काठमाडौं, सनवेइयन्स इनोभेसन फेस्ट २०२६ आयोजना हुने भएको छ । विद्यार्थी, प्रविधिप्रेमी, अनुसन्धानकर्ता तथा उद्योग क्षेत्रका विज्ञहरूलाई एउटै मञ्चमा ल्याउने लक्ष्यका आज आइतबार फेस्ट हुँदैछ ।
आयोजकका अनुसार इनोभेसन फेस्टले कृत्रिम बौद्धिकता (एआई), रोबोटिक्स, ड्रोन प्रविधि, अनुसन्धान, नवप्रवर्तन तथा करिअर विकासका विविध पक्षलाई एउटै प्लेटफर्ममा समेट्नेछ । कार्यक्रममा सहभागीहरूले अत्याधुनिक प्रविधिको प्रत्यक्ष अनुभव लिनुका साथै विभिन्न कार्यशाला, छलफल, प्रतियोगिता तथा प्रदर्शनीमा सहभागिता जनाउन सक्नेछन् । कार्यक्रमको प्रमुख आकर्षणमध्ये रोबोटिक्स तथा ड्रोन वर्कसप रहनेछ, जहाँ सहभागीहरूले अत्याधुनिक रोबोट र ड्रोन प्रविधिलाई प्रत्यक्ष रूपमा अवलोकन गर्न पाउनेछन् । त्यसको प्रयोगात्मक अभ्यास गर्ने अवसर प्राप्त गर्ने सन्वे कलेजका प्रिन्सिपल खुशल रेग्मीले जानकारी दिए । त्यसैगरी, पछिल्लो समय चर्चामा रहेको भाइब कोडिङ वर्कसप तथा प्रतियोगिता पनि कार्यक्रमको विशेष आकर्षण हुनेछ ।
कार्यक्रममा एआईको बढ्दो प्रभावबारे केन्द्रित विभिन्न प्यानल छलफलसमेत आयोजना गरिनेछ । त्यसैगरी एआई फर प्रोडक्टिभिटी तथा एआई टक सिरिजअन्तर्गत बौद्धिक सम्पत्ति अधिकार (आईपी ल), डाटा प्राइभेसी तथा स्वास्थ्य क्षेत्रमा एआईको प्रयोग, सम्भावना र चुनौतीबारे विशेषज्ञहरूबीच विस्तृत अन्तरक्रिया हुनेछ । एआइ एसोसिसिएसन अफ नेपाल, रोबोटिक्स एसोसियसन, फिनटेक एसोसिएसन, नामीलगायतका संस्थाहरूको सहकार्यमा एआईसम्बन्धी सेसन र वर्कसपहरू सञ्चालन हुनेछन् । विद्यार्थीहरूको सिर्जनशीलता र अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले स्टुडेन्ट इनोभेसन शोकेस पनि आयोजना गरिनेछ । यसअन्तर्गत अन्तिम वर्षका परियोजना, पहिलो वर्षका नवीन अवधारणा, अनुसन्धान परियोजना तथा रेन प्रोजेक्टलगायतका नवप्रवर्तनात्मक कार्यहरू प्रदर्शन गरिनेछन् ।