माघ १७ गते छ करोड, २०६९ मंसिर १० गते पाँच करोड, २०७० जेठ ३ गते नेपाल जेनरल मार्केटिङबाट दुई करोड ८० लाख रुपैयाँ वार्षिक १२.५ प्रतिशत ब्याज लिने र ९ महिनाभित्र साँवाब्याज भुक्तानी गरिसक्नुपर्ने कडा सर्त ऋण दिएको पाइएको छ । ज्योतिले २०६९ देखि २०७० सालको अवधिमा पटक–पटक गरी ६० लाख रुपैयाँदेखि सात करोड रुपैयाँसम्मका दजर्नौँ कपाली तमसुकहरू बनाइएर मिटरब्याजमा ऋण दिएर तमसुकमा समयमा भुक्तानी नभए हस्पिटल वा ऋणीको चल–अचल श्रीसम्पत्तिबाट असुलउपर गरिने व्यहोरा उल्लेख गरिएको थियो ।
कपाली तमसुकको अध्ययन गर्दा हस्पिटलजस्तो अत्यावश्यक संस्था चलाउन दैनिक खर्चको नाममा पटक–पटक छोटो अवधि (९ महिना)को लागि ठूलो रकम ऋण दिने र त्यसैमा १२.५ प्रतिशत ब्याज थप्दै लगेर ऋणीलाई वित्तीय रूपमा पछाडि पारी उसको सम्पत्ति कब्जा गर्ने वा दबाबमा राख्ने नियत देखिन्छ । ज्योतिले मिटरब्याज धन्दाबाट प्राप्त आम्दानी सामान्यतया हिसाबमा समेत नदेखाइने हुँदा राजस्व छली र अवैध सम्पत्ति आर्जन गरेको हुन सक्ने आशंकाको बीच कर्जा अपचनको आरोपमा पक्राउ पर्न सक्ने सम्भावना बढेर गएको हो । ज्योतिले गरेको मिटरब्याज धन्दामा उनी पक्राउ परेर कारबाहीमा पर्ने हो भने मुलुकी अपराध संहिता, २०७४ (संशोधनसहित) अनुसार अनुचित लेनदेन गर्ने÷गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र ७७ हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्थाबमोजिम कारबाही भई उनले गरेको गैरकानुनी तमसुकहरू स्वतः रद्द हुने र असुल गरिएको ब्याज रकम ऋणीलाई फिर्ता गराउनुपर्ने हुन्छ । त्यस्तै बाफिया ऐनअनुसार राष्ट्र बैंकको इजाजत नलिई वित्तीय कारोबार÷ऋण प्रवाह गरेमा गैरकानुनी बैंकिङ धन्दा मानिन्छ ।
यसमा अवैध रूपमा प्रवाह गरिएको रकमबराबरको बिगो जफत गरी कैद र जरिबाना हुनुका साथै अवैध रूपमा आर्जन गरिएको वा अख्तियारीविना प्रवाह गरिएको करोडौँको गैरकानुनी कारोबारलाई सम्पत्ति शुद्धीकरणमा छानबिन भएर कसुर प्रमाणित भएमा बिगोको दोब्बरसम्म जरिबाना र कडा कैद सजाय हुने व्यवस्था रहेको छ । अस्पतालजस्तो संवेदनशील क्षेत्र र त्यसका सञ्चालकलाई नियन्त्रणमा लिन वा चर्को ब्याज असुल्ने नियतले अर्बपति व्यापारी रूप ज्योति र उनका कम्पनीहरूले खडा गरेको कपाली तमसुकको सञ्जाल विद्यमान कानुनको स्पष्ट उल्लंघन हो । एउटा व्यापारिक गृहले वित्तीय संस्थाजस्तै कालो तमसुक बनाउँदै करोडौँको मिटरब्याजी कारोबार चलाउनुले नेपालको नियामक निकाय र कानुन कार्यान्वयन गर्ने निकायमाथि नै प्रश्नचिह्न खडा गरेको छ ।