किभ, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शनिबार सार्वजनिक भएको एक मिडिया अन्तर्वार्तामा युद्ध अन्त्यका लागि वार्ता गर्न मियामीमा हुने जी–२० शिखर सम्मेलनमा रुसी नेता भ्लादिमिर पुटिनसँग भेट्न तयार रहेको बताएका छन् । क्रेमलिनले डिसेम्बरमा हुने विश्व नेताहरूको यो भेलामा पुटिन सहभागी हुने कि नहुने भन्ने निर्णय अझै नगरेको जनाएको छ र जेलेन्स्कीलाई वार्ताका लागि रुस आउन पुटिनको माग दोहोर्याएको छ ।
वासिङ्टनले दोस्रो विश्वयुद्धपछिको युरोपको सबैभन्दा घातक यो द्वन्द्वको समाधान खोज्न लामो समयदेखि अवरूद्ध वार्तालाई पुनः सुरु गर्न खोजिरहेको छ । अमेरिकी वार्ताकारहरूले वार्ता पहलका लागि हालै किएभ र मस्कोको भ्रमण गरेका थिएभने राष्ट्रपति डोनाल्ड ट्रम्प र पुटिनले यस साता फोनमा द्वन्द्वबारे कुराकानी गरेका थिए । संयुक्त राज्य अमेरिकाले यस वर्ष प्रमुख अर्थतन्त्रहरूको समूह ( जी–२०)को अध्यक्षता गरेको छ, जसमा १९ देशहरू, युरोपेली संघ र अफ्रिकी संघ समावेश छन् । डिसेम्बर १४–१५ मा नेताहरूको शिखर सम्मेलनपछि अमेरिकाले नेतृत्व हस्तान्तरण गर्नेछ ।
यसपहिले नै जी–२० बैठकमा सहभागी भइसकेका रुसका अर्थमन्त्रीका लागि युक्रेनका केही युरोपेली सहयोगीहरूका कारण असहजता पैदा गरेको बताइएको छ । अर्को साता ऊर्जा मन्त्रीहरूको भेलामा रुसी प्रतिनिधिमण्डल सहभागी हुने तय छ । यदि दुवै नेतालाई निमन्त्रणा दिइयो भने डिसेम्बरको शिखर सम्मेलनमा पुटिनसँग भेट्न तयार हुनुहुन्छ कि भन्ने प्रश्नमा जेलेन्स्कीले जर्मन प्रसारक डोयचे भेलेसँग भने ।
उनले थपे, ‘हामी आउनुपर्छ। हामी भेट्नुपर्छ, कुरा गर्नुपर्छ र निर्णय गर्नुपर्छ। यो शब्दको कुरा होइन। मैले उहाँलाई के भन्नेछु वा उहाँले मलाई के भन्न चाहनुहुन्छ, त्यसको कुनै मतलब छैन । महत्वपूर्ण कुरा ‘परिणाम’ मात्र हो ।’ रुसको तास न्यूज एजेन्सीले क्रेमलिन प्रवक्ता दिमित्री पेस्कोभलाई उद्धृत गर्दै अझै थाहा नभएको उल्लेख गरेको छ । पेस्कोभले यसपहिले नेता पुटिनको भनाइ दोहा¥याउँदै जेलेन्स्कीले कुनै पनि वार्ताका लागि सन् २०२२ मा युक्रेनमा पूर्ण स्तरको आक्रमण सुरु गरेर युद्ध सुरु गरेको देश रुस आउनुपर्ने उल्लेख गरे । ‘यदि उहाँ साँच्चै पुटिनसँग भेट्न चाहनुहुन्छ भने, पुटिनले पहिले नै भनिसक्नुभएको छ कि उहाँ मस्को आउन सक्नुहुन्छ’, उनले भने ।
गत सप्ताहन्तमा अमेरिकी वार्ताकार स्टिभ विटकोफ र जारेड कुश्नरले मस्को भ्रमण गरेका थिए । पुटिन तथा ट्रम्पले पनि यस साता युद्धबारे कुराकानी गरेका थिए । वार्तालाई क्रेमलिनले ‘अत्यन्त स्पष्ट’ र रचनात्मक एक घण्टा लामो टेलिफोन संवाद भनेको थियो । क्यानडामा शुक्रबार भएको डोयचे भेलेसँगको अन्तर्वार्तामा जेलेन्स्कीले विटकोफ र कुश्नरको भ्रमण ‘राम्रो संकेत’ भएको बताए । उनीहरूले मस्कोसँगै किएभको पनि भ्रमण गर्नुभएको स्मरण गर्दै नेता जेलेन्स्कीले संवाद महत्त्वपूर्ण रहेको उल्लेख गरे । ‘यो हाम्रा जनताप्रति सम्मान हो’, उनले भने ।
जेलेन्स्कीले सेप्टेम्बरको अन्त्यतिर ट्रम्पसँग भेट्ने योजना पनि घोषणा गरेका छन् । वासिङ्टनले मस्को र किएभबीच नयाँ प्रत्यक्ष वार्ताका लागि दबाब दिइरहेको छ । सम्भावित वार्ताअघि युक्रेनको अडानबारे सोधिएको प्रश्नमा जेलेन्स्कीले भने, ‘युक्रेन अहिले युद्धमैदानमा गत वर्षभन्दा धेरै बलियो छ । त्यसैले हामीलाई लाग्छ कि हामीसँग अहिले वार्ताका लागि राम्रो स्थिति छ ।’ वार्ता यस महिना नै हुन सक्ने किएभले बताएको छ तर क्रेमलिनले सोमबार ‘स्थान वा मितिबारे छलफल गर्न अझै चाँडो’ हुने बताएको थियो । अघिल्ला धेरै वार्ताका चरणहरू असफल भएका छन् । दुवै पक्षबीच विश्वास कम छ र मस्को वा किएभले आफ्ना अडान परिवर्तन गरेको कुनै संकेत छैन ।
मस्को र किएभ दुवैले हालैका महिनाहरूमा एकअर्कामाथि लामो दूरीका आक्रमण बढाएका छन्, जसले युद्धको सुरुवाती दिनपछिको सबैभन्दा उच्च नागरिक मृत्युदर निम्त्याएको छ । शुक्रबार रातभरिका रुसी आक्रमणमा युक्रेनमा चार जना मारिएका छन्, जसमा दक्षिणी जापोरिज्झियामा दुई जना र मध्य क्रिभी रिहको अर्सेलरमित्तल कारखानामा दुई जनाको मृत्यु भएको स्थानीय अधिकारी र स्टिल निर्माताले शनिबार बताएका छन् ।
‘दक्षिणी बन्दरगाह सहर ओडेसामा रुसी मिसाइल र ड्रोन आक्रमणले आवासीय भवनहरूमा क्षति पुर्यायो, जसले पूरा तल्लाहरू नष्ट गरे र ३५ जना घाइते भए’, क्षेत्रीय गभर्नरले बताए । अन्तर्वार्तामा जेलेन्स्कीले युक्रेनका सहयोगीहरूलाई रुसी हवाई आक्रमण रोक्न थप मिसाइल उपलब्ध गराउन आफ्नो आह्वान दोहोर्याए । युक्रेनलाई अमेरिकी बनावटका ‘प्याट्रियट एयर डिफेन्स प्रणाली’का लागि थप ‘इन्टरसेप्टर’ मिसाइलहरू तत्काल आवश्यक छ, तर वासिङ्टनले इरानसँगको युद्धमा ठूलो सङ्ख्यामा प्रयोग गरेपछि अमेरिकी आपूर्ति घटेको छ । वासिङ्टनले पर्याप्त मिसाइल उपलब्ध गराउने कि नगराउने स्पष्ट नभएको जेलेन्स्कीले उल्लेख गरे । ‘उनीहरूसँग ‘बेच्ने र सहयोग गर्ने राजनीतिक इच्छाशक्ति छ, तर उत्पादन त्यति धेरै छैन’, उनले भने । उनले युरोपेली सहयोगीहरूबाट थप सहयोगको पनि आग्रह गर्दै साँच्चै समर्थन गर्ने सबै युरोपेलीहरूसँग हामीलाई चाहिने कुरा रहेको उल्लेख गरेको एएफपीले जनाएको छ ।