दोलखा, जिल्लाको वैतेश्वर गाउँपालिकाले जिल्लामै पहिलोपटक पालिकास्तरबाट नापी तथा मालपोत सेवा सञ्चालनमा ल्याएको छ । सोमबार आयोजित एक कार्यक्रमबीच भूमि व्यवस्थापन तथा मालपोत सेवाको शुभारम्भ गरिएको हो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोचन खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष छवि लामाले सेवाग्राही अर्जुन नेपालीलाई पहिलो जग्गासम्बन्धी नक्सा हस्तान्तरण गरेका थिए । स्थानीयले अब आफ्नै गाउँपालिकाबाट जग्गा नापजाँच, नक्सा तथा मालपोतसम्बन्धी सेवा प्राप्त गर्न सक्ने भएका छन् । यसअघि सामान्य जग्गासम्बन्धी कामका लागि समेत सेवाग्राहीहरूलाई सदरमुकाम चरिकोट पुग्नुपर्ने बाध्यता थियो । नापी, नक्सा तथा मालपोतसम्बन्धी साना कामका लागि पनि समय र खर्च व्यहोर्नुपर्ने अवस्था अब अन्त्य हुने गाउँपालिका अध्यक्ष छवि लामाले बताए । स्थानीय सरकारको मुख्य उद्देश्य नागरिकलाई घरदैलोमै गुणस्तरीय सेवा उपलब्ध गराउनु रहेको उनको भनाइ छ । पालिकामा नै नापी तथा मालपोत सेवा सञ्चालनसँगै सेवाग्राहीको समय, श्रम र खर्च बचत हुने उनले बताए ।
प्रमुख प्रशासकीय अधिकृत लोचन खनालले भूमि व्यवस्थापन कार्यालयमार्फत प्रदान गरिने सेवालाई छिटो, छरितो, पारदर्शी र सुरक्षित अभिलेख प्रणालीमा आधारित बनाउँदै लैजाने बताए । उनले आगामी दिनमा सेवा थप प्रविधिमैत्री र व्यवस्थित बनाउँदै स्थानीय सरकारप्रति नागरिकको विश्वास अझ मजबुत बनाइने उल्लेख गरे । अब पालिकाबाटै जग्गा रोक्का, फुकुवा, किनबेच (राजीनामा), नामसारी, कित्ताकाट, नक्सा तथा क्षेत्रफल प्रमाणीकरण, जग्गाधनी प्रमाणपूर्जासम्बन्धी सिफारिसलगायत अधिकांश नापी तथा मालपोतसम्बन्धी सेवा क्रमशः उपलब्ध गराइने गाउँपालिका उपाध्यक्ष कल्पना उपे्रतीले जानकारी दिइन् ।