काठमाडौं, कालिकोटस्थित एक विद्यालयको पुनर्निर्माण गर्न सघाउन हेल्प नेपाल नेटवर्क अष्ट्रेलियाले सिड्नीमा एक च्यारिटी डिनर आयोजना गरेको छ । कर्णाली प्रदेश अन्तर्गत कालिकोट जिल्लास्थित प्राथमिक विद्यालय पुनर्निर्माणमा सघाउन उक्त च्यारिटी डिनर आयोजना गरिएको थियो ।
झरना फंक्सन सेन्टरमा आयोजित ‘गिभिंग इनिसियटिभ’ नाम दिइएको उक्त कार्यक्रममा बार्टनबाट संघीय संसदमा निर्वाचित सांसद आश अम्बिहाइपहार, बरउड काउन्सिलबाट निर्वाचित काउन्सिलर सुकृति भट्ट, हेल्प नेपाल नेटवर्कका ग्लोबल कोअर्डिनेटर डिला खरेल, हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुण सिंह बस्नेत, इ तर प्रकाश श्रेष्ठलगायतको सहभागिता थियो । हेल्प नेपाल नेटवर्क नेपालका अध्यक्ष अरुण सिंह बस्नेतले १० करोड रुपैयाँको अक्षय कोष बनाउने अभियानलाई आफूहरूले अगाडि बढाइरहेको बताए ।
कार्यक्रममा झन्डै ११ हजार अष्ट्रेलियन डलर रकम उठेको छ । ‘मातृभूमिका लागि महिनामा एक पाउण्ड–एक डलर’ भन्ने नारासहित सन् १९९९ मा हेल्प नेपाल नेटवर्क स्थापना गरिएको थियो । नेटवर्कले नेपालका एक सय बढी स्कुलमा कक्षा कोठा निर्माण तथा झन्डै ५० वटा इ–लाइब्रेरी स्थापना गरेको छ । साथै सिन्धुपाल्चोक, दोलखालगायतका जिल्लाहरूमा भूकम्पबाट क्षतिग्रस्त विद्यालय भवनहरूको पुनर्निर्माणमा पनि सघाएको छ ।