काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सका निलम्बित प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमाल पक्राउ परेका छन् । केन्द्रिय अनुसन्धान व्युरो (सीआईबी) का अनुसार बीमा ऐन, २०७९ र धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरका फरार रिमाललाई बिहीबार काठमाडौं महानगरपालिका–७, सिफलबाट नियन्त्रणमा लिइएको हो ।
सरकारले वित्तीय अनियमितता र ऐन उल्लंघनको मुद्दामा फरार रहेका रिमाललाई धितोपत्र र बीमा ऐनअन्तर्गतका कसूरमा मुद्दा चलाएको थियो । दिपक भट्टसहित अन्य व्यक्तिहरू मुछिएको उक्त प्रकरणमा रिमालको संलग्नता देखिएपछि उनी लामो समयदेखि फरारको सूचीमा थिए । पदबाट निलम्बित अवस्थामै रहेका रिमाललाई पक्राउलगत्तै जिल्ला अदालत, बबरमहलमा उपस्थित गराइएको सीआईबीले जानकारी दिएको छ ।
सीआईबीले बीमा ऐन, २०७९ अन्तर्गतको कसुरमा संलग्न रहेको आरोपमा एक महिलालाई पनि पक्राउ गरेको जानकारी दिएको छ । सीआईबीका अनुसार नेपाल बीमा प्राधिकरण, कुपण्डोल, ललितपुरको पत्रका आधारमा ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रा.लि.मा गरिएको निरीक्षण प्रतिवेदनअनुसार बीमा ऐन, २०७९ को दफा १४० उपदफा (१०) को खण्ड (छ) र (झ) बमोजिमको कसुर सम्बन्धमा अनुसन्धान भइरहेको थियो । सोही अनुसन्धानका क्रममा उक्त कसुरमा संलग्न रहेको आरोपमा झापाको साविक भद्रपुर गाउँ विकास समिति–११ निवासी ३९ वर्षीया मृदुला सरियालाई काठमाडौं जिल्ला अदालत, बबरमहलबाट पक्राउ अनुमति लिएर बुधबार काठमाडौं महानगरपालिका–५, सानो गौचरणबाट पक्राउ गरिएको हो । पक्राउ परेकी सरियामाथि आवश्यक अनुसन्धान भइरहेको सीआईबीले जानकारी दिएको छ ।