काठमाडौ, नेपाल वायूसेवा निगमले रसुवा बाढीपीडितका लागि राहत सामग्री ढुवानीमा विशेष सहुलियत प्रदान गर्ने निर्णय गरेको छ । निगमले अन्तर्राष्ट्रिय स्टेशनहरूबाट बाढीपीडितका लागि पठाइने राहत सामग्रीमा लाग्ने निगमसँग सम्बन्धित सम्पूर्ण शुल्क एक महिनाका लागि पूर्ण रूपमा छुट गर्ने निर्णय गरेको हो ।
सम्बन्धित दूतावाससँग समन्वय गरी दूतावासको आधिकारिक पत्रका आधारमा बाढीपीडितका लागि पठाइने खाद्यान्न, औषधि, लत्ताकपडा तथा अन्य आवश्यक राहत सामग्री ढुवानीमा लाग्ने शुल्कमा छुट हुने निगमले जनाएको छ । विपद्को समयमा मानवीय सहयोगलाई सहज र प्रभावकारी बनाउन निगमले यो निर्णय गरेको उल्लेख गरेको । यस निर्णयले विभिन्न मुलुक तथा संघसंस्थाबाट नेपालमा पठाइने राहत सामग्री प्रभावित समुदायसम्म शीघ्र पु¥याउन सहयोग पुग्ने निगमको विश्वास छ ।