काठमाडौं, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिने क्रम सकारात्मक देखिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको नेपालमा प्रत्यक्ष वैदेशिक लगानी–२०२४/०२५ सम्बन्धी सर्वेक्षण प्रतिवेदनले उक्त आर्थिक वर्षमा नेपालमा १२ अर्ब रुपैयाँबराबरको कुल प्रत्यक्ष वैदेशिक लगानी (ग्रस एफडीआई) भित्रिएको देखाएको हो ।
कुल लगानीमध्ये चार अर्ब ७० करोड रुपैयाँ लगानी फिर्ता (रिप्याट्रियसन) भएपछि खुद प्रत्यक्ष वैदेशिक लगानी प्रवाह सात अर्ब ५० करोड रुपैयाँ कायम भएको छ । योसँगै समीक्षा अवधिको अन्त्यसम्म नेपालमा रहेको कुल एफडीआई स्टक करिब तीन खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा एफडीआई स्टक दुई दशमलव एक प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार एफडीआई स्टकमा भएको वृद्धिमा थप इक्विटी लगानी तथा पुनर्लगानी गरिएको मुनाफाको मुख्य योगदान रहेको छ । यसले नेपालमा विदेशी लगानी दीर्घकालीन बाह्य वित्तीय स्रोत तथा उत्पादनमूलक लगानीको महत्वपूर्ण माध्यमका रूपमा कायम रहेको देखाएको छ ।
प्रतिवेदनअनुसार नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानीको प्रमुख हिस्सा चुक्ता पुँजीले ओगटेको छ । त्यस्तै, पुनर्लगानी गरिएको मुनाफा कुल प्रत्यक्ष वैदेशिक लगानी स्टकको एक तिहाइभन्दा बढी रहेको प्रतिवेदनमा उल्लेख छ । विदेशी लगानीकर्ताले नेपालमा कमाएको मुनाफा पुनः आफ्नै व्यवसाय विस्तारमा लगानी गरिरहनुले नेपालमा उनीहरूको लगानीप्रतिको विश्वास कायम रहेको संकेत गर्ने राष्ट्र बैंकको निष्कर्ष छ । कुल प्रत्यक्ष वैदेशिक लगानीको बाँकी हिस्सामा अन्तरकम्पनी ऋण रहेको छ, जुन विशेषगरी ठूलो पुँजी आवश्यक पर्ने परियोजनाको वित्तीय व्यवस्थापनमा प्रयोग भएको छ ।
प्रतिवेदनअनुसार क्षेत्रगत रूपमा हेर्दा नेपालमा आउने कुल प्रत्यक्ष बैदेशिक लगानीको प्रवाह तथा स्टक दुवैमा औद्योगिक क्षेत्रको हिस्सा सबैभन्दा ठूलो रहेको छ । विशेषगरी उत्पादनमूलक उद्योग तथा विद्युत् तथा ऊर्जा क्षेत्र विदेशी लगानीका प्रमुख गन्तव्य बनेका छन् । सेवा क्षेत्रमा भने बैंक तथा बीमा कम्पनीहरूमा विदेशी लगानी रहेको देखिएको छ । प्रतिवेदनले विदेशी लगानी अझै सीमित क्षेत्रमै केन्द्रित रहेको भन्दै अन्य क्षेत्रमा समेत लगानी विविधीकरण गर्नुपर्ने आवश्यकता औँल्याएको छ । लगानीका क्षेत्र विस्तार गर्न सके नेपालको प्रत्यक्ष वैदेशिक लगानी थप मजबुत हुनुका साथै यसको अर्थतन्त्रमा पर्ने प्रभावसमेत फराकिलो हुने राष्ट्र बैंकको भनाइ छ ।
भारत सबैभन्दा ठूलो लगानीकर्ता
काठमाडौं, नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मुलुकमध्ये भारत पहिलो स्थानमा रहेको छ । त्यसपछि चीन, आयरल्यान्ड, अस्ट्रेलिया र सिंगापुर प्रमुख स्रोत मुलुकका रूपमा रहेका छन् । समग्रमा हेर्दा नेपालको कुल प्रत्यक्ष बैदेशिक लगानीको परिदृश्यमा एसियाली मुलुकहरूको वर्चस्व कायम रहेको प्रतिवेदनले देखाएको छ ।
प्रतिवेदनअनुसार प्रदेशगत रूपमा हेर्दा बागमती प्रदेश विदेशी लगानीको प्रमुख गन्तव्य बनेको छ । ठूला शहरी तथा औद्योगिक केन्द्रमा विदेशी लगानी बढी केन्द्रित हुँदा अन्य प्रदेशमा अपेक्षाकृत कम लगानी पुगेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकले अन्य प्रदेशमा समेत विदेशी लगानी विस्तार गर्न पूर्वाधार विकास, कनेक्टिभिटी सुधार तथा लगानी सहजीकरणलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएको छ ।
पूर्वाधार र जग्गा प्राप्ति मुख्य चुनौती
नेपालले पछिल्ला वर्षहरूमा लगानीसम्बन्धी नीति तथा प्रक्रियालाई उदार बनाउँदै व्यवसाय गर्न सहज वातावरण निर्माण गर्ने प्रयास गरिरहेको छ । अनलाइन तथा डिजिटल सेवाको विस्तारले लगानीकर्ताको विश्वास बढाउन सहयोग गरेको प्रतिवेदनमा उल्लेख छ । तर कुल प्रत्यक्ष वैदेशिक लगानीको बढाउन अझै पूर्वाधारको कमजोरी, नियामकीय तथा प्रक्रियागत ढिलाइ र जग्गा प्राप्तिमा देखिने समस्या प्रमुख चुनौतीका रूपमा रहेको प्रतिवेदनमा उल्लेख छ ।
विदेशी लगानी भएका उत्पादनमूलक उद्योगले समीक्षा अवधिमा मध्यम क्षमतामा सञ्चालन भए पनि राम्रो नाफा आर्जन गरेको प्रतिवेदनले जनाएको छ । त्यस्तै, विशेषगरी जलविद्युत् तथा उत्पादनमूलक क्षेत्रमा विदेशी ऋणले लगानी वित्तीयकरणमा महत्वपूर्ण भूमिका खेलेको छ । विश्व तथा क्षेत्रीय अर्थतन्त्रमा विभिन्न अनिश्चितता कायम रहे पनि आर्थिक वर्ष २०२४/२५ मा नेपालले विदेशी लगानी आकर्षित गर्ने क्रममा सकारात्मक प्रवृत्ति कायम राखेको प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदनअनुसार नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानीको योगदान अझ बढाउन नीतिगत सुधारलाई निरन्तरता दिनु, स्वीकृत परियोजनाको प्रभावकारी कार्यान्वयन गर्नु तथा लगानीलाई क्षेत्र र प्रदेशगत रूपमा विविधीकरण गर्नु आवश्यक रहेको देखिएको छ । यस्ता सुधारमार्फत विदेशी लगानीलाई उत्पादन, रोजगारी, प्रविधि हस्तान्तरण र दीर्घकालीन आर्थिक वृद्धिसँग जोड्न सकिने राष्ट्र बैंकको भनाइ छ । प्रतिवेदनअनुसार नेपालमा कुल प्रत्यक्ष बैदेशिक लगानीको परियोजना बढ्दै, पर्यटनमा संख्या धेरै तर ठूलो लगानी जलविद्युत् र उत्पादन क्षेत्रमा केन्द्रित रहेको छ ।
प्रतिवेदनअनुसार आर्थिक वर्ष २०२४/०२५ मा नेपालमा १२ अर्ब रुपैयाँ ग्रस एफडीआई भित्रिएको छ । सोही अवधिमा विदेशी लगानीकर्ताले चार अर्ब ७० करोड रुपैयाँबराबरको लगानी फिर्ता लगेका छन् । यो कुल ग्रस एफडीआईको करिब ३९ दशमलव दुई प्रतिशत हो । लगानी फिर्तालाई घटाएपछि समीक्षा वर्षमा नेपालमा भित्रिएको खुद एफडीआई करिब सात अर्ब ३० करोड रुपैयाँ कायम भएको छ ।
स्वीकृत लगानीअनुसार वास्तविक रूपमा पुँजी भित्रिने अवस्था कमजोर
नेपालमा विदेशी लगानीका परियोजना स्वीकृत हुने क्रम बढे पनि स्वीकृत लगानीअनुसार वास्तविक रूपमा पुँजी भित्रिने अवस्था भने कमजोर रहेको राष्ट्र बैंकको प्रतिवेदनले देखाएको छ ।
सन् १९९५/९६ देखि आर्थिक वर्ष २०२४/२५ सम्म स्वीकृत कुल प्रत्यक्ष वैदेशिक लगानीको तुलनामा वास्तविक खुद विदेशी लगानी प्रवाह करिब २९ दशमलव छ प्रतिशत मात्रै रहेको छ । अर्थात्, विदेशी लगानीको स्वीकृति ठूलो भए पनि त्यसको एक चौथाइभन्दा केही बढी रकम मात्रै वास्तविक रूपमा नेपालमा लगानी भएको देखिन्छ ।
राष्ट्र बैंकले स्वीकृति र वास्तविक लगानीबीचको यस्तो अन्तरलाई प्रमुख नीतिगत चुनौतीका रूपमा औँल्याएको छ । लगानी स्वीकृति हुनु भनेको तत्कालै सम्पूर्ण रकम नेपालमा भित्रिनु नभएको, स्वीकृति र पुँजी प्रवाहबीच लामो समय लाग्ने तथा जलविद्युत्जस्ता लामो समयसम्म निर्माण तथा प्रतिफल प्राप्त गर्नुपर्ने परियोजनामा लगानी क्रमिक रूपमा हुने भएकाले यस्तो अन्तर देखिएको प्रतिवेदनमा उल्लेख छ । - सुरेश राउत