काठमाडौं, एनआईसी एसिया क्यापिटल लिमिटेडले आर्थिक वर्ष २०८३/०८४ लाई लक्षित गर्दै डिपोजिटरी पार्टिसिपेन्ट (डीपी) सेवाअन्तर्गत ग्राहकमैत्री विभिन्न विशेष योजना तथा छुट सार्वजनिक गरेको छ । लगानीकर्तालाई सहज, सर्वसुलभ तथा प्रविधिमैत्री सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले निःशुल्क डिम्याट खाता, विद्यार्थी लक्षित विशेष सुविधा, लाइफटाइम डिम्याट तथा मेरो सेयर नवीकरण योजना लगायतका आकर्षक अफर ल्याएको जनाएको छ ।
कम्पनीले विगतदेखि नै सञ्चालन गर्दै आएको ‘एक नेपाली, एक डिम्याट खाता’ अभियानलाई निरन्तरता दिँदै आफ्ना अधिकांश डीपी सेवाहरू डिजिटल माध्यमबाट उपलब्ध गराइरहेको जनाएको छ । साथै, एनआईसी एशिया बैंकका शाखामार्फत समेत डिम्याट तथा मेरो सेयर सम्बन्धी सेवा सहज रूपमा उपलब्ध गराइएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार आर्थिक वर्ष २०८३/८४ का लागि ल्याइएका योजनाअन्तर्गत नयाँ ग्राहकले निःशुल्क डिम्याट खाता खोल्न सक्नेछन् भने पहिलो वर्षको डिम्याट नवीकरण शुल्कमा पूर्ण छुट दिइनेछ । त्यसैगरी, विद्यार्थीहरूलाई पूँजी बजारप्रति आकर्षित गर्ने उद्देश्यले सञ्चालन गरिएको एनआईसी एशिया विद्यार्थी डिम्याट सेवाअन्तर्गत निःशुल्क डिम्याट खाता, पहिलो वर्षको नवीकरण शुल्कमा छुट तथा निःशुल्क मेरो सेयर दर्ता सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले सीमित अवधिका लागि लाइफटाइम डिम्याट तथा मेरो सेयर नवीकरण योजना पनि सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत एकमुष्ट शुल्क तिरेर ग्राहकले आजीवन डिम्याट तथा मेरो सेयर नवीकरण सुविधा प्राप्त गर्न सक्नेछन्। यो सुविधा साउन मसान्तसम्म उपलब्ध रहने जनाइएको छ । यस्तै, एनआईसी एशिया बैंकमार्फत बचत खाता खोली डिम्याट सेवा लिने ग्राहकलाई निःशुल्क डिम्याट तथा मेरो सेयर सेवा उपलब्ध गराउनुका साथै पहिलो वर्षको डिम्याट नवीकरण शुल्कमा समेत छुटको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।
एनआईसी एशिया क्यापिटलले आफ्ना सेवाहरूलाई अझ बढी डिजिटल र ग्राहकमैत्री बनाउँदै लगेको उल्लेख गर्दै अनलाइनमार्फत सहज रूपमा डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने जनाएको छ । साथै, सेवासम्बन्धी थप जानकारीका लागि कम्पनीले आफ्नो सम्पर्क माध्यम प्रयोग गर्न आग्रह गरेको छ ।